Follow @khasokhasmag

‘पढेको भए यस्तो हुँदैनथ्यो होला है म्याडम!’


प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार

अस्मिता खड्का

मुना राईले अर्काको घर गएर भाडा माझ्ने, घर सफा गर्ने र कपडा धुने काम गर्न थालेको २ वर्ष भयो। दिनहुँ ३ वटा घर गएर काम गर्छिन् उनी। सानो उमेरमै विवाह गरेर पराईघर पुगेकी मुना सहर पसेको करिब सात वर्ष भयो। उनी अहिले २३ वर्षकी भईन्।

राम्रो भविष्य र रोजगारीका लागि श्रीमानसँगै खोटाङबाट काठमाडाैं आईपुगेकी मुनाले भनिन् ‘सहरमा काम पाउन गाह्रो छ, त्यसमाथि मैले त पढेकै छैन।’

यो भनिरहँदा मुनाको अनुहार अलिक अँध्याराे देखिन्थ्यो।

छोराको स्कुलब्यागभरि कापी बोकेर शिक्षकको घरमा आएकी मुनालाई आफूले पढ्न नपाए पनि छोरालाई धेरै पढाउने इच्छा छ। भन्छिन् ‘मैले त पढ्न पाईन, छोरोलाई जस्तोसुकै दुःख गरेर भए पनि धेरै पढाएर ठूलो मान्छे बनाउने इच्छा छ।’

एक बिहान शिक्षिकाको घरमा भेटिएकी मुनाको हातमा आफ्नो छोराको मात्र होइन, छिमेकीका छोराछोरीहरुको पनि कापी रहेछ। मुनाले झोलाबाट कापी निकालेर शिक्षिका शोभनालाई दिँदै भनिन् ‘दुई वटा घरको काम सकेर छोराको कापी चेक गराउन म्याडमकोमा आएको छु। यसपछि अर्को घरमा काम गर्न जानुपर्छ।’

हतारमा थिईन् उनी। यो हप्ता छोराछोरीको होमवर्क चेक गराउन आउने पालो मुनाको रहेछ। आफूले जस्तै काम गर्ने दिदी बहिनीहरुले छोराछोरीले हप्ताभरि घरमा बसेर लेखेको कापी बोकेर शिक्षिकाको घरमा आउने पालो लगाएका रहेछन्।

‘नेपाली अक्षर त अहिले चिन्न लागेको छु तर अंग्रेजी चिन्दिन, कसरी लेखाउने थाहा छैन म्याडम,’ छोराको कापी चेक गर्दैगर्दा उनले शिक्षिकासँग गुनासो गरिन्। शिक्षिका शोभनाले आश्वस्त तुल्याउँदै भनिन्, ‘छोरासँगै तपाईं पनि पढ्नुस्, नजानेको सोध्नुस् म छँदैछु नि।’

सामुदायिक विद्यालयककी शिक्षिका शोभनाले भनिन् ‘बालबालिकाहरुको हप्ताभरिको गृहकार्य एकैपटक चेक गर्ने गरेको छु। के गर्नु वाध्यता छ। उहाँहरु बाहिर काम गर्ने मान्छे स्कुल बन्द छन् काम र बच्चाको पढाई व्यावस्थापन गर्न गाह्रो परेको छ।’

मुनाको एउटा छोरा छ। श्रीमान गाडीमा काम गर्छन्। तर कोरोना महामारीका कारण पहिला जस्तो काम गर्न सहज नभएको उनले सुनाईन्।

मुनाले आफ्नो पारिवारिक अवस्थाबारे धेरै बताउन चाहिनन्। तर आफुले अक्षर चिन्न नसक्नुको पीडा अहिले आएर छोरा पढाउँदा थाहा पाएको सुनाउँदै भनिन् ‘मुबाइल राम्रोसँग चलाउन आउँदैन। छोरोलाई अरुको घरमा पढ्न पठाउँछु। होमवर्क सकेपछि फोटो खिचेर पठाउनु पर्यो। यो सबै छिमेकी साथीले गरिदिन्छन, उसले पढेको छ। श्रीमानले पढ्नु भएको छ। तर रातिमात्र घर आईपुग्नु हुन्छ। बाबुलाई पढाउने समय नै हुँदैन।

‘मैले पढेको भए यस्तो त हुँदैनथ्यो होला है म्याडम,’ कापी चेक गरिरहेकी शिक्षिकालाई सोधिन्। उनको जिज्ञासा मेटाउँदै शिक्षिका शोभनाले भनिन्, ‘अहिले पनि केही बिग्रेको छैन, उमेर सानै छ। तपाईं पढ्न सक्नुहुन्छ, छोरासँगै, मैले भने नि नजानेको मैले सिकाई दिन्छु !’

