भिसाको वातावरण बनाउन नेपाली डिभी विजेताको परराष्ट्रमन्त्रालयदेखि अमेरिकी सांसदसम्मलाई अनुरोध


प्रकाशित मिति : जेष्ठ १७, २०७८ सोमबार

भिसा पाउनुपर्ने अवधि घर्कदै गएपछि र काठमाडौं स्थीत अमेरिकी दूतावासले डिभी विजेताहरुलाई भिसा जारी नगरेपछि आर्थिक बर्ष सन् २०२१ का नेपाली विजेताहरु चिन्तित र अन्यौलग्रस्त भएका छन् । उनीहरुले स्वास्थ्यका मापदण्ड अपनाएर भिसा अन्तरवार्ताको वातावरण बनाउन विभिन्न निकायहरुलाई  अनुरोध समेत गरेका छन् ।

आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुले भिसा पाउनुपर्ने अवधि अब ४ महिनामात्र बाँकी छ । अर्थात् उनीहरुले आगामी सेप्टेम्बर अन्त्यसम्म भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ । अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउन सुरु गर्ने प्रावधान रहेकाले वर्तमान प्रावधान अनुशार सेप्टेम्बर अन्तिमसम्म भिसा नपाएका हरुले त्यसपछि भिसा पाउनसक्ने छैनन् ।

‘स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन तयार छौं’

आर्थिक बर्ष २०२१ मा ३८०१ जना नेपालीहरुले डिभी लोटरी जितेकोमा अहिलेसम्म कसैले पनि भिसा पाउन सकेका छैनन् । उनीहरुका तर्फबाट नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई एक खुलापत्र लेख्दै सन् २०२१ का डिभी विजेताहरुलाई भिसा अन्तरवार्ताको लागि वातावरण बनाइदिन दूतावाससमक्ष पहल गरिदिन आग्रह गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना परीक्षणको नेगेटिभ रिजल्ट, भ्याक्सिन लगाएको रिपोर्ट र अन्य सबै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर डिभी भिसा अन्तरवार्ता सुचारु गर्न उनीहरुले अनुरोध गरेका हुन् ।

यसैबीच मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले पनि नेपाली डिभी विजेताहरुका तर्फबाट आफ्नो कार्यालयमा समेत अनुरोधहरु आएको जानकारी दिएका छन् । सन् २०२१ का डिभी विजेताहरुको भिसा सेप्टेम्बरपछि पनि संरक्षण गर्ने वातावरण बनाउनका लागि आफ्नो तर्फबाट पहल गर्ने भण्डारीले जानकारी दिएका छन् ।

आफ्नो च्यानलमार्फत संघीय सांसदहरुसमक्ष डिभी विजेताहरुको गुनासो पुर्याउने उनको भनाई छ । कोरोनाको महामारीका कारण आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुलाई तत्काल भिसा जारी गर्न सम्भव भएन भनेपनि उनीहरुको भिसा आगामी आर्थिक बर्षका लागि संरक्षित गर्न सकिएमा राहत पुग्ने भण्डारीले बताए ।

डिभीको अवस्था गतबर्षको भन्दा अझ खराब

गतबर्ष कोरोनाको महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन रोक लगाउँदै डिभी विजेताहरुको भिसामा समेत प्रतिबन्ध लगाएका थिए । तर अदालतले डिभी विजेताहरुलाई भिसा जारी गर्न सरकारलाई आदेश दिएपछि गतबर्षको सेप्टेम्बरमा डिभी विजेताहरुले भिसा प्राप्त गर्न सफल भएका थिए । उनीहरुले भिसा पाएपनि अध्यागमन रोकका कारण फेब्रअरी अन्तिमसम्म अमेरिका आउन भने पाएका थिएनन् । फेबु्रअरीमा अदालतले ट्रम्पको आप्रवासन रोक खारेज गरिदिएपछि उनीहरु अमेरिका आउन पाएका थिए ।

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । प्राथमिक डिभी विजेताहरु र उनीहरुका परिवारका सदस्यहरुसहित गतबर्ष २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सफल भएका थिए ।

अमेरिकी दूतावास काठमाडौं

तर आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुको परीदृश्य सन् २०२० का डिभी विजेताहरुको तुलनामा अझ खराब भएको छ । प्रत्यक्ष रुपमा कुनै आप्रवासन रोक नभएपनि अमेरिकी सरकारको विदेश मन्त्रालयले दूतावासहरुलाई डाईभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राख्न निर्देशन दिएपछि लोटरी विजेताहरुले भिसा पाउन सकेका छैनन् । अहिलेकै अवस्था कायम रहेमा सन् २०२१ का डिभी विजेताहरुले २०२० का विजेताले जति पनि भिसा नपाउने देखिएको छ ।

२०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु

पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले सन् २०१९ को अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए ।

नेपालमा कोरोनाको महामारी बढेपछि जारी लकडाउनका कारण अप्रिल २९ देखि अमेरिकी दूतावास काठमाडौंले भिसा अप्वाइन्टहरु रद्द गरेको छ । अन्य गैरआप्रवासी भिसा जारी गर्न रोकेको बेलामा समेत विना अन्तरवार्ता भिजिटर भिसाको नविकरण जारी राखेको अमेरिकी दूतावास काठमाडौंले अप्रिलमा मात्र ५०९ जनाको को भिजिटर भिसा नविकरण गरेको थियो ।

अधिकांश भिजिटर भिसा नविकरण भएपनि आपतकालिन अवस्थामा अमेरिका भ्रमण गर्नुपर्ने अवस्था भएकाहरुका लागि नयाँ भिसा पनि जारी गरिएको जनाइएको छ ।

२०२२ का विजेतालाई यथाशीघ्र डीएस २६० फर्म भर्न सुझाव

आर्थिक बर्ष २०२१ का विजेताको टुंगो नलागेपनि डिभी २०२२ का विजेतालाई यथाशीघ्र डीएस २६० फर्म भर्न अमेरिकी दूतावासले काठमाडौंले सुझाव दिएको छ । दूतावासले भनेको छ तपाईंहरू मध्ये जतिजना डिभी २०२२को लागि छनौट हुन सफल हुनुभएको छ, हामी तपाईंलाई अनलाइनमा रहेको डीएस २६० फर्म यथाशीघ्र भर्नुहुन आग्रह गर्दछौं।

यो फर्म आवेदक आँफैले अनलाइनमा निशुल्क भर्न सक्ने र यसको लागि कुनै भिसा कन्सल्टेन्सीको सहयोग जरूरत नपर्ने पनि दूतावासले स्मरण गराएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com