२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
कोभिड १९ अपडेट

अमेरिकन ट्राभल एड्भाइजरी: नेपालमा यात्रा नगर्न चेतावनी, अति उच्च जोखिमको मुलुकमा सुचीकृत

नेपालमा कोरोना संक्रमणदर उच्च बन्दै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई नेपालमा यात्रा नगर्न चेतावनीका साथ ट्राभल एड्भाइजरी जारी गरेको छ । यसअगाडि अमेरिकाले नेपालमा यात्रा गर्नका लागि पुनर्विचार गर्नुपर्ने श्रेणीमा राखेको थियो ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले नेपाललाई कोरोना महामारीको अति उच्च जोखिम भएको मुलुकमा अपग्रेड गरे लगत्तै विदेशमन्त्रालयले पनि नेपालमा यात्रा नगर्न चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गरेको हो । गतसातामात्र सीडीसीले नेपाललाई ठिक्कको जोखिम भएको मुलुकबाट उच्च जोखिम भएको मुलुकमा अपग्रेड गरेको थियो । लगत्तै सोमबार अति उच्च जोखिम भएको मुलुकमा अपग्रेड गरिएको हो ।

सीडीसीले जोखिमलाई ४ भागमा विभाजन गरेकोमा अधिकांश मुलुकमा उच्च जोखिम रहेको निष्कर्ष निकालेको हो । कोरोना महामारीको न्यून जोखिम रहेका देशलाई पहिलो श्रेणी, ठिक्कको जोखिम रहेका देशलाई दोश्रो श्रेणी, उच्च जोखिम रहेका देशलाई तेश्रो श्रेणी र अतिउच्च जोखिम रहेका देशलाई चौथो श्रेणीमा राखिएको छ ।

अमेरिकाले विश्वका १४० देशलाई अति उच्च जोखिम भएका मुलुकको सुचीमा राखेको छ । त्यस्तै जापान र बेलायतसहित २५ वटा देशलाई उच्च जोखिम भएको मुलुकमा राखेको छ । भुटान, सिंगापुर, थाइल्याण्ड, दक्षिण कोरिया लगायतका १७ वटा देशलाई ठीक्कको जोखिम भएको सुचीमा र चीन, अष्ट्रेलिया लयायतका मुलुकलाई कम जोखिम भएको सुचीमा राखेको छ ।

अफगानिस्तान लगायत ३५ वटा देशको महामारीको अवस्था अज्ञात रहेको भन्दै ती देशहरुमा अत्यावश्यकबाहेकका यात्रा नगर्न सीडीसीले सुझाव दिएको छ । सीडीसीको सुची अनुशार नै अमेरिकी विदेश मन्त्रालयले भने ट्राभल एड्भाइजरी जारी गर्दै आएको छ । सोही अनुशार अमेरिकाले नेपालका सन्दर्भमा सोमबार ट्राभल एड्भाइजरी पनि अपडेट गरेको छ ।

सीडीसीले जारी गरेको ट्राभल एड्भाइजरीमा यात्रुहरुलाई नेपालको यात्रा नगर्न चेतावनी दिइनुका साथै नेपालको वर्तमान अवस्थाका कारण पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु समेत संक्रमणको जोखिममा रहेको जनाएको छ । साथै पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु पनि कोरोनाको नयाँ प्रकार फैलाउने जोखिममा रहेको सीडीसीले स्पष्ट पारेको छ ।

यदि नेपाल यात्रा गर्नैपर्ने भएमा यात्रा गर्नुभन्दा अगाडि पूर्णरुपमा भ्याक्सिन लगाउन सीडीसीले सुझाव दिएको छ । सीडीसीको परिभाषा अनुशार भ्याक्सिनको दोश्रो डोज लगाएको दुईसाता पूरा भएकोलाई पूर्णरुपमा भ्याक्सिन लगाएको मानिन्छ । एउटामात्र डोज लगाए पुग्ने भ्याक्सिनका सन्दर्भमा पनि भ्याक्सिन लगाएको दुईसाता पूरा भइसकेको हुनुपर्छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

