सामूहिक बलात्कारका ३ आरोपी पक्राउ


प्रकाशित मिति : कार्तिक २३, २०७८ मंगलबार

सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

तीमध्ये एकजनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । “आधुनिक विधि र प्रविधि प्रयोग गरी अनुसन्धान भइरहेको छ, घटनामा कसैको दबाब छैन”, उहाँले भन्नुभयो ।

एक्लै सुतिरहेको अवस्थामा ती युवाले जबर्जस्ती धम्क्याउँदै पालैपालो बलात्कार गरेको भन्ने पीडितको उजुरी परेकाले जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरी पीडकको खोजी गरिएको थियो ।

उक्त घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरूकै उपस्थितिमा पीडित युवतीको परिवारबीच आर्थिक लेनदेन गरी मिलापत्रको प्रयास गरेको हल्लाले अनुसन्धानमा असर नगर्ने प्रहरीको भनाइ छ ।

मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका कसुरदारलाई बलात्कारको अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजायका साथै सामूहिक बलात्कार पुष्टि भएमा थप पाँच वर्ष सजाय हुने कानुनी व्यवस्था छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com