अमेरिकामा कम आम्दानी भएकाहरुलाई मासिक इन्टरनेट बिलमा ५० डलर छुट, आवेदन खुला


प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार

अमेरिकामा कम आम्दानी भएकाहरुलाई मासिक इन्टरनेट बिलमा सरकारबाटै ५० डलर छुट दिइने भएको छ । त्यसका लागि बुधबारदेखि आवेदन खुला भएको छ । गत डिसेम्बरमा पारित ९ सय बिलियनको राहत प्याकेज अन्तरगत ३ दशमलव २ बिलियन डलर यो कार्यक्रमका लागि छुट्याएको थियो । जसको कार्यान्वयन बुधबारदेखि सुरु भएको छ ।

महामारीका कारण काम, स्कुल र स्वास्थ्य सेवासमेत इन्टरनेटमा सरेको अवस्थामा कोरोना महामारीबाट प्रभावित करोडौं अमेरिकनहरुलाई सुविधाका लागि यो राहत ल्याइएको हो । यो कार्यक्रम ३ दशमलव २ बिलियन डलर समाप्त नहुँदासम्म वा ६ महिनासम्म संचालन हुनेछ । डेस्कटप कम्प्युटर किन्नेहरुले एकसयडलरसम्म क्षतिपूर्ति समेत पाउनेछन् । त्यस्तै आदिवासी क्षेत्रमा बसोबास गर्नेहरुले मासिक इन्टरनेट बिलमा ७५ डलरसम्म डिस्काउन्ट पाउनेछन् ।

आपतकालिन ब्रोडबैंण्ड बेनिफिट नामको यो कार्यक्रम अन्तरगत योग्य हुने विभिन्न तरिकाहरु रहेका छन् । संघीय गरिबीको गाइडलाइनभन्दा १३५ प्रतिशत कम आम्दानी भएकाहरु यो कार्यक्रम अन्तरगत योग्य हुनेछन् । साथै सन् २०२० को फरबरी २९ पछि आम्दानी गुमाएकाहरु समेत योग्य हुनेछन् ।

त्यस्तै महामारीको समयमा काम गुमाएका संयुक्त करदाताका सन्दर्भमा १ लाख ९८ हजारभन्दा कम आम्दानी भएका तथा एकलका सन्दर्भमा ९९ हजारभन्दा कम आम्दानीभएकाहरु यो कार्यक्रमका लागि योग्य हुनेछन् । त्यस्तै फुड स्ट्याम्प पाइरहेकाहरु, मेडिकेड प्रयोग गरिरहेकाहरु वा विद्यालयको सस्तो मूल्यको खाना कार्यक्रममा योग्य भएकाहरु पनि इन्टरनेट छुटका लागि लगभग स्वत योग्य हुनेछन् ।

आफ्नो योग्यता परीक्षणका लागि र आवेदन दिनका लागि यहाँ क्लीक गर्नुहोला ।

फोन र केबल कम्पनीको रकम तिर्न बाँकी रहेको खण्डमा समेत यो डिस्काउन्टका लागि योग्य हुनसकिनेछ । किनभने रकम तिर्न नसकेका कारण कतिपय व्यक्तिहरु इन्टरनेट सेवा प्रदायकले प्रदान गर्ने कम मूल्यका अफरका लागि समेत अयोग्य बनाइएका थिए । छुट कार्यक्रम अन्तरगत एटीएनटी, चार्टर, कमकास्ट, टि मोबाइल र भेराइजन लगायत ८ सयभन्दा बढी सेलफोन र इन्टरनेट कम्पनीहरु सहभागी रहेका छन् ।

संघीय संचार आयोगका अनुशार कुल ८२५ वटा कम्पनीहरु यसमा सहभागी रहेका छन् । संघीय संचार आयोगले गतसातामात्र विद्यार्थीहरुलाई हाईस्पीड इन्टरनेट प्रदान गर्नका लागि ७ दशमलव २ बिलियन डलर स्वीकृत गरेको थियो । राष्ट्रपति जो बाइडेनले सबैको इन्टरनेटमा पहुचका लागि १ सय बिलियन डलरको प्रस्ताव समेत ल्याएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com