न्युयोर्कको मेयरको प्राइमरी चुनावमा अग्रिम मतदानमा नेपाली अमेरिकनको सहभागिता


प्रकाशित मिति : असार ६, २०७८ आईतबार

न्युयोर्क सिटीले मेयर, पब्लिक एड्भोकेट, कम्पट्रोलर, बोरो प्रेसिडेण्ट र सिटी काउन्सिलका लगायतका पदमा नयाँ नेतृत्व चयन गदैछ जसका लागि जुन २२ प्राइमरी चुनावको मुख्य दिन हो । तर त्योभन्दा अगाडि अग्रिम मतदान गर्न सकिने प्रावधान रहेकोमा अग्रिम मतदानमा समेत नेपाली अमेरिकनहरुले सहभागिता जनाएका छन् । नेपाली अमेरिकनहरुले अग्रिम मतदानमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गरेका छन् भने कतिपयले चुनावको मुख्य दिनमा नै सहभागी भएर मताधिकार प्रयोग गर्ने योजना बनाएका छन् ।

अग्रिम मतदानपछि राजन थपलिया ।

ज्याक्सनहाइट निवासी राजन थपलिया रजिष्टर्ड डेमोक्र्याट हुन् । उनले यसपटकको चुनावमा अग्रिम मतदान गरे । राष्ट्रपति चुनावमा चुनावकै मुख्य दिन मतदान गरेपनि न्युयोर्क सिटीको विभिन्न पदका लागि भएको चुनावमा उनले अग्रिम मतदान गरेका हुन् । नेपाली अमेरिकनको बाक्लो बसोबास रहेको डिस्ट्रिक्ट २५ का मतदाता थपलियाले न्युयोर्कको अल्पसंख्यक नेपाली समुदाय चुनावमा निर्णायक हुनसक्ने बताए । मतदान अधिकार र कर्तब्य दुबै भएकाले आफू प्राइमरी चुनावमा मतदानमा सहभागी भएको उनको भनाई छ ।

 

अन्य डिस्ट्रिक्टमा पनि नेपालीहरु अग्रिम मतदानमा सहभागी भएका छन् भने कतिपयले प्राइमरी चुनावको मुख्य दिन जुन २२ को प्रतिक्षा गरिरहेका छन् । न्युयोर्कको क्वीन्समा बस्ने नेपालीहरुको सबैभन्दा धेरै चासो भने डिस्ट्रिक्ट २५ बाट सिटी काउन्सिलमा प्रतिनिधित्व गर्ने सदस्यका सन्दर्भमा रहेको छ । यस क्षेत्रका उम्मेदबारहरुको चुनावी अभियानमा नेपाली समुदायको सहभागिता उल्लेख्य रहेको छ । मिनी नेपालका रुपमा समेत परिचित यो डिस्ट्रिक्टमा खासगरी नेपाली समुदायले तीनजना उम्मेदबारहरुका चुनावी अभियानमा सहभागिता जनाएका छन् ।

त्यस्तै क्वीन्स निवासी सोमनाथ घिमिरेले पनि अग्रिम मतदान गरेका छन् । उनले आफूले अग्रिम मतदान गरेको उल्लेख गर्दै अरुलाई पनि मतदानका लागि आग्रह गरेका छन् । न्युयोर्कमा अल्पसंख्यक नेपाली अमेरिकन समुदायको आवाजको अर्थ रहने र चुनावको अर्थ हुने भन्दै उनले मतदानका लागि प्रेरित गरेका हुन् ।

अग्रिम मतदानपछि सोमनाथ घिमिरे ।

यसपटक प्राइमरीमा मच्वाइस भोटिङ विधि रहेकाले प्राइमरीमा विजयी हुनेले ५० प्रतिशतमत प्राप्त गर्नुपर्छ । न्युयोर्क सिटीले मेयर, पब्लिक एड्भोकेट, कम्पट्रोलर, बोरो प्रेसिडेण्ट र सिटी काउन्सिलका लागि सबै प्राइमरी र विशेष निर्वाचनमा र्‍याङक च्वाइस भोटिङ विधि अपनाएको छ । यो विधिबाट मतदान गर्दा न्युयोर्करहरुले पहिले भन्दा धेरै च्वाइसहरु प्राप्त गर्छन् ।

