‘नेपालमा कोरोनाको नयाँ भेरियन्टबारे अवगत छैनौं’ – विश्व स्वास्थ्य संगठन
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको भन्नेबारे आफूहरु अवगत नरहेको विश्व स्वास्थय संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनको नेपाल हेर्ने एजेन्सीले ट्वीट गर्दै भनेको छ – ‘नेपालमा सार्स कोभ २ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु अल्फा, डेल्टा र कप्पा हुन् । यी तीन मध्ये नेपालमा हाल सकृय रहेको भेरियन्ट डेल्टा हो ।’
नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट Delta (B.1.617.2) हो । @mohpnep @PandavRajesh https://t.co/SPib5Tqc8a
— WHO Nepal (@WHONepal) June 3, 2021
नेपालमा हालसम्म यूकेमा देखिएको अल्फा भेरियन्ट र भारतमा देखिएका डेल्टा तथा कापा भेरियन्ट पुष्टि भएको छ। नेपालमा दोस्रो लहरका क्रममा उच्च सङ्क्रमण दर देखिनुको कारण डेल्टा भेरिअन्ट नै रहेको स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन्।
बेलायतको पत्रिका द डेली मेलले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार प्रकाशित गरेको थियो ।
Thursday's Mail: "‘Nepal variant’ threat to our holidays" #BBCPapers #TomorrowsPapersToday https://t.co/7FuHsAa3Vz pic.twitter.com/hqXGjUfQ79
— BBC News (UK) (@BBCNews) June 2, 2021
नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरिअन्ट बेलायतीहरुको बिदाका निम्ति खतरनाक हुन सक्ने सामाचारमा उल्लेख गरिएको छ । नेपालबाट सुरु भएको ठानिएको नयाँ प्रकार युरोपमा पनि फैलिसकेको र खोपहरूको प्रभावकारिताबारे पनि वैज्ञानिकहरूको आशङ्का रहेको समाचारमा उल्लेख छ ।
युरोपमा फैलिएको भेरियन्टका कारण पोर्चुगललाई ग्रिन ट्राभल लिष्टबाट हटाइन सकिने डेली मेलले उल्लेख गरेको छ । बेलायतीहरुको विदा मनाउन जाने एउटा मुख्य गन्तब्य पोर्चुगल समेत हो ।
वैज्ञानिकहरुले बेलायतका मन्त्रीहरुलाई नयाँ भेरियन्टबारे सचेत गराएको बताइएपनि आपतकालिन अवस्थाका लागि वैज्ञानिकहरुको सल्लाहकार समितिका सदस्यले भने कोरोनाका हजारौं भेरियन्टहरु भएकाले नयाँ भेरियन्ट देखिनासाथ बढाइचढाइ गर्न नहुने बताएका छन् । बेलायतका प्रधानमन्त्रीले आवश्यक परे मुलुकहरुलाई रातो सुचीमा राख्न पछि नपर्ने बताएका छन् ।





