संक्रमण निको हुने दर ७५.१ प्रतिशत


प्रकाशित मिति : जेष्ठ ६, २०७८ बिहीबार

पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। मन्त्रालयको विवरणअनुसार २१ हजार ६९५ पिसिआर परीक्षण गरिएको थियो भने ३९२ एन्टिजेन परीक्षण गरिएको थियो। छ हजार ५४३ जना भने निको भएका छन्।

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित १९० को निधन भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार ८४७ पुगेको छ। कूल चार लाख ८८ हजार ६४५ कोरोना पोजेटिभ हुँदा तीन लाख ६६ हजार ९४६ जना भने निको भएका छन् । यस आधारमा निको हुने दर ७५.१ प्रतिशत रहेको छ। कोरोनाको दोस्रो लहरपछि कोरोना पोजेटिभ हुनेको संख्या एक लाख १५ हजार ८५२ पुगेको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय संक्रमितको संख्या २४ हजार ३८९ रहेका छन्। कुल एक लाख ४६ हजार २८६ निको हुँदा एक हजार ३२६ जनाको निधन भएको छ। भक्तपुरमा चार हजार ७८३ सक्रिय संक्रमित छन् भने १२ हजार ४७३ निको भएका छन्। यस्तै २६२ को मृत्यु भएको छ। ललितपुरमा छ हजार ८९५ सक्रिय संक्रमित छन् भने २२ हजार १३ जना निको भएका छन् । सो जिल्लामा ३४७ को मृत्यु भएको छ।

तीन चिकित्सकको मृत्यु

कोरोना संक्रमणका कारणले हालसम्म तीन चिकित्सकको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमणबाट कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जानकारी दिए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com