सामान्य र ठीक्कको लक्षण भएका कोरोना संक्रमितले १४ दिनपछि दोश्रोपटक परीक्षण गर्न नपर्ने
नेपाल लगायतका मुलुकमा कोरोना संक्रमणको दोश्रो लहर चलिरहँदा कोरोना संक्रमणबारे कैयन प्रश्नहरु पनि उब्जिएका छन् । एकपटक कोरोना संक्रमण देखिएपछि १४ दिनको क्वारेन्टीन अवधि पूरा भएकाहरुले दोश्रोपटक कोरोना परीक्षण गर्नुपर्ने वा नपर्ने विषयमा पनि कैयन जिज्ञासाहरु उत्पन्न भएका छन् ।
तर जनस्वास्थ्य विज्ञहरुले सामान्य र ठीक्कको लक्षण भएका कोरोना संक्रमितले कोरोना संक्रमण पुष्टी भइसकेपछि १४ दिनको क्वारेन्टीन अवधि पूरा गरेको अवस्थामा दोहोराएर कोरोना परीक्षण गराउनु नपर्ने सुझाव दिएका छन् । यद्यपी कोरोना संक्रमणबाट सिकिस्त भएकाहरुले यसबारेमा सम्बन्धित चिकित्सकको सुझाव लिनुपर्ने विज्ञहरुको भनाई छ । यात्रा वा कुनै कार्यस्थलको प्रयोजनका लागि भने यस्तो परीक्षण आवश्यक हुनसक्छ ।
भारतको कल्याण सिटीमा फोर्टिस अस्पतालका आईसीयु प्रमुख डाक्टर सन्दीप पाटिलले सामान्य वा ठीक्ककोमात्र लक्षण देखिएका वा लक्षण नदेखिएका कोरोना संक्रमितहरुले १४ दिनको क्वारेन्टीन अवधि पूरा गरेपछि आफूमा कोरोना संक्रमण नेगेटिभ भए नभएको सुनिश्चित गर्न अर्को परीक्षण गर्न नपर्ने विज्ञहरुको सुझावको व्याख्या गरेका छन् ।

गतबर्षसम्म भाइरस नयाँ भएका कारण र महामारीविदहरुले पनि यसको प्रभावबारे राम्रोसँग बुझिनसकेकाले कोरोना संक्रमित बिरामीहरुलाई डिस्चार्ज गर्नका लागि लगातार दुईवटा रिपोर्ट नेगेटिभ आउनुपर्ने र छातीको रेडियोग्राफ सफा आउनुपर्ने भएपनि अहिले त्यस्तो अवस्था नरहेको डाक्टर पाटिलको भनाई छ ।
सामान्य र ठीक्कको तथा पहिले नै लक्षण देखिएका संक्रमणहरुको सन्दर्भमा यदि संक्रमितलाई कुनै लक्षण देखिएको छैन र लगातार दिनदिनसम्म विना औषधी ज्वरो आएको छैन भने उसलाई संक्रमण पुष्टी भएको १० दिनपछि अर्को परीक्षण नगरिकनै पनि डिस्चार्ज गर्न सकिनेछ । तर त्यस्ता संक्रमितहरुलाई घरमा एकसातासम्म सेल्फ आइसोलेसनमा बस्न र कुनै लक्षण देखिए नदिखिएको लगायतको स्वास्थ्य अवस्थाको निगरानी गर्न डाक्टर पाटिलले सुझाव दिएका छन् ।
तर सिकिस्त भएका बिरामीका सन्दर्भमा भने यो लागु हुँदैन । उनीहरुका सन्दर्भमा डिस्चार्ज हुनका लागि सम्पूर्णरुपमा निको भएपछि र लक्षण देखिन छाडेपछिको नेगेटिभ रिपोर्ट आवश्यक पर्ने पाटिलको सुझाव छ । सामान्य वा लक्षण नदेखिएका संक्रमितको सन्दर्भमा सातौं वा आठौं दिनपछि भाइरस संक्रामक नहुने विज्ञहरुको भनाई छ ।

डाक्टर पाटिल भन्छन् – ‘यस्तो अवस्थामा भाइरस संक्रामक हुँदैन । तर व्यक्ति कोभिड मुक्त भइसकेपछि पनि मृत भाइरस वा मृत भाइरसको अंश पीसीआर परीक्षण गर्दा टिपिनसक्ने भएकाले यस्तो अवस्थामा पनि रिपोर्ट भने पोजेटिभ आउन सक्छ । तर यस्तो भाइरस अरुमा सर्दैन । त्यसैले यस्तो अवस्थामा परीक्षण गर्दा अनावश्यक रुपमा तनावमात्र बढाउने वा आइसोलेसनको अवधि बढाउने भएकाले यस्तो परीक्षण आवश्यक हुँदैन ।’
रिकभरीको अर्थ आम जनता, भाइरोलोजिस्ट र चिकित्सकका लागि फरक हुने डाक्टर पाटिल बताउँछन् । पाटिलका अनुशार चिकित्सक र भाइरोलोजिस्टका लागि सामान्य र ठीक्कको अवस्थाका संक्रमितका लागि निको हुने अवधि औषतमा १४ दिन हो भने सिकिस्त हुनेहरुका सन्दर्भमा लामो समय लाग्नसक्छ ।
भाइरस मरेपछि वा प्रभावहीन बनेपछि पनि त्यसका केही तत्व वा अंशहरु शरीरमा रहने तर त्यस्ता व्यक्तिले भाइरस भने नफैलाउने डाक्टर पाटिलले व्यख्या गरेका छन । तर संक्रमण निको भएका व्यक्ति पुन नयाँ भाइरसको सम्पर्कमा आउनसक्ने र भाइरसका नयाँ प्रकारहरु पनि देखिइरहेकाले निरन्तर मास्क लगाउन, सामाजिक दुरी कायम गर्न र हात धुन उनले सुझाव दिएका छन् ।





