नेपाललाई उपलब्ध आपतकालीन अमेरिकी सहयोग सहितको पहिलो उडान काठमाडौंमा
अमेरिकी सरकारले अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग युएसएआइडीमार्फत नेपाललाई उपलब्ध गराएको आपतकालीन सहयोग बोकेको पहिलो उडान आज काठमाडौं आइपुगेको छ। यो धेरैमध्येको पहिलो उडान भएको र स्वास्थ्य सम्बन्धी यी सामाग्रीहरूले नेपाली स्वास्थ्यकर्मी र जनतालाई अहिले बढ्दो क्रममा रहेको कोभीड १९ विरुद्धको लडाईंमा थप सहयोग गर्ने अमेरिकी दूतावास काठमाडौंको विश्वास छ ।
युएसएआइडीले नेपाल लगायत दक्षिण एसियामा बढेको कोभिड१९ को संक्रमणसँग लड्न विभिन्न अत्यावश्यक चिकित्सा सामाग्रीहरू उपलब्ध गराउन सुरु गरेको हो । महामारीको सुरुवातदेखि अहिलेसम्म अमेरिकाले नेपाललाई ५० दशमलव ९ मिलियन डलरको सहयोग गरिसकेको छ ।

युएसएआईडीमार्फत ४५ मिलियन डलर सहयोग उपलब्ध गराइएको छ । जसमा एकसय भेन्टिलेटर, १० हजार पीपीईसहित जीवनरक्षक औषधीहरु समेत छन् । त्यस्तै रक्षा मन्त्रालयमार्फत अमेरिकाले ५ दशमलव ८ मिलियन डलरको सहयोग उपलब्ध गराएको छ । मे १३ मा अमेरिकी रक्षा मन्त्रालयले नेपाललाई अक्सिजन सिलिण्डर र तरल अक्सिजन स्टोरगर्ने ट्यांकका लागि २ दशमलव ७५ मिलियन डलर सहयोगको घोषणा गरेको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमलाई २ बिलियन डलरको प्रतिबद्धता जनाएका थिए भने अर्को २ बिलियन डलर समेत प्रदान गर्ने भएका छन् । कोभ्याक्सबाट भ्याक्सिन डोनेशन प्राप्त गर्ने नेपाल एसियाकै पहिलो राष्ट्र हो । अमेरिकाले कोभ्याक्समार्फत ८० बिलियन डोज भ्याक्सिन दिने समेत घोषणा गरेको छ ।
फोटो : युएसएआइडी





