न्युयोर्कबाट झण्डै २ महिनादेखि हराएका मनोज ज्याक्सनहाइटबाट सम्पर्कमा


प्रकाशित मिति : असार १२, २०७८ शनिबार

अमेरिकाको न्युयोर्कबाट झण्डै २ महिनादेखि हराएका नेपाली ३६ बर्षका मनोज शर्मा सम्पर्कमा आएका छन् । नेपालको बाग्लुङमा रहेको उनको परिवारले मनोजको खोजीगरिदिन अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुसमक्ष आग्रह गरेका थिए ।

मनोज  आफूहरुको सम्पर्कमा आएको भन्दै एनआरएनए  अमेरिका न्युयोर्क च्याप्टरका नवनिर्वाचित कोषाध्यक्ष आशिष सापकोटाले उनको खोजीका लागि सघाउने सबैलाई धन्यवाद दिएका छन् । मनोजका बुबाले आफूहरुलाई सम्पर्क गरेर छोराको खोजी गरिदिन आग्रह गरेपछि आफूहरुले खोजी सुरु गरेको सापकोटाले बताए ।

सम्पर्कमा आएपछि मनोजलाई सम्झाईबुझाई गरेर उनका नजिकका व्यत्तिको जिम्मा लगाएर छाडिएको सापकोटाले जानकारी दिए ।

बागलुङ नगरपालिका ४ का मनोजको खोजीका लागि बाग्लुङ समाज अमेरिकाकाले पनि पहल गरेको थियो । उनको खोजीका लागि न्यूयोर्कको नेपाली महावाणिज्यदूतावास र नेपाली भाषी आप्रवासीको हितमा सकृय गैर नाफामुलक संस्था अधिकारले पनि सहकार्य गरेको थियो ।

उनको खोजीका लागि प्रहरीलाई समेत खबर गरिएको थियो । झण्डै ८ बर्षअगाडि अमेरिका आएका मनोजको सबै परिवार बाग्लुङमा रहेको छ । केही पहिले आमाको पनि निधन भइसकेको छ भने मनोजका बुबापनि छोराको बारेमा निकै चिन्तित रहेका छन् । अमेरिका आउने क्रममा मनोजको मोटो रकम खर्च भएको समेत जनाइएको छ ।

मनोज न्युयोर्कको क्वीन्सको ज्याक्सनहाइटमा बस्दै आएका थिए । तर पछिल्लो समयमा उनी बाहिरै बस्ने खाने समेत गर्दै आएका थिए ।

मनोज केहीपहिले न्युयोर्कको म्यानहटनमा रहेको माउन्ट साइनाई अस्पतालमा उपचारका लागि गएपछि सम्पर्कविहिन भएका थिए । उनी शुक्रबार न्युयोर्कको ज्याक्सनहाइटबाट सम्पर्कमा आएका हुन् ।

कभर तस्वीरमा बीचका व्यक्ति मनोज शर्मा हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com