लुम्बिनीमा बौद्ध ध्यान केन्द्र निर्माणको अन्तिम चरणमा


प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन पाँच हजार जना  अट्न सक्ने  क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ । लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभाहलको निर्माण थालिएको थियो । सो हल निर्माणको काम अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले बताउनुभयो ।

उपाध्यक्ष मेत्तेयाले भन्नुभयो, “एकैपटकमा यति धेरै सङ्ख्यामा मानिस बस्न मिल्ने हल बहुउपयोगी हुनेछ । यहाँ अन्तर्राष्ट्रियस्तरका ध्यान तथा सार्कस्तरीय सम्मेलन पनि सहजै गर्न सकिन्छ ।” अत्यन्तै आकर्षक स्वरुपमा बनाउन थालिएको सभाहल तथा ध्यान केन्द्रको छानो गोलाकार आकारमा डिजाइन गरिएको छ । भित्रपट्टि कमलको फूलको आकर्षक प्रतीक अङ्कित छ ।

हलमा ध्यान गर्नेहरु पलेटी मारेर बस्दा पाँच हजार जना सजिलै अट्ने क्षमता रहेको छ भने कुर्सी राखेर बस्दा आठ हजार अट्ने सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो । एक वर्गमिटरमा एक कुर्सी अट्ने प्राविधिक विश्लेषण रहेको छ । आठ हजार ३०० वर्गमिटरमा फैलिएको ध्यान केन्द्र रहेको छ ।

यसलाई सात डिग्रीसम्म तापक्रम तलमाथि हुनसक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो छाइएको छ । उक्त ध्यान केन्द्र तथा सभाहलको जग निर्माण पनि विशेष डिजाइनमा गरिएको छ । १० मिटर गहिराइका १४० वटा पाइल फाउण्डेशन बनाइएको छ । उक्त फाउण्डेशन माथि एक वर्गमिटर गोलाइको ४० वटा पिलर ठड्याएर छानो राखिएको छ । छानो पनि आकर्षक रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त हल तथा ध्यान केन्द्रको पहिलो चरणको आयोजनाअन्तर्गत अनक अर्घाखाँची, बाबुल जेभी कम्पनीले रु २८ करोड १३ लाख लागतमा निर्माण गरेको हो । उक्त लागतमा विभिन्न कारणले ११ प्रतिशत  भेरियसन भएको थियो ।   दोस्रो चरणको काम रु ३३ करोड लागतमा निर्माणाधीन छ । दोेस्रो चरणको काम  भौतिकरूपमा ७०  प्रतिशत सकिसकेको विकास कोषका  योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो ।

सभाहलको शिलान्यास विसं २०७५ वैशाख पूर्णिमामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । सभाहलमा आठवटा भाषामा एकैसाथ सुन्न सकिने गरी एकैपटक हेडफोन प्रयोग गर्न सकिने ध्वनि व्यवस्थापन पनि गरिने छ । ध्यान केन्द्र तथा सभाहलमा प्रवेश गर्ने ढोका पासवर्डले खोल्न सकिने गरी निर्माण हँुदैछ । यसैगरी उक्त हलमा ५५ साना ढोका रहनेछन् । हलको वरिपरिको पर्खालमा गौतमबुद्धको दुई फिट उचाइका ९७ वटा मूर्ति राखिने भएको छ ।

सभाहल तथा ध्यान केन्द्रको मुख्यद्धारमा छ फिट अग्लो बुद्धमूर्तिसमेत राखिने छ । भिआइपी पाकिङ रहने र उक्त पार्किङमा ५० गाडी अट्ने क्षमता रहेको छ । हलको दायाँबायाँ भिभीआइपी लन तथा प्रतिक्षालयसमेत निर्माण भइरहेको छ । यसैगरी ६० जनाले एकैसाथ प्रयोग गर्न सक्ने गरी महिला पुरुषको अलग–अलग शौचालय निर्माण भइरहेको छ ।

लुम्बिनीमा हरेक वर्ष आयोजना हुने बुद्ध जयन्ती तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनका लागि लाखौँ रकम खर्चेर अस्थायी हल बनाउने गरिएको छ । सन् २०१६ मा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्ती कार्यक्रम मनाउने गरी अस्थायीरूपमा हल निर्माण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आउनुभएको थियो । तर अकस्मात आएको हाबाहुरीसहितको पानीले उक्त अस्थायी हल भत्कँदा कार्यक्रमसमेत प्रभावित हुन पुग्यो । त्यति नै बेला तत्कालीन प्रधानमन्त्री ओलीले लुम्बिनीमा एक स्थायी सभाहल र त्यहीँ रहने गरी ध्यान केन्द्र निर्माण गर्ने घोषणा गर्नुभएको र त्यसपछि हल निर्माणले गति लिएको कोषका वरिष्ठ प्रशासकीय प्रमुख ज्ञानिन राईले बताउनुभयो ।

गत बिहीबार लुम्बिनी आउनुभएका राष्ट्रपति भण्डारीले सो हलको निरीक्षण गर्नुभएको थियो । त्यस अवसरमा उहाँले राम्रो हल तयार हुन लागेकामा खुशी पनि व्यक्त गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com