मे १७ देखि निश्चित गैरआप्रवासी भिसाको अवधि थप्दा वा स्टाटस परिवर्तन गर्दा बायोमेट्रिक नचाहिने


प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार

अब अमेरिकामा निश्चित प्रकारका गैरआप्रवासी भिसाको अवधि थप्दा वा स्टाटस परिवर्तन गर्दा बायोमेट्रिक दिनु नपर्ने भएको छ । अमेरिकी सरकारको युएससीआईएसले मे १७ देखि लागु हुनेगरी २ बर्षका लागि यो नियमको घोषणा गरेको हो ।

सन् २०२३ को मे १७ सम्म लागु हुने यो नियम अनुशार एचफोर, एल टु र ई गैरआप्रवासी भिसावाहकले भिसाको अवधि थप्दा वा स्टाटस परिवर्तन गर्दा आई ५३९ आवेदनपछि बायोमेट्रिक दिनु नपर्ने जनाइएको छ । तर अन्य गैरआप्रवासी भिसा आवेदकहरुले भने आई ५३९ आवेदनपछि बायोमेट्रिक दिन आवश्यक हुनेछ ।

निश्चित प्रकारका ती भिसाहरुको सन्दर्भमा युएससीआईएसले आवेदकको फिंगरप्रिन्ट वा फोटो लगायतका नयाँ बायोमेट्रिक सुचनाहरु नलिइकनै पुरानैका आधारमा आवेदनबारे फैसला गर्ने भएको छ । युएससीआईएसले बायोमेट्रिक अप्वाइन्टमेन्टका सन्दर्भमा चर्को ब्याकलगको सामना गरिरहेको सन्दर्भमा यो निर्णय गरेको हो ।

एचफोर, एल टु र ई गैरआप्रवासी भिसावाहकले भिसाको अवधि थपका लागि दिएको आई ५३९ आवेदन र वर्क परमिटको अवधि थप्नका लागि दिएको आई ७६५ आवेदनका सन्दर्भमा बायोमेट्रिक अप्वाइन्टमेन्टमा चर्को व्याकलग रहेको युएससीआईएसले जनाएको छ । कोरोना महामारीका कारण युएससीआईएसको बायोमेट्रिक लिने क्षमतामा कमी आएकाले यो अवस्था श्रृजना भएको हो ।

फिंगरप्रिन्ट अनिवार्य गर्ने प्रावधान सन् २०१९ मा ट्रम्प प्रशासनले सुरु गरेको थियो । जसका कारण दशौं हजार आप्रवासीहरुले आफ्ना वर्क परमिटहरु गुमाएको र भिसा प्रकृयामा ढिलो भएको तथ्यांक रहेको छ ।

यसैबीच युएससीआईएसले फोनमार्फत बायोमेट्रिक अप्वाइन्टमेन्ट पुनर्तय गर्न सकिने व्यवस्था समेत गरेको छ । आवेदक, याचिकाकर्ताहरु, अनुरोधकर्ताहरु र लाभग्राहीले युएससीआईएसका आवेदन सहायता केन्द्रहरुमा फोनमार्फत बायोमेट्रिक अप्वाइन्टमेन्ट पुनतर्य गर्न सक्ने युएससीआईएसले स्पष्ट पारेको छ ।

यस अगाडि आवेदकले बायामेट्रिक अप्वाइन्टमेन्टहरु पुनर्तय गर्नका लागि लिखितरुपमा अनुरोध गर्नुपर्ने व्यवस्था रहेको थियो । नयाँ परिवर्तनले अब अनावश्यक कागजीप्रकृयाको झण्झट हटाउने र युएससीआईएसलाई आवेदकका अनुरोधहरु अझ प्रभावकारी तरिकाले ट्रयाक गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

आवेदकले आफ्नो बायामेट्रिक अप्वाइन्टमेन्ट पुनर्तय गर्नका लागि उचित कारण दिन सक्नुपर्नेछ । साथै सुरुको बायोमेट्रिक अप्वाइन्टमेन्टको मिति र समयभन्दा अगाडि नै पुनर्तयका लागि फोन सम्पर्क गर्नुपर्नेछ ।

यदि आवेदकले बायोमेट्रिक अप्वाइन्टमेन्ट सार्नका लागि राम्रो कारण दिन नसकेको खण्डमा वा सुरुको बायोमेट्रिक अप्वाइन्टमेन्टको मिति र समय अगाडि नै फोन सम्पर्क नगरेको खण्डमा युएससीआईएसले आवेदन परित्याग गरेको निष्कर्ष निकाल्न सक्नेछ । परिणामस्वरुप आवेदन अस्वीकृत हुनसक्नेछ ।

युएससीआईएसको बायोमेट्रिक अप्वाइन्टमेन्ट सार्न युएएससीआईएसको सम्पर्क केन्द्रमा ८०० ३७५ ५२८३ मा फोन गर्नुपर्नेछ ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com