मैले भ्याक्सिनको पूर्ण डोज लगाएँ, के मैले कोरोना परीक्षण गराउनुपर्छ ?
नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै
पर्दैन । तपाईले केही अपवादको अवस्थामा बाहेक नियमित परीक्षण गराउन आवश्यक छैन । अमेरिकन सीडीसीको पछिल्लो निर्देशिका अनुशार भ्याक्सिनको पूर्ण डोज लगाएकाहरुले कोरोना परीक्षण गराउन आवश्यक छैन । त्यस्तै पूर्ण डोज लगाएकाहरु कोरोना संक्रमितको नजिकमा गएको भएतापनि क्वारेन्टीन बस्न वा परीक्षण गराउन आवश्यक छैन ।
तर भ्याक्सिन लगाएका व्यक्तिमा पनि ज्वरो आउने, खोकी लाग्ने, थकान महसुस हुने जस्ता लक्षणहरु देखिएको खण्डमा भने कोरोना परीक्षण गराउनुपर्छ । त्यस्तै यात्रा गर्नुपर्ने अवस्थामा वा नेगेटिभ कोरोना रिपोर्ट आवश्यक पर्ने कुनै प्रयोजनका लागि भने परीक्षण गराउनुपर्ने हुनसक्छ ।

भ्याक्सिन लगाएकाहरुमा कोरोना संक्रमणबाट सिकिस्त हुने सम्भावना असाध्यै कममात्र रहेको अध्ययन निष्कर्षका आधारमा सीडीसीको पछिल्लो निर्देशिका आएको हो । पूर्णरुपमा भ्याक्सिन लगाएको व्यक्तिमा कोरोना संक्रमण भइहालेपनि अरुलाई सार्ने सम्भावना निकै कम रहने र लक्षण पनि एकदमै साधारणमात्र हुने अध्ययनको निष्कर्ष रहेको छ ।
सीडीसीले भ्याक्सिन लगाएकाहरुले कार्यस्थलका लागि समेत नियमित परीक्षण नगरेपनि हुने छुट दिएको छ । तर कतिपय कम्पनीहरुले कामदारहरुको भ्याक्सिनको अवस्था ट्रयाक गरेका छैनन् । होमलेस सेल्टर, जेल लगायतका स्थानमा बस्ने वा काम गर्नेहरुलाई भ्याक्सिन लगाएको भएतापनि परीक्षण गर्न सुझाव दिइएको छ ।

त्यस्तै पछिल्लो निर्देशिका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीको हकमा पनि लागु हुनेछैन । यी क्षेत्रमा काम गर्ने कामदारहरुलाई पूर्णरुपमा भ्याक्सिन लगाएको भएतापनि परीक्षण आवश्यक पर्नसक्छ । त्यस्तै निर्देशिका देश अनुशार समेत फरक हुनसक्छ ।
विदेशबाट अमेरिका फर्कनेहरुले अहिलेपनि भ्याक्सिनको अवस्था जे सुकै भएपनि विमान चढ्नु अगाडि नेगेटिभ कोरोना रिपोर्ट पेश गर्न आवश्यक छ । त्यस्तै कोरोना संक्रमण पुष्टी भएको कुनै पनि व्यक्ति १० दिनसम्म आइसोलेसनमा बस्नुपर्छ ।





