इमिरेट्स एयरलाइन्सले भारतमा निशुल्क स्वास्थ्य सामाग्री बोकिदिने


प्रकाशित मिति : बैशाख २७, २०७८ सोमबार

इमिरेट्स एयरलाइन्सले भारतका विभिन्न ९ वटा सिटीमा कोरोना सम्बन्धि स्वास्थ्य सामाग्रीहरु निशुल्क बोक्ने भएको छ । दुबईबाट यसैसातादेखि स्वास्थ्य सामाग्रीहरु निशुल्क लगिदिने इमिरेट्स एयरलाइन्सले जनाएको हो ।

भारतमा कोरोना महामारीका कारण अस्पतालहरु भरिएका छन् भने औषधी र अक्सिजन लगायत स्वास्थ्य सामाग्रीहरुको अभाव भएको छ । यो अवस्थामा अन्तर्राष्ट्रिय सहायता भारतमा पठाउने क्रम तीब्र रहेको छ ।

यसै महिनाको सुरुतिर कतार एयरलाइन्सले पनि ३ सय टन सहायता सामाग्रीहरु दोहाबाट भारतमा निशुल्क लगिदिएको थियो । इमिरेट्सले भने दुबइबाट उपलब्ध गराइएका सहायताहरु भारत लगिदिने स्पष्ट पारेको छ ।

आफूहरु भारतमा सहायता उपलब्ध गराउन सहायताका लागि प्रतिबद्ध रहेको एयरलाइन्सले जनाएको छ । स्वास्थ्य सामाग्रीहरु अर्को सुुचना जारी नहुँदासम्मका लागि निशुल्क लगिदिने एयरलाइन्सको भनाई छ ।

विश्व स्वास्थ्य संगठनका बहुउद्देश्यीय टेन्टहरुसहित पहिलो उडान मे १३ मा हुनेछ । उक्त उडानले साढे १२ टन सामाग्रीहरु लैजाने जनाइएको छ ।

भारतमा आइतबारमात्र कोरोना संक्रमणबाट थप ४ हजार ९२ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या २ लाख ४२ हजार नाघेको छ । विगत २४ घण्टामा ४ लाख ३ हजार ७ सय ३८ नयाँ संक्रमित फेला परेका छन् ।

इमिरेट्सले भारतका ९ वटा सिटीमा सातामा ९५ वटा उडानहरु गर्दै आएको छ । ती उडानहरुले साप्ताहिक ५ हजार टनसम्म कार्गो बोक्न सक्छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com