अमेरिकामा ट्याक्स फाइल गर्ने डेडलाइन सोमबारसम्म


प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार

आइआरएसमा सन् २०२० को ट्याक्स फाइल गर्ने डेडलाइन मे १७ सोमबारसम्ममात्र रहेको छ । कोरोना महामारी र परिवर्तित नियमहरुका कारण ट्याक्स फाइल गर्ने डेडलाइन यो बर्ष अप्रिल १५ बाट एकमहिना थपेर मे १७ बनाएको हो ।

म्याद थपिएपछि करदाताहरुलाई ट्याक्स फाइल गर्नका लागि अतिरिक्त समय प्राप्त भएको थियो । साथै उनीहरुलाई करबापतको रकम बुझाउन पनि अतिरिक्त समय प्राप्त भएको थियो । यसपटक आईआरएसले नियमित भन्दा केही ढिलो फरबरी १२ बाट ट्याक्स फाइल स्वीकार गर्न सुरु गरेको थियो ।

टेक्सासमा मौषम विपत्तिका कारण आईआरएसले विजनेश र व्यक्तिका लागि ट्याक्स फाइल गर्ने मिति जुन १५ सम्म थप गरेको थियो । संघीय आपतकालिन व्यवस्थापन एजेन्सीले टेक्सासमा विपत्तिको घोषणा गरेकाले त्यसक्षेत्रमा बस्नेहरुलाई राहतका लागि ट्याक्स फाइल गर्ने डेडलाइन बढाइएको थियो ।

परिवर्तित नयाँ नियमहरु, तेश्रो चरणको राहत चेक, बेरोजगारी विमा रकमबाट प्राप्त १० हजार २ सय डलरसम्ममा ट्याक्स छुट लगायतका कैयन प्रावधानहरुका कारण आईआरएसलाई समयमै काम सकाउन हम्मे हम्मे परिरहेको छ ।

आईआरएसले अपडेटमा ढिलाई गरेका कारण सन् २०२० को ट्याक्स फाइल गरेका कैयनले तेश्रो चरणको राहत चेक सन् २०१९ कै ट्याक्स फाइलका आधारमा प्राप्त गरेका थिए । सन् २०२० मा जन्मेको बच्चालाई ट्याक्स फाइलमा समावेश गरेपनि आईआरएसले राहत चेक पठाउँदा बच्चालाई छुटाएर रकम पठाएको थियो ।

सन् २०२० को ट्याक्स फाइल प्राप्त भएपछि आइआरएसले बाँकी रकम पाउनुपर्नेलाई अतिरिक्त चेक समेत पठाएको छ ।

त्यस्तै  सन् २०१७ मा ट्याक्स फाइल नगरेका अमेरिकन करदाताले मे १७ सम्म रिफण्ड दावी नगरे १ दशमलव ३ बिलियन डलरको दावी नगरिएको अंश ट्रेजरीमा फिर्ता जाने आईआरएसले जनाएको छ । सन् २०१७ मा ट्याक्स फाइल नगरेका करदाताहरुले पाउनुपर्ने रिफण्ड रकम उनीहरुले मे १७ सम्म ट्याक्स फाइल गरेर दावी नगरे त्यसपछि प्राप्त गर्नसक्ने छैनन् ।

यसरी ट्याक्स फाइल नगरेका करदाताहरु एक दशमलब ३ मिलियन रहेका छन् । उनीहरुले २०१७ को रिफन्ड वापत पाउने रकम औषतमा ८६५ डलर रहेको छ । करदाताले सामान्यतया उनीहरुको रिफण्ड ३ वर्ष भित्र दावी गर्नुपर्छ । डेडलाइन समाप्त भएपछि उक्त रकम ट्रेजरीमा फिर्ता जान्छ ।

न्युयोर्कमा औषत ९५६ डलर प्राप्त गर्न योग्य करदाता ६६ हजार ७ सय रहेको जनाइएको छ । मासाचुसेट्स, न्यू ह्याम्पशायर र अलास्कामा पाउने औषत रिफण्ड ९७८ डलर, ९६८ डलर र ९६० डलर रहेको छ ।

यो वर्ष ट्याक्स फाइल गर्ने डेडलाइन मे १७ सम्म थप गरिएकाले करदाताले हुलाक मार्फत उक्त मिति वा त्यो भन्दा अगाडिको पोष्टमार्क सहित पठाउन सक्नेछन् । पुरानो ट्याक्स रिर्टन अनलाइन मार्फत फाइल गर्न मिल्दैन, कागजी रुपमा हुलाक मार्फत पठाउनु पर्छ ।

यदि तपाईले सन् २०१८ र २०१९ को ट्याक्स फाइल गर्नुभएको छैन भने आईआरएसले २०१७ को रिफण्ड होल्ड गर्नसक्छ । त्यस्तै तपाईंले आईआरएस वा राज्यको ट्याक्स एजेन्सीलाई रकम तिर्न बाँकी रहेको खण्डमा रिफण्ड रकम त्यसमा मिलान गर्न सकिने छ । साथै चाइल्ड सपोर्ट वा विद्यार्थी ऋण नतिरेको भएपनि रिफण्ड रकम त्यसमा मिलान गर्न सकिनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com