अमेरिकाबाट देशनिकाला भएका भेट्रानलाई अमेरिका फर्काउन नयाँ प्रकृया सुरु


प्रकाशित मिति : असार १९, २०७८ शनिबार

अमेरिकाबाट देशनिकाला भएका निश्चित व्यक्तिलाई पुन अमेरिका प्रवेश दिनका लागि बाइडेन प्रशासनले नयाँ प्रकृया सुरु गरेको छ । जस अनुशार विगतमा अमेरिकी सेनामा काम गरेकाहरु र अमेरिकी सेनामा काम गर्नेका परिवारका सदस्यहरुलाई यस्तो छुट दिइने भएको छ । पहिले अमेरिकी सेनामा काम गरेका तर पछि विभिन्न कारणले देशनिकालामा परेकाहरुको संख्या अमेरिकामा उल्लेख्य रहेको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले शुक्रबार आफू माताहतका अध्यागमन एजेन्सीहरुलाई यसबारे व्यवस्थीत दृष्टिकोण निर्माणका लागि आदेश दिएका छन् । विगतमा अन्यायपूर्वक देशनिकालामा परेका अमेरिकी सेनामा काम गरेकाहरुमात्र नभई अमेरिकी सेनामा काम गर्नेका परिवारका सदस्यहरुलाई उनीहरुले पाउने सुविधा सुनिश्चित गर्न आफूहरु प्रतिबद्ध रहेको मेयरकासको भनाई छ ।

देशनिकालामा परेकाहरुलाई फिर्ता ल्याउनका लागि अभियोजन विवेक अर्थात् पीडीको प्रयोग गरिने भएको छ । त्यसपछि अन्य कानूनी निकायहरुलाई उनीहरुलाई फिर्ता ल्याउनका लागि सहजिकरण गर्ने भएका छन् । अमेरिका आइसकेपछि उनीहरुलाई डिपार्टमेन्ट अफ भेट्रान अफेयर्सबाट पूर्व सैनिकका रुपमा प्राप्त गर्ने सबै सुविधाहरु प्रदान गरिने भएको छ ।

त्यस्तै उनीहरुलाई आफ्नो देशनिकालाको मुद्दा पुन खुला गरेर अमेरिकामा कानूनी रुपमा बस्ने बाटो खोल्नका लागि वकिल र अमेरिकाको अध्यागमन प्रणालीमा समेत पहुच दिइनेछ । सेक्रेटरी मेयरकारसले देशनिकालामा परेका भेट्रानहरुले अमेरिकामा बस्न र अमेरिकी नागरिकता लगायतका अध्यागमन सुविधाहरु प्राप्त गर्ने सुनिश्चित गर्न आइस, सीबीपी र युएससीआईएसलाई पनि अभ्यास र नीतिहरुमा तत्काल पुनरावलोकन गर्न निर्देशन दिएका छन् ।

अमेरिकी सेनामा काम गरेकाहरु कसरी देशनिकालामा पर्छन् ?

देशनिकालामा परेका अमेरिकी सेनामा काम गरेकाहरुले सामान्यतया अमेरिकी सेनामा भर्ती हुँदा ग्रिनकार्डवाहकका रुपमा भर्ती भएका हुन्छन् । त्यसपछि कुनै अपराधमा दोषी ठहर भएपछि उनीहरु देशनिकालाको प्रकृयामा जान्छन् ।

अहिंश्रक लगायतका कतिपय सामान्य अपराधमा दोषी ठहर भएकाहरु पनि देशनिकालाको प्रकृयामा जाने गरेका छन् । किनभने जघन्यबाहेकका सामान्य अपराधमा पनि दोषी ठहर हुँदा अमेरिकाबाट ग्रिनकार्डवाहकसमेत देशनिकाला हुनसक्ने प्रावधान रहेको छ ।

एकपटक देशनिकाला भइसकेपछि उनीहरुलाई अमेरिका प्रवेशका लागि ३ देखि १० बर्षसम्मको प्रतिबन्ध लाग्छ । उनीहरुले अमेरिकी सेनामा सेवा गरेको भएतापनि यसमा उनीहरुलाई कुनै छुट प्रदान गरिएको छैन ।

अमेरिकी सेनामा काम गर्ने क्रममा कैयन सदस्यहरु पोष्ट ट्रामाटिक स्ट्रेस डिस्अर्डर पीटीएसडीको शिकार हुने गरेका छन् । जसका कारण उनीहरु लागु औषधको कुलतमा फस्ने र त्यसै सम्बन्धित अपराधमा दोषी ठहर भएर देशनिकाला हुनेको संख्या उल्लेख्य छ ।

कतिपय सम्मानजनकरुपमा सेवानिबृत्त भइसकेपछि पनि सेनामा कार्यरत रहँदाको तनावका कारण लागुऔषध र हतियारका मामलामा फस्ने गरेका छन् । अमेरिकी सेनाबाट सेवानिबृत्त भइसकेपछि सामान्य जीवनयापनमा कैयनलाई कठिनायी हुने गरेको छ । अमेरिकी सेनामा रहँदा बाहिर खटिएका कारण कतिपयले नागरिकताको प्रकृया पूरा गर्न पाएका हुँदैनन् । र नागरिकता प्राप्त नगर्दै उनीहरु देशनिकालामा पर्छन् ।

एनपीआरएले प्रकाशित गरेको एउटा रिपोर्ट अनुशार देशनिकालामा पर्ने अधिकांश लागुऔषध र हतियारका मामलामा फस्नेहरु रहेका छन् । कतिपय गाँजाको मामलामा समेत देशनिकाला भएका छन् । यसरी देशनिकालामा पर्नेहरु सयौं रहेका छन् । एउटा रिपोर्टै अनुशार सन् २०१३ देखि २०१८ को बीचमा ९२ भेट्रानहरु देशनिकालामा परेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com