राष्ट्रिय सभा उपनिर्वाचन : थापालाई मतदान गर्न ओलीको अपील


प्रकाशित मिति : जेष्ठ ५, २०७८ बुधबार

 नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा आफ्ना उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न अपिल गरेका छन्। बुधवार अपिल जारी गर्दै उनले एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउन एमालेका जनप्रतिनिधिसँग आग्रह गरेका हुन्।

पार्टीभित्रको विवाद समाधानका लागि कार्यदल बनिसकेको भन्दै ओलीले पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु सबैको कर्तव्य रहेकोसमेत बताएका छन्।

उनले भनेका छन्,‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउनेजस्ता विषय हाम्रोजस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो। यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागिसमेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्।’

अपिलमा उनले पार्टीलाई विभिन्न समयमा विभिन्न कोणहरुबाट कमजोर पार्ने प्रयास हुँदै आएकोसमेत उल्लेख गरेका छन्।

जेठ ६ गते (भोलि) हुन गइरहेको बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले थापालाई उम्मेदवार बनाएको छ।

मतदान बिहीबार बिहान ९ बजेदेखि

बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ। उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयाेगले जनाएकाे छ।

निर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

मतदाताको निर्वाचकमण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरुप हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ। आयोगले सबै मतदातालाई मतदानमा सहभागी हुन अनुरोध गरेको छ। निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहितानुसार यही जेठ ३ गते राति १२ बजेपछि मौनअवधि सुरु भइसकेको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ । हेटाैंडा नगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुनेछ । केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइने छ।

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

निर्वाचकमण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्ने छन् । स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने आयोग प्रवक्ता श्रेष्ठले जानकारी दिए।

निर्वाचकमण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाएर यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको छ । एमालेका उम्मेदवार रामबहादुर थापाका पक्षमा मतदान गर्न राप्रपाले मतदातालाई विज्ञप्तिमार्फत जानकारी गराएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com