अमेरिकामा कोरानाबाट अस्पताल भर्ना हुने र ज्यान गुमाउने प्राय सबै भ्याक्सिन नलगाएकामध्येबाट
अमेरिकामा भ्याक्सिन लगाएकाहरु प्राय कसैलाई पनि अस्पताल पठाउनु नपरेको र भ्याक्सिन लगाएकाहरु प्राय कसैको पनि कोरोना संक्रमणबाट मृत्यु नभएको ह्वाइटहाउसका अधिकारीले बताएका छन् । भ्याक्सिन लगाएकाहरु अस्पताल भर्ना हुने र कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या नगन्य रहेको ह्वाइटहाउसको भनाई छ ।
ह्वाइट हाउसका कोरोनाभाइरस रेस्पोन्स संयोजक जेफ जियन्ट्सले बिहिबार पत्रकार सम्मेलनमा भने – ‘वास्तवमै अमेरिकामा कोरोना संक्रमणबाट अस्पतालमा भर्ना हुने र ज्यान गुमाउनेहरु प्राय सबै भ्याक्सिन नलगाएकाहरुमध्येबाट रहेका छन् । कोरोना संक्रमणदर विशेषगरी भ्याक्सिन नलगाएकाहरुमा नै बढिरहेको छ । विशेषत अमेरिकामा डेल्टा भेरियन्टको पकड कायम भएको छ ।’

सीडीसी निर्देशक रोशेल वालेन्स्कीले अहिले प्रयोगमा रहेका कोरोनाबिरुद्धका भ्याक्सिनहरु सिकिस्त हुन, अस्पताल भर्ना हुन र ज्यान गुमाउनबाट रोक्न प्रभावकारी भएको प्रमाणित भएको बताएकी छिन् । उनका अनुशार अमेरिकामा संक्रमणदर बढेको छ । सातदिनको औषत नयाँ संक्रमणदर हरेक दिन १३ हजार ९ सय पुगेको छ, जुन गतसाताको तुलनामा ११ प्रतिशतले बृद्धि रहेको वालेन्सीको भनाई छ ।
त्यस्तै ह्वाइटहाउसका प्रमुख मेडिकल सल्लाहकार एन्थोनी फाउचीले पछिल्लो तथ्यांक हेर्दा भ्याक्सिनहरु डेल्टा भेरियन्टबिरुद्ध प्रभावकारी रहेको देखिएको बताएका छन् । पछिल्लो सीडीसीको तथ्यांक अनुशार मध्यपश्चिम अमेरिकाका क्षेत्रहरु र माथिल्लो पहाडी क्षेत्रमा नयाँ संक्रमणमध्ये ८० प्रतिशत डेल्टा भेरियन्ट रहेको छ ।

अमेरिकामा अहिलेसम्म १८२ मिलियनले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । जसमध्ये पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु १५७ मिलियनभन्दा धेरै रहेका छन् । कुल जनसंख्याको ४७ दशमलव ६ प्रतिशतलेमात्र पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् ।





