बृहत खर्च बिलमा टीपीएसवाहकलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विषय समेट्ने प्रयास


प्रकाशित मिति : असार २९, २०७८ मंगलबार

अमेरिकी सिनेटमा रहेका डेमोक्र्याट्सहरु बृहत  पूर्वाधार खर्च बिललाई अन्तिम रुप दिने प्रयासमा लागिरहेका छन् । रिपब्लिकनहरुसँगका सम्झौतामा समावेश नभएका परियोजनाहरुका लागि खर्च अनुमोदन गर्ने यो बिल रिपब्लिकनको समर्थन विना बजेट प्रकृयाबाट सिनेटमा सामान्य बहुमतबाट पारित गरिनेछ ।

यो बिलमा टीपीएसवाहक र डाकामा रहेकाहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विषय समेट्ने प्रयास समेत गरिएको छ । सिनेटरुहरु सोमबार रातीसम्म यो बिलमा काम गरिरहेका थिए भने मंगलबार पनि दिनभर यो बिलमा काम गर्ने भएका छन् । सांसदहरु अगस्तमा एकमहिनाको छुट्टीमा जानु अगाडि नै यो बिल स्वीकृत गर्नका लागि डेमोक्र्याट्सहरुले काम तीब्र पारेका छन् ।

यदि सबै डेमोक्र्याट्सहरु सहमत भएको खण्डमा यो बिल रिपब्लिकन सिनेटरहरुको समर्थन विना पनि पारित हुनसक्नेछ । पचास पचासमा विभाजित सिनेटमा उपराष्ट्रपति कमला ह्यारिसले टाइब्रेक गर्न सक्नेछिन् । बजेट प्रकृयाबाट पारित गर्दा फिलिबस्टर भोटको आवश्यकता पर्नेछैन । विगतको कोरोनाभाइरस राहत प्याकेज पनि रिपब्लिकनको समर्थनविना बजेट प्रकृयाबाट पारित गरिएको थियो ।

सोमबार राती सिनेटर चक शुमर र ह्वाइट हाउसका प्रतिनिधिहरुसँगको घण्टौं लामो बैठकपछि सिनेटर क्रिस भ्यान होल्यानले बिलमा मंगलबार रातीसम्म सहमति कायम हुने बताएका थिए । बिल कति रकमको हुने भन्नेबारे अहिलेसम्म केही बताइएको छैन । बजेट कमिटीका अध्यक्ष सिनेटर बर्नी स्याण्डर्सले आफूहरु अमेरिकाको आधुनिक इतिहासमा नै काम गर्ने परिवारका लागि सबैभन्दा महत्वपूर्ण कानूनको अंश पारित गर्न गइरहेको बताएका छन् ।

बर्नी स्याण्डर्स नै बिलका मास्टरमाइण्ड हुन् भने यो बिलको मुख्य अंश यसै साता सार्वजनिक हुने अपेक्षा गरिएको छ । बिलमा स्कुलमा सबै विद्यार्थीका लागि निशुल्क खाना, विभिन्न ट्याक्स सुविधाहरु, सस्तो औषधी, आप्रवासन सुधार, मेडिकेडमा रहेको खाडल हटाउने व्यवस्था, मेडिकेयरको विस्तार लगायतका विषय समावेश गर्नेबारे छलफल भइरहेको छ ।

डेमोक्र्याट्सहरु बिलमा बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनहरु, टीपीएसले समेटेकाहरु र अत्यावश्यक कृषि कामदारलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विषय यही बिलमा समावेश गर्न चाहन्छन् । सिनेटमा डेमोक्रेटिक नेता चक शुमर र हाउस स्पीकर न्यान्सी पेलासी यो बिलमा अध्यागमन सुधार समावेश गर्न चाहन्छन् भने राष्ट्रपति जो बाइडेनले पनि यसका लागि आफू खुला रहेको बताएका छन् ।

तर केही डेमोक्रेटिक सांसदहरु अध्यागमनको नीतिगत विषय बजेट प्रकृयाबाट रिपब्लिकनको समर्थन विना पारित गर्न सकिने यो बिलमा समावेश गर्न नसकिने हो कि भन्ने विषयमा चिन्तित रहेका छन् । किनभने फिलिबस्टरलाई बाइपास गरेर अगाडि बढिने बजेट प्रकृयाका केही विशेष नियमहरु रहेका छन् । यद्यपी कैयन सांसदहरुले भने अध्यागमन सुधारले कर लगायतका आर्थिक क्षेत्रमा प्रभाव पार्ने भएकाले बजेट प्रकृयाबाट पारित गर्न सकिने तर्क गरेका छन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com