‘मे’ मा विश्वभरबाट झण्डै १ हजारलाई डाइभर्सिटी भिसा, काठमाडौं दूतावासले कसैलाई दिएन


प्रकाशित मिति : असार २६, २०७८ शनिबार

मे मा विश्वभरका कैयन अमेरिकी दूतावासले सिमित संख्यामा सन् २०२१ का डिभी लोटरी विजेताहरुलाई पनि भिसा जारी गरेका छन् । तर काठमाडौंमा रहेको अमेरिकी दूतावासले भने डिभी विजेता कसैलाई पनि भिसा जारी गरेन ।

मे महिनामा विश्वका विभिन्न देशमा रहेका अमेरिकी दूतावास र कन्सुलेटबाट झण्डै १ हजार डिभी विजेतालाई भिसा जारी गरिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको तथ्यांक खसोखासले विश्लेषण गर्दा मे महिनामा विश्वभरबाट ९६२ जना डिभी विजेताहरुले भिसा पाएका छन् ।

अमेरिकी दूतावास काठमाडौंले मे महिनामा ५५४ जनालाई आप्रवासी र गैरआप्रवासी भिसाहरु जारी गरेको छ । तर त्यसमा एकजना पनि डिभी विजेताहरु छैनन् । सन् २०२१ का डिभी विजेताहरुले सेप्टेम्बरको अन्तिमसम्म भिसा पाइसक्नुपर्ने हुन्छ । वर्तमान कानून अनुशार उनीहरुले अक्टोबर सुरु भएपछि भिसा पाउन सक्नेछैनन् । त्यसका लागि अब झण्डै साढे २ महिनामात्र बाँकी रहेको छ ।

मे महिनामा विश्वभरबा अमेरिकी दूतावास र कन्सुलेटमध्ये अबुधाबीबाट ४५ जना, अल्जियर्सबाट ४५ जना, अल्मेटीबाट ९६ जना, विश्केकबाट ४० जना, कायरोबाट ३३ जना, कासाब्लान्काबाट ४७ जना, दोहाबाट २० जना, जर्जटाउनबाट २३ जना, कुवेतबाट १५ जना, मुम्बईबाट १० जना, नैरोबीबाट २५ जना, प्रिस्टिनाबाट २९ जना, सिड्नीबाट ४१ जना, तिब्लिसीबाट ३५ जना, टोकियोबाट १८ जना, वार्साबाट ४२ जना, यावन्डेबाट ७४ जना डिभी विजेतालाई भिसा जारी गरिएको छ । तर नेपाली दूतावास काठमाडौंले एकजना डिभी विजेतालाई पनि भिसा जारी गर्न उदासिनता देखाउनुले नेपाली डिभी विजेताहरु चिन्तित भएका छन् ।

लकडाउनपछि अमेरिकी दूतावास काठमाडौंले केही आप्रवासी र गैर आप्रवासी भिसा सेवा सुचारु गरेको छ तर २०२१ का डिभी विजेताहरुको भिसालाई भने प्राथमिकता दिएको छैन । जुनको दोश्रो सातादेखि दूतावासले केही आप्रवासी र गैर आप्रवासी भिसा सेवा सुचारु गरेको थियो ।

डिभी विजेताको भिसा अमेरिकी विदेश मन्त्रालयले अन्तिम प्राथमिकतामा राखेका कारण सन् २०२१ का झण्डै ३८ सय नेपाली डिभी विजेताहरु चिन्ता र अन्यौलमा छन् । कोरोनाको महामारीका कारण अमेरिकी सरकारले डाइभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राखेपछि २०२१ का डिभी विजेताहरुले भिसा पाउन नसकेका हुन् ।

गतबर्ष कोरोनाको महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन रोक लगाउँदै डिभी विजेताहरुको भिसामा समेत प्रतिबन्ध लगाएका थिए । तर अदालतले डिभी विजेताहरुलाई भिसा जारी गर्न सरकारलाई आदेश दिएपछि गतबर्षको सेप्टेम्बरमा डिभी विजेताहरुले भिसा प्राप्त गर्न सफल भएका थिए ।

उनीहरुले भिसा पाएपनि अध्यागमन रोकका कारण फेब्रअरी अन्तिमसम्म अमेरिका आउन भने पाएका थिएनन् । फेबु्रअरीमा अदालतले ट्रम्पको आप्रवासन रोक खारेज गरिदिएपछि उनीहरु अमेरिका आउन पाएका थिए ।

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । प्राथमिक डिभी विजेताहरु र उनीहरुका परिवारका सदस्यहरुसहित गतबर्ष २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सफल भएका थिए ।

तर आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुको परीदृश्य सन् २०२० का डिभी विजेताहरुको तुलनामा अझ खराब भएको छ । प्रत्यक्ष रुपमा कुनै आप्रवासन रोक नभएपनि अमेरिकी सरकारको विदेश मन्त्रालयले दूतावासहरुलाई डाईभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राख्न निर्देशन दिएपछि लोटरी विजेताहरुले भिसा पाउन सकेका छैनन् । अहिलेकै अवस्था कायम रहेमा सन् २०२१ का डिभी विजेताहरुले २०२० का विजेताले जति पनि भिसा नपाउने देखिएको छ ।

पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए ।

उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले सन् २०१९ को अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com