गैरकानूनी रुपमा बेलायत जान लागेका आप्रवासीहरु चढेको डुंगा दुर्घटना हुँदा ३१ को मृत्यु


प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार

विना भिसा बेलायत जान लागेका आप्रवासीहरु चढेको डुंगा ईंग्लिस च्यानलमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको छ । उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानमा भएको दुर्घटनामा कैयन घाइते भएका छन् ।

फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले गैरकानूनी रुपमा सिमा पार गर्न खोज्दा आप्रवासीहरु परेको यो ठूलो दुखद घटना भएको बताएका छन् । अधिकारीहरुले दुर्घटनामा मृत्यु हुने सबै ३१ जनाका शव फेला पारिसकेका छन् । जसमा ५ महिला र एक बालिकासमेत छन् । दुईजनाको जीवितै उद्दार गरिएको छ ।

दुर्घटनामा एकजना अझै बेपत्ता भएका छन् । ज्यान गुमाउने र घाइते हुनेहरु कुन कुन देशका हुन् भन्नेबारे अझै खुलाइएको छैन । स्थानीय समयानुसार बुधबार दिउसो २ बजे उक्त डुंगा डुबेको र १५ ओटा शव पानीमा तैरिएको अवस्थामा निकालिएको थियो ।

फ्रान्सका गस्ती डुंगाहरुका साथै फ्रान्सका हेलिकप्टर र बेलायती हेलिकप्टरहरु शव निकाल्न र उद्दार गर्नमा खटेका थिए । गैरकानूनी रुपमा सिमा पार गर्ने क्रममा कैयनका मृत्यु हुने घटना यस अगाडि पनि भएका थिए । तर बेलायत जाने क्रममा डुंगामा एकैपटक ठूलो संख्यामा मृत्यु भएको भने यो पहिलो घटना हो ।

घटनामा संलग्न भएको आशंकामा ४ जना मानवतस्करहरुलाई बुधबार नै नियन्त्रणमा लिइएको छ । दुईजना अभियुक्तहरुलाई अदालतमा पेश गरिसकिएको छ । नरसंहार, संगठीत रुपमा गैरकानूनी मानवतस्करी लगायतका अभियोगमा अभियोजनकर्ताहरुले अनुसन्धान सुरु गरेका छन् ।

यो बर्षमात्र २५ हजार ७ सय आप्रवासीहरुले डुंगामा खतरनाक यात्रा गरेको जनाइएको छ । जुन सन् २०२० को तुलनामा तीन गुणा बढी हो । फ्रान्स र बेलायतका अधिकारीहरुले हजारौं आप्रवासीहरुलाई फ्रान्स र बेलायतका तटक्षेत्रबाट हालैका दिनमा नियन्त्रणमा समेत लिएका छन् । जनवरीयता फ्रान्सलेमात्र ७ हजार ८ सयको उद्दार गरेको छ भने बुधबारमात्र सिमा पार गर्न खोज्ने ६७१ लाई नियन्त्रणमा लिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com