शिक्षिकाको कुरामा हौसला पाएकी मुनाले भनिन् ‘म्याडम अहिले त तपाईले अनलाइनमा बाबुलाई पढाएको हेरेर सिकिरहेको छु।’

बाबु कहाँ छ त भन्ने हाम्रो जिज्ञासामा मुनाले भनिन्, ‘म हिँड्दा सुतेको थियो, अहिले उठेको होला, खानेकुरा छेउमा राखिदिएको छु। उठेर मुख धोएर खान्छ। मुबाइल चलाएर बसेको होला ! बानी परेको छ, बाहिर निस्कँदैन, आमाले गाली गर्नुहुन्छ भन्दैभित्र बस्छ। कसैले बोलाए पनि बाहिर जाँदैन’।

मुनाको छाेरा जम्मा पाँच बर्षको भयो।

‘लकडाउनपछि दिउँसो १ बजेबाट पढाइ सुरु हुन्छ, जहाँ गए पनि १ बजे घरमा आउनु पर्छ। गाह्रो छ। त्यही भएर विहानै काममा जान्छु। शिक्षाको महत्व बल्लबुझ्दै छु। गाह्रो छ नि दिदी। स्कुलमा भए बच्चाहरुले नयाँ कुरा सिक्थे, घरमा बच्चाहरु पढ्नै मान्दैनन्, त्यसमाथि आफूले पढेको छैन, अरुको सहारा लिनुपर्छ,’ उनले सुनाईन्।

महामारीको कारण घरभन्दा बाहिर निस्केर काम गर्ने महिलाहरुका लागि बच्चासँगै कामलाई व्यवस्थापन गर्नु निकै गाह्रो परेको छ। कोरोनापछि सहरका हर कोठाहरु कक्षाकोठा बनेका छन्।

मुनाको छोरा सामूदायिक स्कुलका विद्यार्थी हुन्। उनको छोराले पढ्ने स्कुलमा धेरै जस्तो मजदूर बर्गका बालबालिका अध्ययन गर्ने गर्छन्। सहर भनेर हुँदैन। यहाँ हुनेहरुका लागि सबैकुरा सम्भव छ नहुनेहरुको पीडा भनिसाध्य छैन। शिक्षिका शोभना भन्छिन्,‘ तपाई पत्याउनु हँुदैन होला। कति अभिभावकहरुसँग स्मार्ट फोन छैन। इन्टरनेटको के कुरा गर्नु ? म बस्ने घरनजिक रहेका बालबालिकालाई घरमै बोलाएर पढाउँछु। मेरो पनि आफ्नै समस्या छ। भाडामा बसेको छु। सानैबाट आफूले पढाएको छोड्नु मन लाग्दैन। सजिलो छैन।’

उनका अनुसार सबैभन्दा ठूलो समस्या दुई-तीन जना सन्तान भएका अभिभावकहरुलाई हुन्छ। बच्चैपिच्छे मोबाइल, ल्यापटप किन्न सक्ने आर्थिक अवस्था छैन। एउटा मोबाइलमा तीन वटा बच्चा कसरी पढ्ने? त्यो पनि फरक–फरक कक्षा हुन्छ। पढाईको रुटिन मिल्दैन। बिचरा बाबु नानीहरुको पढाई छुटिरहेको हुन्छ।

शिक्षिका शोभनाले भनिन् ‘अभिभावक रुटिन मिलाई दिनु न म्याडम भन्न आउनुहुन्छ। तर सम्भव हुँदैन। मैले पढाउने स्कुलका विद्यार्थीहरु एउटा मोबाइलमा तीन–चार जना बसेर पढ्न बाध्य छन्। कसैसँग स्मार्ट फोन छैन, भए पनि एउटा मात्र छ, छोराछोरी तीन–तीन जना छन्, कसैकोमा इन्टरनेट छैन। अभिभावकले सकेजति गर्नु भएको हुन्छ। अरु केही नगरे पनि राज्यले इन्टरनेट फ्रि वा कम शुल्कमा वितरण गरेदेखि बालबालिका शिक्षाबाट बञ्चित हुने थिएनन्। तर यहाँ इन्टरनेटवाला कम्पनीहरु पैसा सकिएको मिनेटमै काटिदिन्छन्।’

एक त अनलाईन कक्षा त्यसमाथि उनीहरुको आफ्नै समस्या धेरै, बाबुनानीहरुको पढाई छुटेको छ। यस्ता धेरै समस्या छन्। तर यो समुदायका बच्चाहरु पढ्नका लागि धेरै मेहनती हुने गरको शोभनाले सुनाइन्।

शिक्षामा सुधार नभएसम्म राष्ट्रको उन्नति नहुने बताउँदै शोभनाले भनिन, ‘देश कस्तो बन्छ भन्ने कुरा त्यहाँको शिक्षा र स्वास्थ्यको अवस्था हेरे पुग्छ। अन्य मुलुक शिक्षाको हिसाबले कहाँ छ ? हाम्रो मुलुक कहाँ? अर्को कुरा शिक्षण पेशालाई निकै सस्तो बनाईएको छ। त्यसकारण शिक्षकहरुले आफ्नो पेशामा गर्व गर्ने अबस्था छैन। यस्तो अवस्थामा गुणस्तरीय शिक्षाको के आशा गर्ने ? राज्यले सोच्नु पर्दैन ?’ आफ्नो १५ बर्ष लामो शिक्षण पेशाको अनुभव सुनाउँदै उनले भनिन् ‘निजी विद्यालयमा धेरै पैशा तिर्दैमा त्यहाँ पढाउने किताबका अक्षर बहुमुल्य धातुले बनेका हुँदैनन्। सामुदायिक र सरकारी विद्यालयमा पढाईने पुस्तक पनि तिनै हुन। राज्यको अभिभावकत्व नपुगेको मात्र हो। शिक्षामा निजीकरणकै राज्य विकासको सबैभन्दा ठूलो बाधक हो।’

 

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com