टीपीएसवाहकलाई स्थायी संरक्षणको माग गर्दै न्युयोर्कमा नेपालीसहितको प्रदर्शन


प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार

टीपीएसवाहकलाई स्थायी संरक्षणको माग गर्दै न्युयोर्कमा नेपालीसहितको प्रदर्शन गरिएको छ । न्युयोर्कको कोलम्बस पार्क लगायतका क्षेत्रमा सयौंले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा म्यानहटन ब्रिज केहीबेर अबरुद्ध भएको थियो ।

प्रदर्शनमा सहभागी हुन जानु अगाडि अधिकार नेतृत्वको टोली । फोटोः अधिकार

न्युयोर्क इमिग्रेशन कोलियसन, मेक द रोड न्युयोर्क, सेन्टर फर पपुलर डेमोक्रेसी र फर्म एक्सन आयोजक रहेको कार्यक्रममा अमेरिकी सांसदहरुको समेत उपस्थीति रहेको थियो । प्रदर्शनको को स्पोन्सर नेपाली र नेपाली भाषी आप्रवासीको अधिकारका लागि सकृय संस्था अधिकार लगायतका तीनदर्जन बढी संस्थाहरु रहेका थिए ।

प्रदर्शनका क्रममा । फोटो: अधिकार

टीपीएस र डाकामा रहेकाहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजानुपर्ने मागका साथ न्युयोर्क लगायत अमेरिकाका अन्य राज्यहरुमा पनि प्रदर्शनहरु भइरहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले टीपीएस र डाकाले समेटेकाहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रतिबद्धताका साथ बिल अमेरिकी संसदमा ल्याएका छन् । तर बिल अगाडि बढ्न भने सकेको छैन ।

यसैबीच अमेरिकामा नेपालीको टीपीएसको अवधि थप्न र पुन टीपीएस प्रदान गर्न माग गर्दै संचालन गरिएको हस्ताक्षर अभियानमा अहिलेसम्म २० हजारभन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् । २५ हजार ६ सय हस्ताक्षरको लक्ष्यसहित सुरु गरिएको अभियानमा लक्ष्यमा पुग्न अझै झण्डै ५ हजार हस्ताक्षरको आवश्यकता रहेको छ ।

नेपालीको टीपीएसको कागजातको अवधि आगामी अक्टोबर ४ सम्ममात्र बाँकी रहेको छ । त्यसपछि पनि बाइडेन प्रशासनले टीपीएसको अवधि थप्ने अपेक्षा त गरिएको छ तर अहिलेसम्म बाइडेन प्रशासनले कुनै कदम भने चालेको छैन । त्यसैले नेपाली टीपीएसवाहकहरु अन्यौल र त्रासमा रहेका छन् ।

अमेरिकामा नेपाली र नेपाली भाषी आप्रवासीको अधिकारका लागि कृयाशिल संस्था अधिकारले हस्ताक्षर अभियानको स्पोन्सर गरेको हो । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासलाई सम्बोधन गरेर हस्ताक्षर अभियान संचालन गरिएको हो । अभियान एक्सन नेटवर्क डट वर्कमा संचालन गरिएको छ ।

हाल झण्डै १० हजार नेपालीहरु टिपिएसमा छन्, तर त्यसमा जुन २४, २०१५ भन्दा अगाडि आएकाहरुलाई मात्र सामेल गरिएको छ। सन् २०१५ को जुन २४ पछि अहिलेसम्मको अवधिमा अमेरिका आएकाहरु समेत योग्य हुनेगरी पुन टीपीएस प्रदान गर्न माग गरिएको हो । उनीहरुसमेत योग्य हुनेगरी नेपालीलाई टीपीएस प्रदान गरिएको खण्डमा थप झण्डै ३७ हजार भन्दा धेरै नेपाली आप्रवासीहरु टिपिएसको लागि योग्य हुने अधिकारको भनाई छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com