कुनै पनि पदका लागि एउटामात्र उम्मेदबारलाई भोट हाल्नुको साटो मतदाताहरुले ५ जनासम्म उम्मेदबारलाई रोजाईका आधारमा मतदान गर्न पाउँछन् । पहिलो, दोश्रो, तेश्रो , चौथो र पाँचौं रोजाइसम्मका उम्मेदबारलाई मतदान गर्न सक्छन् । पहिलो कोलममा पहिलो रोजाईका उम्मेदबारलाई, दोश्रो कोलममा दोश्रो रोजाईका उम्मेदबारलाई भोट हाल्न सकिन्छ । यसैगरी तेश्रो, चौथो र पाँचौं रोजाईका उम्मेदबारलाई भोट हाल्न सकिन्छ । एउटामात्र उम्मेदबारलाई भोट हाल्न चाहनेहरुले एउटैलाईमात्र पनि भोट हाल्न सक्छन् ।

यसरी मतदानपछि ५० प्रतिशतभन्दा बढी भोट ल्याउने उम्मेदबारले चुनाव जित्नेछ । यदि कसैले पनि ५० प्रतिशतभन्दा बढी भोट नल्याएमा मतगणना दोश्रो चरणमा जानेछ । यो चरणमा सबैभन्दा कम मत ल्याउने उम्मेदबारलाई हटाइनेछ । यदि कुनै पनि मतदाताको पहिलो रोजाईको उम्मेदबार बाहिरिएको खण्डमा उक्त भोट दोश्रो रोजाईको उम्मेदबारमा जोडिनेछ । यसरी नै विजेता प्राप्त नहुँदासम्म कम भोट ल्याउनेलाई हटाउँदै मतगणना जारी राखिनेछ । जब कुनै उम्मेदबारले ५० प्रतिशतभन्दा बढी ल्याउनेछ, उसलाई विजेता घोषणा गरिनेछ ।

डिस्ट्रिक्ट २५ को चुनावी माहौल

न्युयोर्क सिटी काउन्सिलको डिस्ट्रिक्ट २५ अर्थात् ज्याक्सनहाइट र एल्महस्र्टका बासिन्दाहरुले सिटी काउन्सिलमा झण्डै १२ बर्षपछि नयाँ नेतृत्व चयन गर्ने भएकाले यो क्षेत्रको चुनावी दौड पेचिलो र भींडभाडयुक्त बनेको छ । नेपाली अमेरिकनहरुको समेत बाक्लो बसोबास रहेको यो क्षेत्रमा सन् २००९ को चुनावमा डानियल ड्रम निर्वाचित भएयता लगातार नेतृत्व गर्दै आएका थिए तर यसपटक टर्म लिमिटका कारण नयाँ नेतृत्व चयन गरिने भएको छ ।

जुन २२ मा हुने डेमोक्रेटिक प्राइमरीका लागि ९ जना उम्मेदबारहरु चुनावी मैदानमा रहेका छन् भने सबैभन्दा बढी चर्चाको शिखरमा शेखर कृष्नन, यी चेन, फतिमा बर्याब र क्यारोलिन ट्रान रहेका छन् । यी बाहेक लिलियाना मेलो, म्यानुअल पेरेज, अल्फोन्सो क्वीरेज, राजेश रानोट र विलियम साल्गाडो पनि चुनावी मैदानमा रहेका छन् ।

सन् २०१० को जनगणनाको तथ्यांक अनुशार यो क्षेत्रमा १ लाख ६२ हजार ५ सय ६० जना बस्दै आएका छन् । जसमध्ये ४२ प्रतिशत हिस्पानिक रहेका छन् भने १५ दशमलव २ प्रतिशत श्वेत रहेका छन् । ५ दशमलव ८ प्रतिशत अश्वेत रहेको यो डिस्ट्रिक्टमा ३४ दशमलव ५ प्रतिशत एसियन अमेरिकन मतदाता रहेका छन् । यो डिस्ट्रिक्ट पहिलो र दोश्रो पुस्ताका धेरै आप्रवासीहरु रहेको डिस्ट्रिक्टका रुपमा समेत परिचित छ ।

