Follow @khasokhasmag

हाउसबाट पारित कागपत्रविहिनलाई १० बर्षे वर्क परमिट दिने विधेयक बजेट प्रकृयामा जाने संकेत


प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार

सिनेट पार्लियामेन्टेरियनबाट विगतमा दुईवटा अध्यागमन योजनाहरु बजेट प्रकृयामा जान रोकिएकोमा हाउसबाट पारित कागपत्रविहिनलाई १० बर्षे वर्क परमिट दिने विधेयक बजेट प्रकृयामा जानदिने संकेत मिलेको छ । डेमोक्र्याट्सहरुले सिनेट पार्लियामेन्टेरियनबाट यसबारे सकारात्मक संकेत प्राप्त गरेका छन् । बजेट प्रकृयाबाट बिल पारित गर्दा रिपबिलकन सिनेटरहरुको समर्थन विना नै पारित गर्न सकिनेछ ।

विगतमा भने ८ मिलियन कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने योजनालाई सिनेटमा पार्लियामेन्टेरियनले यो प्रावधान बजेट प्रकृयामा राख्न नमिल्ने भन्दै अस्वीकार। गरेकी थिइन् । त्यसपछि डेमोक्र्याट्सहरुले निश्चित मितिभन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने प्रस्ताव अगाडि सारेका थिए । उक्त प्रस्ताव पनि पार्लियामेन्टेरियनबाट बजेट प्रकृयामा लैजान रोकिएको थियो ।

सिनेट पार्लियामेन्टेरियनले मुख्य विधयेकहरुमा अगाडि बढाउने वा नबढाउने विषयमा रेफ्रीको काम गर्छन् । यो पनि कुनै पनि दलगत हुँदैन भने निर्वाचित पनि होइन । प्रतिनिधिसभामा सन् १९२७ देखि पार्लियामेन्टेरियन रहदै आएका छन् भने सिनेटमा सन् १९३५ देखि रहदै आएका छन् । संविधानले यो पद अनिवार्य भने गरेको छैन । म्याकडोनो सन् २०१२ देखि सिनेटमा पार्लियामेन्टेरियन छिन् ।

मंगलबार सिनेट पार्लियामेन्टेरियनले डेमोक्रेटिक स्टाफसँग कागपत्रविहिनलाई १० बर्षे वर्क परमिट दिने अध्यागमन प्रावधानबारे भेट गरेकी थिइन् । उक्त भेटमा पार्लियामेन्टेरियनले राष्ट्रपति जो बाइडेनको एजेण्डालाई अस्वीकार नगरेको जनाइएको छ । तर पार्लियामेन्टेरियनबाट यो अध्यागमन प्रावधान बजेट प्रकृयाबाट पारित हुने विधेयकमा समावेश गर्न मिल्ने नमिल्नेबारे आधिकारिक निर्णय भने केही दिनमा आउने अपेक्षा गरिएको छ ।

सन् २०११ अगाडि अमेरिकामा आएका कागजपत्रविहिनहरुलाई १० बर्षको वर्क परमिट प्रदान गर्ने प्रावधानसहितको १ दशमलव ७५ ट्रिलियनको सामाजिक खर्च विधेयक अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भइसकेको छ । प्रतिनिधिसभामा विधेयकका पक्षमा २२० र विपक्षमा २१३ मत खसेको थियो ।

यो विधयेकमा समावेश गरिएको अध्यागमन सुधार प्याकेजलाई विगत ३५ बर्षयताकै सबैभन्दा बृहत अध्यागमन सुधार प्याकेज भनिएको छ । रोनाल्ड रेगनका पालापछि आएको बृहत सुधार प्याकेजका रुपमा यसलाई हेरिएको छ । सन् २०११ भन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रारम्भिक लक्ष्यभन्दा कम सुविधासहितको वर्क परमिटको प्रावधान प्याकेजमा राखिएको छ ।

यो प्रावधानमा व्यवस्था गरिएको अध्यागमन सुविधा अनुशार कागजपत्रविहिनहरु सुरुको ५ बर्षसम्म परोल प्रकृयामार्फत वर्क परमिट लिएर अमेरिकामा देशनिकालाको डरविना बस्न पाउनेछन् । अर्को ५ बर्षको अवधि थप गर्न सकिनेछ । यो अवधिमा उनीहरु अमेरिका बाहिर आवतजावत समेत गर्न पाउनेछन् । यो मापदण्डबाट अमेरिकामा रहेका ६५ लाख कागजपत्रविहिन आप्रवासीहरुलाई सिधा फाइदा पुग्नेछ ।

त्यस्तै अमेरिकी नागरिकका आफन्तहरुलाई अस्थायी स्टाटसबाट ग्रिनकार्डको बाटोमा लैजान समेत बाटो खुल्नेछ । यो बिलमा भिसा रिक्याप्चरको प्रावधान समेत समेटिएको छ । जस अन्तरगत सन् १९९२ देखि खेर गएका भिसाहरु पुन प्रयोग गर्न मिल्नेछ भने विदेशमा रहेर ग्रिनकार्डको प्रतिक्षा गरिरहेकाहरुलाई अमेरिका आउने बाटो छिटो हुनेछ ।  लामो समयदेखि ब्याकलगमा रहेका रोजगारमा आधारित र परिवारमा आधारित ग्रिनकार्डवाहकले अतिरिक्त शुल्क तिरेर आफ्नो आवेदन अगाडि बढाउन सक्नेछन् ।

प्रतिनिधिसभाबाट पारित विधयेकमा अध्यागमनबारेको विषय अत्यन्तै कममात्र समावेश गरिएको छ । यो विधयेक अब सिनेटमा मेलमिलापको नियम अन्तरगत बजेट प्रकृयाबाट पारित गर्नका लागि पेश गरिनेछ । यसो गर्दा सिनेटमा रिपब्लिकनको सहायताविना पनि यो बिल फिलिबस्टर मतको साटो सामान्य बहुमतबाट पारित गर्न सम्भव हुनेछ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com