सोमबारभित्र ट्याक्स फाइल नगरे के हुन्छ ? कस्तो सजाय वा जरिवाना हुन्छ ?


प्रकाशित मिति : जेष्ठ २, २०७८ आईतबार

आइआरएसमा सन् २०२० को ट्याक्स फाइल गर्ने डेडलाइन मे १७ सोमबारसम्ममात्र रहेको छ । कोरोना महामारी र परिवर्तित नियमहरुका कारण ट्याक्स फाइल गर्ने डेडलाइन यो बर्ष अप्रिल १५ बाट एकमहिना थपेर मे १७ बनाएको हो ।

तर समयमै ट्याक्स फाइल नगरेको खण्डमा जरिवाना समेत हुनसक्छ । ट्याक्स तिर्नुपर्ने व्यक्तिले समयमा नै ट्याक्स फाइल नगरेको खण्डमा वा ट्याक्स फाइल गरेर तिर्नुपर्ने रकम नतिरेमा भने ब्याज र जरिवाना तिर्नुपर्ने हुन्छ । ट्याक्स फाइल नगरेको खण्डमा जरिवाना रकम जति महिना ढिलो हुन्छ, त्यती महिना हरेक महिना तिर्नुपर्ने ट्याक्स रकमको ५ प्रतिशत र अधिकतम २५ प्रतिशतसम्म हुन्छ ।

त्यस्तै ट्याक्स नतिरेको खण्डमा जरिवाना रकम ट्याक्स तिर्नुपर्ने रकमको शुन्य दशमलव ५ प्रतिशत हुन्छ । यो रकम पनि अधिकतम २५ प्रतिशतसम्म हुन्छ । यदि ट्याक्स फाइल नगरेको र ट्याक्स रकम नतिरेको दुबै अवस्था भएमा समयमा ट्याक्स फाइल नगरेको जरिवाना रकम समयमै ट्याक्स नतिरेको रकमबाट घटाइन्छ ।

ब्याजदर पनि संघीय अल्पकालिन दरमा ३ प्रतिशत जोडेर दैनिक रुपमा बढ्दै जान्छ । करदाताहरुलाई समय थपका लागि अनुरोध फाइल गर्न पाउने नियम रहेको छ । यदि समय थपका लागि अनुरोध गरेमा उनीहरुले अक्टोबर १५ सम्मको अवधि पाउँछन् । तर मे १७ सम्म अनुमानित ट्याक्स नतिरेको खण्डमा हरेक महिना तिर्नुपर्ने रकमको शुन्य दशमलव ५ प्रतिशत जरिवाना तिर्नुपर्छ ।

बार्षिक ७२ हजार डलर वा त्योभन्दा कम रकम आम्दानी गरेकाहरुले निशुल्क समेत ट्याक्स फाइल गर्नसक्ने व्यवस्था गरेको छ । गत फरबरीमा आएको प्राकृतिक बिपत्तिका कारण टेक्सास, ओक्लोहोमा र लुजियानाका बासिन्दाहरुले भने जुन १५ भित्र ट्याक्स फाइल गर्नसक्छन् ।

यदि करदाताले ट्याक्स फाइल गरेर रिफण्डको अपेक्षा गरेका छन् र उनीहरुले सरकारलाई ट्याक्स रकम तिर्नुपर्ने अवस्था छैन भने उनीहरुलाई संघीय ट्याक्स फाइल नगरेका कारण कुनै सजायको व्यवस्था छैन । तर उनीहरुले नागरिकता आवेदन दिंदा वा अन्य सुविधाका लागि आवेदन दिंदा ट्याक्स फाइल नगरेका कारण समस्या भने पर्नसक्छ । साथै उनीहरुले संघीय सरकारबाट पाउने रिफण्ड रकमबाट समेत बञ्चित हुनेछन् ।

संघीय सरकारबाट कुनै सजाय नभएपनि राज्यबाट सजाय हुनसक्ने भएकाले आफ्नो राज्यको नियमबारे ध्यान दिन जरुरी छ । कतिपय राज्यहरुले ढिलो फाइल गर्नेहरुलाई जरिवाना तिराउने व्यवस्था छ ।

प्रयाप्त रकम नभएका कारण करवापतको रकम तिर्न नसकेका कारण करदातालाई जेल हालिदैन । तर ट्याक्स रिटर्न फाइल नगरेमा वा ट्याक्स फाइल गर्दा विवरण ढाँटेमा भने कर छलीका कारण वा जालसाजीका कारण आपराधिक अभियोग लाग्नसक्छ । त्यसैले तिर्ने रकम छैन भने पनि समयमै ट्याक्स फाइल गर्न र रकम तिर्नका लागि योजना बनाउन सुझाव दिइएको छ । 

रिफण्ड पाउने करदाताहरुले उक्त रिफण्ड प्राप्त गर्नकालागि ३ बर्षको अवधि हुन्छ । अर्थात् तीनबर्षभित्र दावी नगरे उनीहरुले उक्त रिफण्ड रकम प्राप्त गर्न सक्दैनन् ।

सन् २०१७ मा ट्याक्स फाइल नगरेका अमेरिकन करदाताले मे १७ सम्म रिफण्ड दावी नगरे १ दशमलव ३ बिलियन डलरको दावी नगरिएको अंश ट्रेजरीमा फिर्ता जाने आईआरएसले जनाएको छ । सन् २०१७ मा ट्याक्स फाइल नगरेका करदाताहरुले पाउनुपर्ने रिफण्ड रकम उनीहरुले मे १७ सम्म ट्याक्स फाइल गरेर दावी नगरे त्यसपछि प्राप्त गर्नसक्ने छैनन् ।

यसरी ट्याक्स फाइल नगरेका करदाताहरु एक दशमलब ३ मिलियन रहेका छन् । उनीहरुले २०१७ को रिफन्ड वापत पाउने रकम औषतमा ८६५ डलर रहेको छ । करदाताले सामान्यतया उनीहरुको रिफण्ड ३ वर्ष भित्र दावी गर्नुपर्छ । डेडलाइन समाप्त भएपछि उक्त रकम ट्रेजरीमा फिर्ता जान्छ ।

न्युयोर्कमा औषत ९५६ डलर प्राप्त गर्न योग्य करदाता ६६ हजार ७ सय रहेको जनाइएको छ । मासाचुसेट्स, न्यू ह्याम्पशायर र अलास्कामा पाउने औषत रिफण्ड ९७८ डलर, ९६८ डलर र ९६० डलर रहेको छ ।

यो वर्ष ट्याक्स फाइल गर्ने डेडलाइन मे १७ सम्म थप गरिएकाले करदाताले हुलाक मार्फत उक्त मिति वा त्यो भन्दा अगाडिको पोष्टमार्क सहित पठाउन सक्नेछन् । पुरानो ट्याक्स रिर्टन अनलाइन मार्फत फाइल गर्न मिल्दैन, कागजी रुपमा हुलाक मार्फत पठाउनु पर्छ ।

यदि तपाईले सन् २०१८ र २०१९ को ट्याक्स फाइल गर्नुभएको छैन भने आईआरएसले २०१७ को रिफण्ड होल्ड गर्नसक्छ । त्यस्तै तपाईंले आईआरएस वा राज्यको ट्याक्स एजेन्सीलाई रकम तिर्न बाँकी रहेको खण्डमा रिफण्ड रकम त्यसमा मिलान गर्न सकिने छ । साथै चाइल्ड सपोर्ट वा विद्यार्थी ऋण नतिरेको भएपनि रिफण्ड रकम त्यसमा मिलान गर्न सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com