ठूलो संख्यामा इक्वेडर, कोलाम्बिया, नेपाल, भारत, बंगालादेशका आप्रवासीहरु यो डिस्ट्रिक्टमा रहेका छन् । नेपालीहरुका झण्डै एकदर्जन रेष्टुरेण्ट व्यवसायहरु इो डिस्ट्रिक्टभित्र पर्छन् भने नेपालीहरुले संचालन गरेका सबैभन्दा धेरै साना व्यवसायहरु पनि न्युयोर्कमा यही डिस्ट्रिक्टभित्र छन् । न्युयोर्कसिटीका बोरो अनुशार सबैभन्दा धेरै भाषाहरु क्वीन्समा बोलिन्छ भने पृथ्वीकै कुनै पनि स्थानमा भन्दा धेरै भाषाहरु क्वीन्समा बोलिन्छ । यहाँका ४७ प्रतिशत भन्दा धेरै निवासीहरु विदेशमा जन्मिएकाहरु छन् ।

उम्मेदबारहरुमा सबैभन्दा धेरै प्राइभेट फण्ड संकलन गर्न सफल शेखर र यी चेन रहेका छन् । शेखरले जुन १६ सम्म ८१ हजार ७ सय ३४ डलर प्राइभेट फण्ड र चेनले १ लाख ३३ हजार ४ सय ८५ डलर प्राइभेट फण्ड संकलन गरेका छन् । तेश्रोमा क्वीरेजले ७९ हजार ६ सय १० डलर र चौथोमा क्यारोलिन ट्रानले ४७ हजार ५३८ डलर प्राइभेट फण्डरेज गरेका छन् ।

नेपालीहरुको एउटा हिस्सा यी चेनको समर्थनमा देखिएको छ भने अर्को हिस्सा क्यारोलिन ट्रानको समर्थनमा देखिएको छ । त्यस्तै फतिमा बर्याबलाई समर्थन गर्ने नेपालीहरुको हिस्सा पनि उल्लेख्य रहेको छ । न्युयोर्कमा झण्डै ८ हजार नेपाली मतदाताहरु रहेकोमा सबैभन्दा बढी क्वीन्समा नै बस्दै आएका छन् । क्वीन्समा पनि सबैभन्दा धेरै बसोबास डिस्ट्रिक्ट २५ मा रहेको छ । तर यो डिस्ट्रिक्ट नेपाली मूलका मतदाताहरुको यकिन संख्या भने उपलब्ध छैन ।

न्युयोर्कमा नेपाली मतदाता झण्डै ८ हजार

न्युयोर्क सिटीको चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकन मतदाता झण्डै ८ हजार रहेको विभिन्न तथ्यांकले देखाएको छ । खसोखासले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीबाट प्राप्त तथ्यांक जोड्दा न्युयोर्क सिटीमा अमेरिकन नागरिकता लिने नेपालीमूलका व्यक्तिको संख्या ८ हजारको हाराहारीमा रहेको छ ।

यद्यपी प्राइमरीमा कुनै दलमा दर्ता भएका रजिस्टर्ड डेमोक्र्याट्स वा रजिस्टर्ड रिपब्लिकनहरुलेमात्र मतदान गर्न पाउने भएकाले प्राइमरीमा भाग लिनका लागि योग्य नेपाली मूलका मतदाताको संख्या भने कम रहेको छ । नेपाली मूलका रजिस्टर्ड डेमोक्र्याट्स वा रजिस्टर्ड रिपब्लिकनहरुको संख्या न्युयोर्कमा कति रहेको छ भन्ने यकिन छैन । तर ठूलो संख्यामा नेपालीहरुले यसरी आफूलाई डेमोक्र्याट्स वा रिपब्लिकनका रुपमा रजिष्टर्ड गराएका छैनन् । उनीहरुले नोभेम्बरको चुनावमा भने मतदान गर्न पाउनेछन् ।

अहिलेसम्म  अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ५५ हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । जसमध्ये झण्डै १५ प्रतिशत न्युयोर्क निवासी रहेका छन् । कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा ४ हजार ८ सय ६ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका छन् ।

आर्थिक बर्ष सन् २०२० को पहिलो तीनमहिनामा १६ सय ४४ जना नेपालीहरुले अमेरिकी नागरिकता प्राप्त गरेका थिए भने दोश्रो तीनमहिनामा १३ सय ५४ जना नेपालीहरुले अमेरिकी नागरिकता प्राप्त गरे । तेश्रो तीनमहिनामा ६४६ जना नेपालीहरुले अमेरिकी नागरिकता पाउन सफल भए भने चौथो तीनमहिनामा ११ सय ६२ जना नेपालीहरुले अमेरिकी नागरिकता पाए ।

आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।

सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए  । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।

त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।

२०१४ सम्म कति नेपालीले लिए अमेरिकन नागरिकता ?

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com