३८०२: सन् २०२२ का लागि डिभी पारेका नेपालीको संख्या सार्वजनिक, एसियामै दोश्रो


प्रकाशित मिति : श्रावण ३, २०७८ आईतबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आर्थिक बर्ष सन् २०२२ का लागि डिभी लोटरी पारेका नेपालीहरुको संख्या सार्वजनिक गरेको छ । गत मे ८ मा सन् २०२२ को डिभी लोटरीको नतिजा आएपनि कुन देशबाट कतिले डिभी पारे भन्नेबारे विवरण सार्वजनिक गरिएको थिएन ।

अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् । उनीहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् भने सन् २०२२ को सेप्टेम्बर ३० सम्म भिसा पाउनेछन् ।

चालु आर्थिक बर्षका दुईचारजना बाहेक अधिकांश डिभी विजेताले भिसा पाउन सकेका छैनन् ।

बढीमा ५५ हजार डिभी विजेताहरुले भिसा पाउनसक्ने भएतापनि १ लाख १९ हजार २१ जनाले सन् २०२२ को डिभी पारेका छन् । उनीहरुमध्ये कैयन अयोग्य हुनसक्ने भएकाले अमेरिकाले भिसा दिने नम्बरभन्दा धेरैलाई डिभी पार्दै आएको छ ।

सन् २०२२ का लागि कुल ७३ लाख ३६ हजार ३ सय २ जनाले डिभी भरेका थिए । आफन्तहरुसहित सन् २०२२ को डिभीमा सहभागी हुनेहरु विश्वभरबाट कुल १ करोड ३१ लख ९१ हजार २ सय ९६ जना रहेका थिए ।

चालु आर्थिक बर्ष २०२१ का लागि पनि ३८०१ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर कोरोना महामारी र विगतको ट्रम्पको आप्रवासन रोकका कारण अधिकांशले भिसा पाउन सकेका छैनन् । गतमहिना केही नेपाली डिभी विजेताहरुले भने भिसा पाउन सफल भएका छन् ।

गतबर्ष कोरोनाको महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन रोक लगाउँदै डिभी विजेताहरुको भिसामा समेत प्रतिबन्ध लगाएका थिए । तर अदालतले डिभी विजेताहरुलाई भिसा जारी गर्न सरकारलाई आदेश दिएपछि गतबर्षको सेप्टेम्बरमा डिभी विजेताहरुले भिसा प्राप्त गर्न सफल भएका थिए ।

उनीहरुले भिसा पाएपनि अध्यागमन रोकका कारण फेब्रअरी अन्तिमसम्म अमेरिका आउन भने पाएका थिएनन् । फेबु्रअरीमा अदालतले ट्रम्पको आप्रवासन रोक खारेज गरिदिएपछि उनीहरु अमेरिका आउन पाएका थिए ।

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । प्राथमिक डिभी विजेताहरु र उनीहरुका परिवारका सदस्यहरुसहित गतबर्ष २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सफल भएका थिए ।

तर आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुको परीदृश्य सन् २०२० का डिभी विजेताहरुको तुलनामा अझ खराब भएको छ । प्रत्यक्ष रुपमा कुनै आप्रवासन रोक नभएपनि अमेरिकी सरकारको विदेश मन्त्रालयले दूतावासहरुलाई डाईभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राख्न निर्देशन दिएपछि लोटरी विजेताहरुले भिसा पाउन सकेका छैनन् । अहिलेकै अवस्था कायम रहेमा सन् २०२१ का डिभी विजेताहरुले २०२० का विजेताले जति पनि भिसा नपाउने देखिएको छ ।

पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए ।

उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले सन् २०१९ को अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com