भिसा नपाएपछि हजारौं डिभी विजेताका तर्फबाट बाइडेन प्रशासनबिरुद्ध मुद्दा दायर


प्रकाशित मिति : जेष्ठ २५, २०७८ मंगलबार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन रोक खारेजपछि बाइडेन प्रशासनमा पनि भिसा नपाएपछि हजारौं डिभी विजेताका तर्फबाट बाइडेन प्रशासनबिरुद्ध मुद्दा दायर गरिएको छ । आर्थिक बर्ष २०२१ का २४ हजार ८९ डिभी विजेताहरुका तर्फबाट वासिंटन डिसीमा रहेको अदालतमा मुद्दा दायर गरिएको कानून व्यवसायी कुर्तिस मोरिसनले ट्वीट गरेका छन् ।

कोरोनाको महामारीका कारण अमेरिकी सरकारले डाइभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राखेपछि २०२१ का कैयन डिभी विजेताहरुको अमेरिका आउने मौका गुम्ने देखिएको हो । सेप्टेम्बरको अन्तिमसम्म भिसा पाइसक्नुपर्ने प्रावधान रहेका कारण र अब ४ महिना पनि बाँकी नरहेको अवस्थामा डाइभर्सिटी भिसालाई प्राथमिकता दिन आग्रह गर्दै मुद्दा दायर गरिएको हो । अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउन सुरु गर्ने प्रावधान रहेकाले वर्तमान प्रावधान अनुशार सेप्टेम्बर अन्तिमसम्म भिसा नपाएका हरुले त्यसपछि भिसा पाउनसक्ने छैनन् ।

१४१ देशका डिभी विजेताहरुका तर्फबाट मुद्दा दायर गरिएको जनाइएको छ । आर्थिक बर्ष २०२० का डिभी विजेताहरुको कानूनी लडाई जारी रहेकै अवस्थामा नयाँ मुद्दा दायर गरिएको हो । अदालतले सन् २०२० का डिभी विजेताहरुका थप ९ हजार भिसा सुरक्षित राख्न आदेश दिएपनि अमेरिकी सरकारले यो आदेशको कार्यान्वयन गरेको छैन ।

भिसा पाउनुपर्ने अवधि घर्कदै गएपछि र काठमाडौं स्थीत अमेरिकी दूतावासले डिभी विजेताहरुलाई भिसा जारी नगरेपछि आर्थिक बर्ष सन् २०२१ का नेपाली विजेताहरु पनि चिन्तित र अन्यौलग्रस्त छन् । आर्थिक बर्ष २०२१ मा ३८०१ जना नेपालीहरुले डिभी लोटरी जितेकोमा अहिलेसम्म कसैले पनि भिसा पाउन सकेका छैनन् ।

गतबर्ष कोरोनाको महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन रोक लगाउँदै डिभी विजेताहरुको भिसामा समेत प्रतिबन्ध लगाएका थिए । तर अदालतले डिभी विजेताहरुलाई भिसा जारी गर्न सरकारलाई आदेश दिएपछि गतबर्षको सेप्टेम्बरमा डिभी विजेताहरुले भिसा प्राप्त गर्न सफल भएका थिए । उनीहरुले भिसा पाएपनि अध्यागमन रोकका कारण फेब्रअरी अन्तिमसम्म अमेरिका आउन भने पाएका थिएनन् । फेबु्रअरीमा अदालतले ट्रम्पको आप्रवासन रोक खारेज गरिदिएपछि उनीहरु अमेरिका आउन पाएका थिए ।

अमेरिकी दूतावास काठमाडौं

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । प्राथमिक डिभी विजेताहरु र उनीहरुका परिवारका सदस्यहरुसहित गतबर्ष २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सफल भएका थिए ।

तर आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुको परीदृश्य सन् २०२० का डिभी विजेताहरुको तुलनामा अझ खराब भएको छ । प्रत्यक्ष रुपमा कुनै आप्रवासन रोक नभएपनि अमेरिकी सरकारको विदेश मन्त्रालयले दूतावासहरुलाई डाईभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राख्न निर्देशन दिएपछि लोटरी विजेताहरुले भिसा पाउन सकेका छैनन् । अहिलेकै अवस्था कायम रहेमा सन् २०२१ का डिभी विजेताहरुले २०२० का विजेताले जति पनि भिसा नपाउने देखिएको छ ।

पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए ।

उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले सन् २०१९ को अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए ।

नेपालमा कोरोनाको महामारी बढेपछि जारी लकडाउनका कारण अप्रिल २९ देखि अमेरिकी दूतावास काठमाडौंले भिसा अप्वाइन्टहरु रद्द गरेको छ । अन्य गैरआप्रवासी भिसा जारी गर्न रोकेको बेलामा समेत विना अन्तरवार्ता भिजिटर भिसाको नविकरण जारी राखेको अमेरिकी दूतावास काठमाडौंले अप्रिलमा मात्र ५०९ जनाको को भिजिटर भिसा नविकरण गरेको थियो ।

अधिकांश भिजिटर भिसा नविकरण भएपनि आपतकालिन अवस्थामा अमेरिका भ्रमण गर्नुपर्ने अवस्था भएकाहरुका लागि नयाँ भिसा पनि जारी गरिएको जनाइएको छ ।

आर्थिक बर्ष २०२१ का विजेताको टुंगो नलागेपनि डिभी २०२२ का विजेतालाई यथाशीघ्र डीएस २६० फर्म भर्न अमेरिकी दूतावासले काठमाडौंले सुझाव दिएको छ । दूतावासले भनेको छ तपाईंहरू मध्ये जतिजना डिभी २०२२को लागि छनौट हुन सफल हुनुभएको छ, हामी तपाईंलाई अनलाइनमा रहेको डीएस २६० फर्म यथाशीघ्र भर्नुहुन आग्रह गर्दछौं।

यो फर्म आवेदक आँफैले अनलाइनमा निशुल्क भर्न सक्ने र यसको लागि कुनै भिसा कन्सल्टेन्सीको सहयोग जरूरत नपर्ने पनि दूतावासले स्मरण गराएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com