रिपब्लिकनविना बजेट प्रकृयाबाट कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रतिबद्धता


प्रकाशित मिति : जेष्ठ २८, २०७८ शुक्रबार

अमेरिकी सिनेटर क्रिस्टेन जिलिब्राण्डले कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजान रिपब्लिकनहरुको समर्थन विना नै बजेट प्रकृया अपनाउने प्रतिबद्धता जनाएकी छिन् । न्युयोर्कका सांसदहरु यभेट क्लार्क, अलेक्जान्द्रीया ओकासियो लगायतले गतमहिना यस्तैखालको प्रतिबद्धता जनाएलगत्तै जिलिब्राण्डको प्रतिबद्धता आएको हो ।

गत मे महिनामा गरिएको एउटा सर्वेक्षणमा दुई तिहाई अमेरिकनहरु डाका र टीपीएसवाहकलाई अमेरिकी ग्रिनकार्ड र नागरिकताको बाटोमा लैजाने कानूनको पक्षमा देखिएका थिए । वर्तमान सिनेटमा ५० जना रिपब्लिकन सांसदहरुको मत र उपराष्ट्रपति कमला ह्यारिसको टाइब्रेकमतसहित ५१ डेमोक्र्याट्सहरुको मत रहेको अवस्थामा सामान्य प्रकृयाबाट अध्यागमन सुधारको बिल पारित हुनमा समस्या रहेको छ ।

बजेट प्रकृया नामको संसदीय प्रकृयाबाट सामान्य बहुमतबाट पनि बिल पारित गर्न सकिन्छ । यसो गर्दा सिनेटबाट बिल पारित हुनमा डेमोक्र्याट्सहरुको एकमत भएमा रिपब्लिकनहरुको समर्थन आवश्यक पर्दैन । बजेट प्रकृयाले फिलिबस्टर ६० मत चाहिने प्रावधानलाई बाइपास गर्छ ।

अमेरिकी सिनेटमा न्युयोर्कबाट प्रतिनिधित्व गर्ने सिनेटर जिलिब्राण्ड

प्राविधिक रुपमा बजेट प्रकयाबाट पारित हुने बिल संघीय खर्च र आम्दानीलाई प्रभाव पार्ने बिल हुनुपर्छ । अध्यागमन सुधारले महत्वपूर्ण आर्थिक प्रभाव पार्ने भएकाले अध्यागमन सुधारको बिल पनि बजेट प्रकृयाबाट पारित गर्न सकिने कैयन विज्ञ र शोधकर्ताहरुको तर्क रहेको छ ।

सिनेटर जिलिब्राण्ड ११ मिलियन कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने अमेरिकी नागरिकता ऐनकी वास्तविक कोस्पोन्सर हुन्, जसको नेतृत्व सिनेटर मेनेन्डोजले गरेका छन् । त्यस्तै सिनेटर प्याडिलाले नेतृत्व गरेको अत्यावश्यक कामदारका लागि नागरिकता ऐनकी पनि जिलिब्राण्ड को स्पोन्सर हुन् ।

कोरोना महामारीमा समेत न्युयोर्कमा कागजपत्रविहिनहरु फ्रन्टलाइनमा खटिएको उल्लेख गर्दै अत्वावश्यक कामदारहरु, डाका र टीपीएसवाहकलाई अमेरिकी नागरिकताको बाटोमा लैजान कदम चाल्ने बेला आएको उनले बताइन् । समुदायलाई बलियो बनाउने खालको निष्पक्ष, पारदर्शी र न्यायपूर्ण अध्यागमन प्रणाली निर्माणका लागि आफू प्रतिबद्ध रहेको उनको भनाई छ ।

न्युजर्सीका डेमोक्रेटिक सिनेटर रोबर्ट मेनेन्डेज र क्यालिफोर्नियाबाट डेमोक्रेटिक प्रतिनिधिसभा सदस्य लिण्डा सान्चेजले  ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने खाकासहितको बृहत अध्यागमन बिल  फरबरीको दोश्रो साता संसदमा सार्वजनिक गरेका थिए ।

अमेरिकी नागरिकता ऐन २०२१ नाम दिइएको उक्त बिलमा ११ मिलियन कागपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विषय समावेश छ ।

बिलमा के छ ?

