अमेरिकाले कोरोना सम्बन्धित यात्रा प्रतिबन्धहरु कायमै राख्ने


प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार

कतिपय देशहरुले कोरोना सम्बन्धित यात्रा प्रतिबन्धहरु खुकुलो बनाइरहँदा अमेरिकाले भने कोरोना सम्बन्धित यात्रा प्रतिबन्धहरु कायमै राख्ने भएको छ । डेल्टा भेरियन्टका कारण अमेरिकामा संक्रमणदर बढिरहँदा ह्वाइट हाउसले कोरोना सम्बन्धित प्रतिबन्धहरु कायमै राख्ने निर्णय गरेको हो ।

बाइडेन प्रशासनमाथि यात्रा सम्बन्धि उद्योगहरुबाट र अमेरिकाका सहयोगीबाट महामारीकालिन यात्रा प्रतिबन्धहरु हटाउन दवाव बढिरहेको बेलामा ह्वाइटहाउसले प्रतिबन्धहरु कायमै राख्ने निर्णय गरेको हो । अमेरिकामा महामारीको बढोत्तरी आगामी केही सातासम्म कायम रहने देखिएकाले यात्रा प्रतिबन्धहरु कायमै राख्नुपरेको अधिकारीहरुले बताएका छन् ।

बेलायतमा बढिरहेको कोरोना महामारीका कारण हालै सीडीसीले बेलायतमा यात्रा नगर्नका लागि जारी गरेको सुझावबारे बोल्दै ह्वाइटहाउसका अधिकारीले यात्रा प्रतिबन्धहरु हटाउने प्रकृया विज्ञान र जनस्वास्थ्यमा आधारित रहेको बताएका छन् । रोयटर्सले सोमबार विहान प्रकाशित गरेको समाचारमा अमेरिकाले यात्रा प्रतिबन्धहरु कायम राख्ने उल्लेख गरिएको थियो ।

क्यानडाले भ्याक्सिन लगाएका अमेरिकन र ग्रिनकार्डवाहकहरुलाई अगस्त ९ देखि लागु हुनेगरी आफ्नो देशमा आउन अनुमति दिएपनि अमेरिकाले अगस्त २१ सम्म लागु हुनेगरी क्यानडा र मेक्सिकोसँगको सिमानाकाबाट अत्यावश्यक बाहेकका यात्रामा रोक लगाएको छ । अर्थात् मेक्सिको र क्यानडाबाट अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र अत्वाश्यक व्यक्तिबाहेक अरुलाई अमेरिका आउनमा रोक लगाइएको छ ।

आइतबार अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीले अमेरिका गलत दिशातिर गइरहेको बताएका थिए । अमेरिकामा भ्याक्सिन नलगाएकाहरुमा कोरोना संक्रमण तीब्र गतिमा बढिरहँदा फाउचीको यस्तो भनाई आएको हो । अमेरिकामा भ्याक्सिन अभियान सुरु भएको ७ महिना नाघिसक्दापनि पूर्णरुपमा भ्याक्सिन लगाउनेहरु अझै कुल जनसंख्याको ५० प्रतिशत पुगेका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com