जुलाईमा पनि ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीले प्रतिक्षा नगरी ग्रिनकार्ड आवेदन दिनसक्ने


प्रकाशित मिति : असार ८, २०७८ मंगलबार

युएससीआईएसबाट जुलाईमा ग्रिनकार्ड फाइल गर्न मिल्ने आवेदकहरुको प्राथमिक मिति सार्वजनिक गरेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिनमा उल्लेखित ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा मुनीका छोराछोरीको फाइनल एक्सन डेटमा भिसा करेन्ट गरिएकोमा युएससीआईएसले त्यसैलाई नै फाइल गर्न मिल्ने मितिका रुपमा स्वीकार गरेको छ ।

यसको अर्थ के हो ?

अमेरिकामा रहेका ग्रिनकार्डबाहकका दम्पत्ति र २१ बर्ष मुनीका छोराछोरीहरुले पारिवारिक आधारमा ग्रिनकार्ड प्राप्त गर्नका लागि फाइल गरिने आई १३० आवेदनसँगै ग्रिनकार्ड आवेदन आई ४८५ पनि फाइल गर्न सक्नेछन् । आई ४८५ फाइल गरेपछि उक्त आवेदन पेन्डिङ रहेको अवधिसम्म उनीहरुले वर्क परमिट प्राप्त गर्नसक्नेछन् ।

ग्रिनकार्ड प्राप्त नहुँदै आवेदन पेन्डिङ रहेको अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरेको खण्डमा उनीहरुले एड्भान्स परोल डकुमेन्टका लागि समेत आवेदन दिन सक्नेछन् । आई ४८५ फाइल गर्न पाउने भएकाले फाइल गरेको मितिदेखि उनीहरु अन्य अध्यागमन स्टाटसमा रहेको खण्डमा उक्त स्टाटस जोगाइराख्ने झन्झट हुँदैन । किनभने आई ४८५ फाइल भएको मितिपछिको समयलाई गैरकानूनी उपस्थीति गणना गरिदैन ।

अहिले विवाह गर्ने ग्रिनकार्डवाहकले पनि आफ्ना दम्पत्तिका लागि तत्कालै आई १३० आवेदनका साथमा ग्रिनकार्ड फाइल गर्नसक्छन् । उदाहरणका लागि ग्रिनकार्डवाहकले विद्यार्थी भिसामा रहेको कुनै आप्रवासीलाई विवाह गरेको खण्डमा उसलाई आफ्नो पूरानो स्टाटस जोगाइराख्ने आवश्यकता हुँदैन । खासगरी निकट भविश्यमा गैर कानूनी उपस्थीति हुने सम्भावना भएकाहरुलाई पनि आई १३० आवेदनका साथ आई ४८५ आवेदन फाइल गर्नसकिने अवस्थाका कारण कुनै समस्या हुनबाट जोगाउँछ ।

विगतमा के थियो ?

सन् २०१९ को जुलाईपछाडि जारी भिसा बुलेटिनमा ग्रिनकार्डबाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि फाइनल एक्सन डेटमा भिसा करेन्ट गरिदै आएको छ । सोही अनुशार विगत २ बर्षदेखि युएससीआईएसले पनि ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुले आई १३० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न मिल्नेगरी भिसा करेन्ट गराउँदै आएको छ ।

तर सन् २०१९ को जुलाई अगाडि भने कुनै ग्रिनकार्डवाहकले अमेरिकामा रहेका आफ्ना दम्पत्ति वा २१ बर्ष मुनीका छोराछोरीहरुका लागि ग्रिनकार्ड आवेदन फाइल गर्दा पहिले आई १३० आवेदनमात्र फाइल गर्नुपथ्र्यो । त्यसपछि कैयन महिना कुरेर उक्त आवेदनको प्राथमिकता मिति करेन्ट भएपछिमात्र ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्थे ।

यसो गर्दा आई १३० फाइल गरेको मितिदेखि आई ४८५ फाइल नगर्दासम्म कतिपय ग्रिनकार्डवाहकलाई आफ्नो स्टाटस जोगाउन मुस्किल हुने गरेको थियो । यदि स्टाटस नजोगाएको खण्डमा उनीहरुको ग्रिनकार्ड अस्वीकार हुनसक्ने अवस्था रहेको थियो । खासगरी अमेरिकामा ग्रिनकार्डवाहकसँग विवाह गरेर ग्रिनकार्डको प्रतिक्षामा रहेकाहरुलाई भिसा करेन्ट नहुँदा अप्ठ्यारो पारेको थियो ।

तर सन् २०१९ को जुलाईपछि भने अमेरिकामा ग्रिनकार्डवाहकसँग विवाह गर्नेले आई १३० आवेदनका साथमा तत्काल ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्छन् । जसले गर्दा उनीहरुले अमेरिकामा काम गर्न वर्क परमिट र अमेरिकाबाहिर यात्रा गर्न एड्भान्स परोलका लागि योग्य हुनसक्छन् । साथमा पूरानो अध्यागमन स्टाटस जोगाइराख्ने झन्झट पनि हुँदैन ।

अमेरिकामा ग्रिनकार्डवाहकसँग विवाह गरेर ग्रिनकार्ड प्राप्त गर्नका लागि विगतमा गैरकानूनी उपस्थीति भएको हुनुहुँदैन ।

अन्य श्रेणीको ग्रिनकार्डमा के हुन्छ ?

जुलाईमा रोजगारमा आधारित सबै श्रेणीका ग्रिनकार्डका लागि सबै आवेदकले आई १४० आवेदनका साथमा आई ४८५ फाइल गर्न सकिनेछ । भिसा करेन्ट भएकाले कुनै समय प्रतिक्षा गर्नुपर्नेछैन ।

तर अमेरिकामा नै रहेका अमेरिकी नागरिकका २१ बर्षमाथिका अविवाहित छोराछोरीहरुका लागि भने १५ मे २०१६ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुलेमात्र जुलाईमा ग्रिनकार्ड आवेदन आई ४८५ का लागि आवेदन दिनसक्नेछन् । त्यस्तै अमेरिकामा नै रहेका ग्रिनकार्डवाहकका २१ बर्षमाथिका अविवाहित छोराछोरीहरुका लागि २२ सेप्टेम्बर २०१६ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुलेमात्र जुलाईमा ग्रिनकार्ड आवेदन आई ४८५ का लागि आवेदन दिनसक्नेछन् ।

अमेरिकामा नै रहेका अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका सन्दर्भमा २२ अगस्त २००९ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुलेमात्र जुलाईमा ग्रिनकार्ड आवेदन आई ४८५ का लागि आवेदन दिनसक्नेछन् । त्यस्तै अमेरिकामा नै रहेका अमेरिकी नागरिकका अमेरिकामा नै रहेका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा १ अक्टोबर २००७ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुलेमात्र जुलाईमा ग्रिनकार्ड आवेदन आई ४८५ का लागि आवेदन दिनसक्नेछन् ।

स्मरणीय छ, यी आधारमा आई ४८५ आवेदन फाइल गर्नु अगाडि सामान्यतया अमेरिकामा गैर कानूनी उपस्थीति भएको हुनुहुँदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com