सिमानामा आएका २० हजार बढीलाई प्रकृयामा लगे लगत्तै थप हजारौं हैटियन अमेरिकातिर आउँदै


प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार

टेक्सासको सिमाना क्षेत्रमा आएका २० हजार बढी हैटियनलाई प्रकृयामा लगे लगत्तै थप हजारौं हैटियन पानामाको बाटो अमेरिकातिर आउँदैछन् । उनीहरु कोलम्बियाबाट ६६ माइल लामो बाटोविहिन जंगल पार गरेर पानामातिर आएको जनाएको छ । अमेरिका आउँदै गरेकाहरुमा बालबालिकाहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

हैटियन सहित झण्डै ४ हजार आप्रवासीहरु पश्चिमी पानाका स्टेशनहरुबाट अगाडि बढिसकेका छन् । अरु १६ हजार आप्रवासीहरु उत्तरी कोलम्बियाको एउटा तटीय शहरमा डुंगाको प्रतिक्षामा रहेको रोयटर्सले जनाएको छ । उनीहरु डुंगातरेर जंगल छिर्ने र त्यहाँबाट पानामा हुँदै अमेरिकाको सिमाक्षेत्रमा आउने योजनामा रहेका छन् ।

कोलम्बिया र पानामाले हरेकदिन ५ सयसम्म आप्रवासीहरुलाई प्रवेश दिने सहमति गरेका थिए । तर कतिपयले यो संख्या बृद्धि हुनुपर्ने माग गरिरहेका छन् । ६६ माइल लामो बाटोविहिन जंगल पार गरेर डेरियन ग्यापहुँदै सन् २०२१ लागेदेखि ८८ हजारभन्दा धेरै आप्रवासीहरु पानामा छिरिसकेका छन् । गत जनवरीमा ८ सय आप्रवासीहरु पानामा छिरेकोमा अगस्तमा ३० हजार छिरेका थिए ।

कोलम्बिया, पानामाहुँदै अमेरिकातिर अगाडि बढिरहेका हैटियनहरु ।

सन् २०१० मा २ लाख २० हजारभन्दा बढीको ज्यान जानेगरी भूकम्प गएपछि कैयन हैटियनहरु देश छाडेर ब्राजिल, चिली, पेरु लगायतका देशमा गएका थिए । उनीहरु अहिले जो बाइडेनको कार्यकालमा अमेरिका सहजै छिर्न पाइने आशामा अमेरिकातिर हान्निएका छन् । यसैमहिनाको सुरुतिर हजारौं हैटियनहरु टेक्सासको सिमाक्षेत्रमा रहेको अन्तर्राष्ट्रिय पुलनिर अस्थायी शिविर राखेर बसेका थिए । उक्त क्षेत्र शुक्रबार खाली गराइसकिएको छ ।

होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासका अनुशार १२ हजार भन्दा बढी हैटियनहरुलाई मुद्दा लिएर अमेरिकी भूभागमा छाडिएको छ । १२ हजार ४ सयभन्दा धेरैको एसाइलम मुद्दा अध्यागमन न्यायाधिसहरुले हेर्दैछन् भने ५ हजारभन्दा धेरै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले प्रकृयामा लगिरहेको छ । झण्डै ३ हजारलाई हिराशतमा राखिएको छ ।

झण्डै ८ हजार हैटियनहरु आफ्नै मर्जीले मेक्सिकोतिर लागेका छन् भने २ हजारलाई देशनिकाला गरेर हैटी पठाइएको छ । एसाइलम दावी गरेकाहरुको एसाइलम अस्वीकृत भएको खण्डमा उनीहरुलाई पनि देशनिकाला गरेर हैटी पठाइनेछ ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com