बिलमा जनवरी १, २०२१ सम्म अमेरिकामा रहेका कागजपत्रविहिन आप्रवासीहरु यो बाटोबाट ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुने उल्लेख छ । त्यस्तै आप्रवासीलाई सम्बोधन गर्ने एलियन शब्दलाई हटाएर गैर नागरिक शब्द राखिएको छ ।

डाका र टीपीएसले समेटेकाहरु तथा कृषि कामदारहरु अन्य मापदण्ड पूरा गरेको खण्डमा तत्कालै ग्रिनकार्डका लागि योग्य हुनसक्नेछन् । अरुका लागि ग्रिनकार्ड प्राप्त गर्न ५ बर्ष अस्थायी स्टाटसमा बस्नुपर्ने हुनसक्छ ।

 

नागरिकता पाउन ८ बर्ष

बिलको केन्द्रमा रहेको मुख्य लाखौं कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने नै हो । त्यसका लागि ८ बर्षको बाटो बनाइनेछ । अर्थात् उनीहरुले नागरिकता प्राप्त गर्न ८ बर्ष लाग्नसक्छ ।

कृषि कामदार, डाका र टीपीएसले समेटेकाहरुले तत्काल ग्रिनकार्डका लागि आवेदन दिनसक्ने र ग्रिनकार्ड पाएको ५ बर्षमा नागरिकता आवेदन दिनसक्ने भएपनि अन्यका लागि भने ८ बर्षको बाटो हुनेछ ।

योग्य आवेदकले सुरुमा ५ बर्षको अस्थायी स्टाटस प्राप्त गर्नेछन् । त्यसका लागि कर तिरेको, अपराध नगरेको लगायतका मापदण्डहरु पूरा गर्नुपर्नेछ ।

योग्य कागजपत्रविहिनहरुले ५ बर्षपछि अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नेछन् । सामान्यतया अरु व्यक्तिले ग्रिनकार्ड प्राप्त भएको ५ बर्षमा अमेरिकी नागरिकताका लागि आवेदन दिन योग्य हुने भएपनि प्याकेजले समेटेकाहरु भने ३ बर्षमा नै नागरिकताका लागि आवेदन दिन योग्य हुनेछन् । यसरी ग्रिनकार्ड हुँदै नागरिकता प्राप्त गर्दासम्म ८ बर्ष लाग्न सक्नेछ ।

को को योग्य हुनेछन्?

बिल अनुशार बाल्यकालमा अमेरिका आएका र डाकाले समेटेका कागजपत्रविहिनहरु, टीपीएसले समेटेकाहरु र अत्यावश्यक कामदारहरु यो प्याकेज अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनसक्ने छन् ।

जनवरी १ सम्म अमेरिकामा आइसकेकाहरुलाई बिलले समेटेको छ ।

निश्चित अवधिभन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिनहरु पनि यो बिल अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनसक्नेछन् । त्यसो भएमा जनवरी १ भन्दा अगाडि अमेरिका आएका एसाइलम पेन्डिंग रहेका लगायत सबै कागजपत्रविहिनहरु ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनसक्नेछन् ।

बिल पारित भएमा अमेरिकाको इतिहासमा सन् १९८६ यताकै बृहत प्याकेज हुनेछ । सन् १९८६ मा राष्ट्रपति रोनाल्ड रेगनका पालामा अध्यागमन सुधार तथा नियन्त्रण ऐन १९८६ ल्याइएको थियो । उक्त बिलले ३० लाख कागजपत्रविहिनलाई वैद्य स्टाटस प्रदान गरेको थियो ।

को हुन् ११ दशमलव ९ मिलियन कागजपत्रविहिन?

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् २०१८ को डिसेम्बरमा निकालेको एउटा तथ्यांक अनुशार अमेरिकामा सन् २०१५ को जनवरी १ अगाडि अमेरिका आएका ११ दशमलव ९६ मिलियन कागजपत्रविहिनहरु रहेका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक सन् २०१५ पछाडिको सार्वजनिक भएको छैन ।

झण्डै ११ मिलियन कागजपत्रविहिनहरुमध्ये झण्डै ५ मिलियन मेक्सिकनहरु रहेका छन् । झण्डै २ मिलियन मध्य अमेरिकनहरु रहेका छन् भने झण्डै डेढ मिलियन एसियनहरु रहेका छन् । कागजपत्रविहिन ११ मिलियनमध्ये झण्डै दुई तिहाई १० बर्षभन्दा बढी अमेरिकामा बस्दै आएकाहरु छन् । ५ बर्षभन्दा कम समयदेखि अमेरिकामा बसेका कागजपत्रविहिनहरु २० प्रतिशत रहेका छन् ।

झण्डै ८ लाख कागजपत्रविहिनलाई डाकाले समेटेको छ । झण्डै ४ लाखलाई टीपीएसले समेटेको छ । डाकाले समेटेका नेपालीहरु झण्डै ५ दर्जन रहेका छन् भने टीपीएसले समेटेकाहरु झण्डै ९ हजार छन् । अध्यागमन अदालतमा एसाइलम पेन्डिंग रहेका नेपालीहरु झण्डै ४ हजार रहेका छन् । यदि बृहत अध्यागमन बिल पारित भएमा अमेरिकामा रहेका २५ हजार भन्दा धेरै नेपालीहरु ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताका लागि योग्य हुनसक्नेछन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com