यूकेले नेपाललाई रेडलिष्टबाट हटायो, खोप लगाएका भिजिटर होटल क्वारेन्टीनमा बस्नु नपर्ने


प्रकाशित मिति : आश्विन २१, २०७८ बिहीबार

अन्तत यूकेले नेपाललाई रेडलिष्टबाट हटाएको छ । यूकेले नेपाललाई रेडलिष्टबाट हटाएसँगै नेपालबाट यूके प्रवेशमा सहज भएको छ भने महँगो होटल क्वारेन्टीनमा बस्नुपर्ने झन्झट पनि समाप्त भएको छ ।

अन्तराष्ट्रिय यात्राको लागि विभिन्न प्रतिवन्धहरुसहित यूकेले लागू गरेको रेड लिष्ट सूचीबाट नेपालसंगै अधिकांश देश बाहिरिएका हुन् । बिहीबार यूकेले जम्मा ७ मुलुकलाई मात्रै रेड लिष्टमा राख्दै अन्य सबै मुलुकलाई रेड लिष्टबाट हटाएको हो ।

आउँदो सोमबार बिहान ४ बजेदेखि यो परिवर्तन लागू हुनेछ । अब ७ वटामा सिमित पारिएका रेड लिष्ट मुलुकहरुमा कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी छन् ।

रेड लिष्टबाट हटेपछि अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले नेपालबाट बेलायत आउँदा होटेल क्वारेन्टीन बसिराख्नुपर्ने छैन ।

बेलायत आउनु अगाडिका १० दिनमा रेड लिष्टमा रहेको देशमा भएका व्यक्ति बेलायती वा आइरिस नागरिक नभएको खण्डमा वा बेलायतमा बस्ने अधिकारप्राप्त व्यक्ति नभएको खण्डमा बेलायत प्रवेशमा रोक लगाइदै आएको थियो । अर्थात् बेलायतमा लामो समय बस्नका लागि अधिकार नपाएका वा बेलायती पासपोर्ट नभएकाहरुलाई नेपालबाट बेलायत जानमा रोक लगाइएको थियो । अब भने पर्यटक र अन्य भिजिटर पनि आउन पाउनेछन् ।

बेलायत प्रवेशका लागि अपवादमा परेकाहरुपनि नेपालबाट बेलायत गइसकेपछि बेलायत आएको दिनको भोलिपल्टदेखि १० दिनसम्म व्यवस्थीत क्वारेन्टीन होटलमा बस्नुपर्ने नियम रहेको थियो । त्यस्तै होटल प्याकेजमा समावेश भए अनुशार अनिवार्य कोरोना परीक्षण समेत गराउनुपर्ने बाध्यता थियो । । पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले समेत यो नियमको पालना गर्नेपर्ने यदि क्यारेन्टीनको नियम उल्लंघन गरेको खण्डमा १० हजार डलरसम्म जरिवाना हुने नियम रहेको थियो ।

क्वारेन्टीनमा बस्ने होटल बुक गर्दा एकजनाका लागि १० दिनसम्म २२८५ पाउण्ड तिर्नुपर्छ भने साथमा ११ बर्षभन्दा माथिको थप व्यक्ति भएमा थप १४३० डलर तिर्नुपर्छ । ५ देखि ११ बर्षसम्मको बच्चाका लागि भने ३२५ डलर तिर्नुपर्छ । ५ बर्षभन्दा कम उमेरको व्यक्तिका सन्दर्भमा भने रकम तिर्नुपर्दैन । अब नेपालबाट जानेहरुले यो झन्झटबाट मुक्त भएका छन् । तर अन्य ७ देशलाई पनि रेडलिष्टमै राखिएकाले उनीहरुले यो नियमको पालना गर्नुपर्नेछ ।

भूपू गोर्खाहरुसहित बेलायतमा करिब डेढ लाख नेपालीहरु बसोवास गर्दै आएका छन् । तर नेपालीका चाडपर्वहरू नजिकिँदै गर्दा पनि नेपाल रेड लिस्टमा नै रहेका कारण आवतजावत कठिन भएको थियो । छिमेकी मुलुक भारतमा फैलिएको नयाँ भेरिएन्टका कारण भारतसँगै रेड लिस्टमा परेको थियो । यसअगाडि यूकेले भारतलाई रेडलिष्टबाट हटाएपनि नेपाललाई हटाएको थिएन ।

नेपालले भ्याक्सिन लगाएर आएका विदेशी पर्यटकलार्ई अनअराइभल भिसा दिन सुरु गरेको सन्दर्भमा यूके लगायतका मुलुकले नेपाललाई रेडजोनमा राख्दा नेपालबाट आवतजावतमा कठिनायी उत्पन्न भएको भन्दै रेडलिष्टबाट हटाउन माग गरिदै आएको थियो ।

अमेरिकाले भने भिसावाहक नेपालीहरुलाई कोरोना परीक्षण नेगेटिभ रिपोर्टका आधारमा सहजै प्रवेश दिदै आएको छ । अमेरिकाले चीन, इरान, युरोपको शेंगेन क्षेत्र, यूके, आयरल्याण्ड, ब्राजिल, साउथ कोरिया र भारतबाट अमेरिका जानेहरुमाथि कोरोना सम्बन्धित प्रतिबन्धहरु लगाएको छ । तर नेपालबाट अमेरिकामा जानमा कुनै रोकतोक छैन ।

नेपालबाट कोरोना नेगेटिभ रिपोर्ट सहित अमेरिका गइसकेपछि यदि पूर्णरुपमा भ्याक्सिन लगाइसकेको छ भने तीनदेखि ५ दिनभित्र कोरोना परीक्षण गर्न सीडीसीले सुझाव दिएको छ । त्यस्तै राज्यहरुले तय गरेका मापदण्डहरु पालना गर्न भनिएको छ । कोरोना पोजेटिभ देखिएमा आइसोलेसनमा बस्न भनिएको छ । यी सबै काम आफ्नै जिम्मेबारी ठानेर गर्नुपर्ने हुन्छ ।

नेपालबाट कोरोना नेगेटिभ रिपोर्ट सहित अमेरिका गइसकेपछि यदि पूर्णरुपमा भ्याक्सिन लगाएको छैन भने एकसातासम्म क्वारेन्टीनमा बस्न सुझाव दिइएको छ । तीनदेखि ५ दिनभित्र परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि ७ दिनसम्म क्वारेन्टीनमा नै बस्न भनिएको छ । यदि अमेरिका गइसकेपछि कोरोना परीक्षण नगराएको खण्डमा १० दिनसम्म आइसोलेसनमा बस्न सीडीसीले सुझाव दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com