अमेरिकाबाट यात्रा गर्न सकिने देशको सुची परिवर्तन, नेपाल अझै यात्रा गर्न नहुने सुचीमा


प्रकाशित मिति : जेष्ठ २६, २०७८ बुधबार

अमेरिकाको सीडीसीले यात्रा गर्न सकिने देशहरुको सुचीमा केही परिवर्तन गर्दै यात्रा सुझाव केही खुकुलो बनाएको छ । जापान लगायतका ५ दर्जनभन्दा बढी मुलुकलाई यात्रा नगर्ने सुचीबाट पूर्णरुपमा भ्याक्सिन लगाएपछि यात्रा गर्न सकिने देशको सुचीमा राखिएको छ । नयाँ सुची अनुशार ६४ वटा देशलाई भ्याक्सिन लगाएर यात्रा गर्न सकिने देशको सुचीमा राखिएको छ ।

जापानमा जुलाई २३ बाट ओलम्पिक सुरु हुने तयारी भइरहँदा अमेरिकाले जापानका लागि यात्रा सिफारिस केही खुकुलो बनाएको हो । गत मे २४ मा अमेरिकी विदेशमन्त्रालयले अमेरिकनहरुलाई जापानको यात्रा नगर्न प्रोत्साहन गरेको थियो । तर नयाँ सुची अनुशार तेश्रो स्तरमा राख्दै भ्याक्सिन लगाएकाहरुले यात्रा गर्नसक्ने तर भ्याक्सिन नलगाएकाहरुले अत्यावश्यकबाहेकको यात्रा नगर्न सुझाव दिइएको छ ।

टेकु स्थीत शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर श्रवण कुमार मण्डल कोरोना संक्रमित आफ्ना आमा र बुबाको उपचार गर्दै । फोटो:  दीपेन्द्र ढुंगानाको इन्स्टाग्रामबाट

नेपाल लगायतका ६१ देशलाई भने यात्रा गर्न नहुने देशको सुचीमा राखिएको छ । अति उच्च जोखिम भएका यी देशहरुमा भ्याक्सिन नलगाएकाहरुलाई यात्रा नगर्न सुझाव दिइएको छ भने भ्याक्सिन लगाएकाहरुलाई पनि अत्यावश्यक भएमामात्र यात्रा गर्न सुझाव दिइएको छ । दक्षिण एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका कैयन मुलुकहरु यो सुचीमा छन् ।

भुटान लगायतका २१ देशलाई भने ठीक्कको जोखिम भएका मुलुकको सुचीमा राखिएको छ । यी देशमा यात्रा गर्नका लागि पनि पूर्णरुपमा भ्याक्सिन लगाएको हुनुपर्ने सुझाव दिइएको छ । सिकिस्त बिरामी हुने जोखिममा भएका भ्याक्सिन नलगाएकाहरुलाई यी देशहरुमा अत्यावश्यक बाहेकका यात्रा नगर्न सुझाव दिइएको छ । चीन लगायतका कैयन मुलुकलाई कम जोखिम भएका देशमा सुचीकृत गरिएपनि भ्याक्सिन लगाएरमात्र यात्रा गर्न सुझाव दिइएको छ ।

अफगानिस्तान लगायतका ४४ देशहरुले कोरोना संक्रमणको रिपोर्ट सही तरिकाले सार्वजनिक नगरेकाले अवस्था अज्ञात भन्दै सकभर यात्रा नगर्न र यात्रा गर्नै परे भ्याक्सिन लगाएरमात्र गर्न सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com