त्यस्तै सबै यात्रुहरुलाई मास्क लगाउन, एकअर्काबीच ६ फिटको दुरी कायम गर्न, भींडभाडमा नजान र बारम्बार हात धुन सुझाव दिइएको छ ।

मंगलबारको तथ्यांक अनुशार नेपालमा २४ घण्टामा संक्रमित पुष्टी हुनेहरुको संख्या ९ हजार ३ सय १७ पुगेको छ भने मृतकको संख्या २२५ रहेको छ । मृतकको संख्या पछिल्लो दिनमा ह्वात्तै बढेको छ ।

यसैबीच अन्तर्राष्ट्रिय उडान रोकिएको बेला नेपालबाट अमेरिका प्रस्थान गर्न चाहने अमेरिकन र ग्रिनकार्डवाहकहरुका लागि अमेरिकी दूतावास काठमाडौंले फर्म उपलब्ध गराएको छ । फर्म भरेको खण्डमा आफूहरुलाई को को व्यक्ति नेपालबाट प्रस्थान गर्न चाहन्छ भन्नेबारे बुझ्न सहयोग हुने र चार्टड उडान उपलब्ध हुनासाथ सुचनाहरु उपलब्ध गराउने दूतावासले जनाएको छ ।

अमेरिकी दूतावास काठमाडौंले भने अमेरिकी सरकारको पहलमा कुनै पनि उद्दार उडानको आयोजना नगरेको दूतावासले स्पष्ट पारेको छ । अहिलेको समयमा नेपालबाट कुनै चार्टड उडान प्रस्थान गर्नेबारे आफूहरुलाई सुचना नभएको र भविश्यमा हुने त्यस्ता उडानबारे आफूहरुलाई जानकारी प्राप्त हुनासाथ ती उडानहरुमा टिकट किन्नका लागि सुचनाहरु उपलब्ध गराउने दूतावासले जनाएको छ ।

नेपाल छाड्न चाहने अमेरिकन नागरिक र ग्रिनकार्डवाहकले भर्नुपर्ने फर्म

अहिलेका लागि मे ३१ सम्म अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएपनि सरकारले लकडाउनको बेलामा नेपाल छाड्न चाहनेहरुका लागि चार्टड उडानको अनुमति दिने चाहना व्यक्त गरेको भन्दै दूतावासले नेपाल छाड्न चाहने अमेरिकनहरुका लागि फर्मको व्यवस्था गरेको हो ।

अहिले नेपालबाट नयाँ दिल्लीमा साताको दुईवटा बाहेक सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगित भइसकेका छन् । यसैबीच नेपालको पर्यटन मन्त्रालयले काठमाडौं फर्कन सहयोग चाहिने पर्यटकहरुका सन्दर्भमा फर्मको व्यवस्था गरेको छ । पर्यटकहरुको स्थान र अवस्थाबारे जानकारी हासिल गर्नका लागि उक्त फर्मको व्यवस्था गरिएको हो ।

आफू माताहतमा नेपाल यात्रा गरिरहेका पर्यटकबारे जानकारी दिन एजेन्सीले भर्नुपर्ने फर्म भर्न यहाँ क्लीक गर्नुहोला ।

नेपालमा यात्रा गरिरहेका पर्यटकहरुले आफूबारे जानकारी दिन यो फर्म भर्नुहोला ।

नेपालको अन्य स्थानबाट काठमाडौं आउने पर्यटकहरु अनिवार्य ५ दिनसम्म होटेल क्वारेन्टीनमा बस्नुपर्ने जनाइएको छ । काठमाडौं आउने पर्यटकहरुका लागि कलंकी, बालाजु र एयरपोर्ट क्षेत्रमा क्वारेन्टीनका लागि २४ वटा होटेलहरु तय गरिएको छ ।

नेपालको विभिन्न भागबाट काठमाडौं आउने पर्यटकहरु क्वारेन्टीनमा बस्नुपर्ने होटेलको सुचीका लागि यहाँ क्लीक गर्नुहोला ।

 

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →