यस्तो छ ४६ बर्षदेखिको हस्तलिखित भिसालाई हटाउँदै नेपालले सुरु गरेको ‘क्युआर कोड’ भिसा


प्रकाशित मिति : असार २३, २०७८ बुधबार

नेपाल सरकारले गतसातादेखि हस्तलिखित भिसाको साटो सुरु गरेको कम्प्युटर प्रणालीबाट सिर्जित क्यूआर कोडसहितको भिसा सेवाग्राहीहरुले रुचाएका छन् । विगतमा हस्तलिखित भिसा टाँस्दा भिसाको सिंगै पेज ओगट्ने तथा कन्सुलेटहरुले लगाउने कतिपय भिसाको छापमा मसीका कारण पछाडिको पेजसमेत खराब हुने समस्या रहेकोमा अब यो समस्या टर्ने भएको छ ।

क्युआर कोडसहितको भिसा एउटा पेजमा ३ वटासम्म अट्नसक्नेछ । भिसामा रहेको क्युआरकोड स्क्यान गरेर जो सुकैले पनि भिसाबारेका विवरणहरु पढ्न सक्छन् ।

नेपालको अध्यागमन विभाग

नेपालले ४६ वर्षदेखि हस्तलिखित भिसा प्रयोग गर्दै आएको थियो । क्युआर कोडसहितको भिसामा क्युआर कोड, भिसा नम्बर, जारी मिति, भिसाको प्रकार, पासपोर्ट नम्बर, म्याद लगायतका विवरणहरु उल्लेख गरिएका छन् । भिसा पढ्न पनि निकै सहज रहेको छ ।

क्यूआर कोडसहितको भिसाका ७ विशेषता

– विद्युतीय भिसा प्रणालीमा जान आधार तयार भएको मानिएको यो भिसाको होलोग्राममा नेपालको नक्सासहितको वाटरमार्क रहेको छ ।

– भिसा स्टिकरमा रहने क्यूआर कोडमा भिसाको विवरण हुँदा क्यूआर कोड रिडरको प्रयोग गरेर सजिलै भिसाको आधिकारिकता र अन्य विवरण लिन सकिने छ ।

– भिसाको विवरण प्रणालीबाट प्रिन्ट हुने भएकाले हातले केरमेट गर्न मिल्ने छैन ।

– क्यूआर कोडमा समावेश भएका विवरणहरु परिवर्तन गर्न मिल्नेछैन ।

– भिसा नम्बरसमेत प्रणालीबाट सिर्जित हुने भएकाले शुद्धता हुनेछ ।

– राहदानीको एउटा पेजमा तीनवटासम्म भिसा अट्नसक्नेछ ।

– नेपालमा सम्भवत पहिलोपटक पीआरएन फाइल प्रविधि प्रयोग गरेर भिसाको प्रिन्ट हुनेछ ।

यस्तो भिसाका कारण पासपोर्टको पछाडिको पेज समेत मसीले खराब हुने अवस्था रहेको थियो ।

विमानस्थल, अन्य अध्यागमन कार्यालय र कूटनीतिक नियोगबाट कहिले ?

क्यूआर कोडसहितको भिसा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित, १३ अध्यागमन कार्यालय र विदेशस्थित कूटनीतिक नियोगबाट जारी हुनभने केही समय लाग्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विदेशस्थित ३९ वटै कूटनीतिक नियोग र १३ ठाउँमा रहेका अध्यागमन कार्यालयबाट यो प्रकारको भिसा असोजभरमा जारी गर्न सुरु गरिनेछ ।

नेपालको अध्यागमन विभागमा सेवाग्राहीहरु

क्यूआर कोडसहितको भिसा अनुकूलका प्रिन्टर खरिद भएपछि यो सेवा नेपालका सबै अध्यागमन कार्यालयबाट सुरु हुनेछ । २०३२ सालमा विदेशीसम्बन्धी नियमावली जारी भएसँगै नेपालमा हस्तलिखित भिसा प्रयोगमा आएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com