नेपाल आइपुग्यो स्वास्थ्य सामाग्री सहित अमेरिकी सहयोगको पछिल्लो खेप, प्रतिक्षा भ्याक्सिनको


प्रकाशित मिति : असार ५, २०७८ शनिबार

नेपालका स्वास्थ्यकर्मीहरूको लागि विभिन्न अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू सहित अमेरिकाका तर्फबाट पछिल्लो खेप सहयोग आज नेपाल आइपुगेको छ। यो कोरोना महामारी रोक्न र जीवन बचाउन अमेरिकी अन्तरराष्ट्रिय बिकास नियोग तथा अमेरिकी सरकारले नेपाललाई निरन्तर दिंदै आएको सहयोगको पछिल्लो खेप हो।

यो सहयोगमा पल्स अक्सिमिटर र व्यक्ति संरक्षणका पोशाक तथा उपकरणहरु रहेका छन् । अमेरिकी सरकारको संघीय आपतकालिन व्यवस्थापन एजेन्सी फेमाले प्रदान गरेको ४ लाख केएन ९५ मास्कहरु र क्यालिफोर्नियाको गभर्नर अफिसले प्रदान गरेको साढे ४ लाख डिस्पोजेवल गाउन समेत यो सहयोगमा समावेश रहेका छन् ।

उक्त सामाग्रीहरु बोकेर क्यालिफोर्नियाको ट्राभिल एयर फोर्स बेसबाट उडेको बिमान आज काठमाडौं आइपुगेको हो ।

अमेरिकाले नेपाललाई खोप सहयोग गर्ने घोषणा समेत गरिसकेको छ । अमेरिकाले जुनको पहिलो साता नेपालसहित दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका १६ देशलाई ७ मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको थियो ।

तर यो भ्याक्सिन अमेरिकाले नेपालमा कहिले पठाउने र कति पठाउने भन्ने सन्दर्भ अझै स्पष्ट छैन । अमेरिकाले नेपाललाई कति डोज भ्याक्सिन र कुन भ्याक्सिन दिने भन्ने फ्रेमवर्कमा उल्लेख गरेको थिएन ।

जुनको अन्तिमसम्ममा ८० मिलियन डोज भ्याक्सिन विश्वमा वितरण गर्ने राष्ट्रपतिको योजना अनुरुप आगामी साताहरुमा २५ मिलियन भ्याक्सिनहरु सम्बन्धित देशहरुमा पुराइने बताइएपनि अहिलेसम्म नेपालले उक्त भ्याक्सिन प्राप्त गर्न भने सकेको छैन । दक्षिण कोरिया लगायतका केही देशका लागि भने अमेरिकाले भ्याक्सिन पठाइसकेको छ ।

नेपालमा आष्ट्राजेनेका अन्तरगतको कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज लगाएका लाखौंले दोश्रो डोज लगाउन पाएका छैनन् । भ्याक्सिन वितरणमा अनियमितता भइरहेका खबरहरु आएका छन् भने अब दोश्रो डोज पाउने आशामा रहेकाहरुले समेत आशामार्न थालेका छन् ।

अमेरिकाले नेपाललाई तत्काल प्रदान भनिएको भ्याक्सिनमा पनि आष्ट्राजेनेका अन्तरगतको भ्याक्सिन छैन । ६० मिलियन आष्ट्राजेनेका डोजहरुले एफडीएको सहमति कुरिरहेकाले अहिले विश्वका विभिन्न देशमा प्रदान गरिने २५ मिलियन डोजहरु अमेरिकामा स्वीकृत जोन्सन एण्ड जोन्सन, फाइजर र मोडेर्नाबाटै उपलब्ध गराइने अमेरिकाले जनाएको छ ।

सबै तस्वीर:  युएसएआईडी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com