आगामी केही दिनमा आईआरएसबाट ६४७५ पत्र आउनसक्ने, सुरक्षित राख्न आईआरएसको सुझाव
आगामी केही दिनमा अमेरिकामा करदाताहरुले आईआरएसबाट ६४७५ नामको पत्र प्राप्त गर्न सक्नेछन् । यस्तो खालको पत्र आईआरएसबाट प्राप्त भएको खण्डमा आश्चर्य नमान्नुहोला । यो पत्र प्राप्त हुँदा आत्तिनुपर्ने पनि कुनै कारण छैन ।
आईआरएसले सामान्यरुपमा तेश्रो राहत चेकबारेको सुचना समेटिएको पत्र पठाइरहेको जनाएको छ । २०२१ मा प्राप्त राहत चेकको सुचना समेटिएको यो पत्र जनवरीको अन्तिम साताबाट पठाउन सुरु गरिने तय भएको छ ।

जब यो पत्र प्राप्त हुन्छ, त्यसलाई नफ्याक्न सुझाव दिइएको छ । यो पत्रले करदाता वा कर फाइल गरिदिने व्यक्तिलाई २०२१ को संघीय कर फाइल तयार गर्न मद्दत हुने भएकाले पत्र सुरक्षित राख्न आईआरएसले वक्तब्यमार्फत सुझाव दिएको छ ।
पत्रमा तेश्रो आर्थिक राहत रकम शीर्षक उल्लेख गरिएको हुनेछ । सन् २०२१ भरमा समग्र कति रकम प्राप्त भयो भन्नेबारेको विवरण पत्रमा हुनेछ । तेश्रो राहत चेकपछि कुनै थप रकम प्राप्त भएको भएतापनि उक्त विवरण पत्रमा समेटिएको हुनेछ ।
पत्रमा उल्लेख भएको विवरण अनुशार सन् २०२१ को ट्याक्स फाइल गर्दा कति रिकभरी रिबेट क्रेडिट प्राप्त गर्ने भन्ने हिसाव गर्न सहज हुनेछ । राहत चेकमा प्राप्त भएको रकमको कर तिर्नु पर्दैन । तर यो रकम ट्याक्स फाइल गर्दा रिपोर्ट भने गर्नुपर्छ ।





