Follow @khasokhasmag

‘सबै डिभी विजेताको प्रकृया समयमै हुनुपर्ने सुनिश्चित गर्न समर्पित छु’: अमेरिकी सांसद डच रुपर्सबर्गर


प्रकाशित मिति : असार ६, २०७८ आईतबार

अमेरिकाका प्रभावशाली डेमोक्रेटिक सांसद डच रुपर्सबर्गरले सबै डिभी विजेताको प्रकृया समयमै हुनुपर्ने सुनिश्चित गर्न आफू समर्पित भएर लागिपरेको बताएका छन् । मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने डेलिगेट ह्यारी भण्डारीसँगको सञ्चारका क्रममा अमेरिकाको प्रतिनिधिसभामा प्रभावशाली सांसद रुपर्सबर्गरले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

भिसा अन्तरवार्ताका लागि अप्वाइन्ट नपाएका सन् २०२१ का नेपाली डिभी विजेताहरुको आग्रहपछि डेलिगेट भण्डारीले अमेरिकी अध्यागमनका सन्दर्भका नीति नियम निर्माणमा प्रभाव राख्ने सांसद डच रुपर्सबर्गरलाई सम्पर्क गरेर डिभी २०२१ का विजेताहरुको भिसा पाउने समयसिमा समाप्त नहुँदै कुनै उपायका लागि अनुरोध गरेका थिए । आफ्नो कार्यालयमा सयौं नेपाली डिभी विजेताहरुले सम्पर्क गरेको र उनीहरुका पक्षमा आफूले संघीय पार्टनरहरुसँग सम्पर्क गरेको भण्डारीले जानकारी दिएका छन् ।

डच रुपर्सबर्गर र ह्यारी भण्डारी

ट्रम्प प्रशासनका पालामा लगाइएको प्रतिबन्धका कारण अमेरिका आउन नपाएका डिभी विजेता आप्रवासीहरुको राहतका लागि समेत आफूले मनमिल्ने सहकर्मीहरुसँग काम गरिरहेको सांसद डच रुपर्सबर्गरले भण्डारीलाई जानकारी दिएका छन् । आप्रवासीलाई मन नपराउने सार्वजनिक नीतिहरु वा कोरोनासँग सम्बन्धित प्रतिबन्धहरुका कारण हजारौं आकांक्षीहरुको सपना चकनाचुर भएको बताउँदै सांसद रुपर्सबर्गरले नेपाली समुदायको हितका लागि आफ्नो ढोका सधै खुला रहेको बताएका छन् ।

सांसद रुपर्सबर्गर अमेरिकामा रहेका टीपीएसवाहक लगायतका कागजपत्रविहिनलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने अमेरिकन नागरिकता ऐनका समेत सशक्त को स्पोन्सर हुन् । साथै उनी लगायतका सांसदहरुले नेपाल लगायतको टीपीएसको अवधि थप्नुपर्ने माग गर्दै हालै राष्ट्रपति जो बाइडेनलाई पत्र समेत पठाएका छन् । नेपाल लगायतको टीपीएसको अवधि अब झण्डै साढे ३ महिनापनि बाँकी छैन । सांसद रुपर्सबर्गरले नेपाल लगायतका देशको टीपीएसको अवधि थप्न उनीहरुको योग्यता मूल्यांकन पुनरावलोकनका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी समक्ष अनुरोध गरेको भण्डारीसँगको संचारमा जानकारी दिएका छन् ।

डेलिगेट भण्डारीले अमेरिकामा रहेका नेपालीहरुको टीपीएसको अवधि थप्नका लागि पहलका लागि समेत रुपर्सबर्गर समक्ष आग्रह गरेका थिए । रुपर्सबर्गरले मेरिल्याण्डको दोश्रो कँग्रेसनल डिस्ट्रिक्टबाट सन् २००३ देखि क्यापिटल हिलमा प्रतिनिधित्व गर्दै आएका छन् । ७५ बर्षीय रुपर्सबर्गरले यस अगाडि पनि आप्रवासीको हितका कैयन बिलहरु संसदमा स्पोन्सर गरेका छन् ।

कोरोनाको महामारीका कारण अमेरिकी सरकारले डाइभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राखेपछि २०२१ का डिभी विजेताहरुले भिसा पाउन सकेका छैनन् । अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउन सुरु गर्ने प्रावधान रहेकाले वर्तमान प्रावधान अनुशार सेप्टेम्बर अन्तिमसम्म भिसा नपाएका हरुले त्यसपछि भिसा पाउनसक्ने छैनन् ।

आर्थिक बर्ष २०२१ मा ३८०१ जना नेपालीहरुले डिभी लोटरी जितेकोमा अहिलेसम्म कसैले पनि भिसा पाउन सकेका छैनन् ।

गतबर्ष कोरोनाको महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन रोक लगाउँदै डिभी विजेताहरुको भिसामा समेत प्रतिबन्ध लगाएका थिए । तर अदालतले डिभी विजेताहरुलाई भिसा जारी गर्न सरकारलाई आदेश दिएपछि गतबर्षको सेप्टेम्बरमा डिभी विजेताहरुले भिसा प्राप्त गर्न सफल भएका थिए । उनीहरुले भिसा पाएपनि अध्यागमन रोकका कारण फेब्रअरी अन्तिमसम्म अमेरिका आउन भने पाएका थिएनन् । फेबु्रअरीमा अदालतले ट्रम्पको आप्रवासन रोक खारेज गरिदिएपछि उनीहरु अमेरिका आउन पाएका थिए ।

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । प्राथमिक डिभी विजेताहरु र उनीहरुका परिवारका सदस्यहरुसहित गतबर्ष २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सफल भएका थिए ।

तर आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुको परीदृश्य सन् २०२० का डिभी विजेताहरुको तुलनामा अझ खराब भएको छ । प्रत्यक्ष रुपमा कुनै आप्रवासन रोक नभएपनि अमेरिकी सरकारको विदेश मन्त्रालयले दूतावासहरुलाई डाईभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राख्न निर्देशन दिएपछि लोटरी विजेताहरुले भिसा पाउन सकेका छैनन् । अहिलेकै अवस्था कायम रहेमा सन् २०२१ का डिभी विजेताहरुले २०२० का विजेताले जति पनि भिसा नपाउने देखिएको छ ।

पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए ।

उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले सन् २०१९ को अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com