डिभीको कन्फर्मेशन नम्बर हरायो ? यसरी पाउनुहोस् सहजै


प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार

आर्थिक बर्ष २०२२ को डिभी लोटरीको नतिजा सार्वजनिक भइसकेको छ । नेपाली समय अनुशार शनिबार राती  पौने १०  बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक भएको हो ।  तर कतिपय भने कन्फर्मेशन नम्बर सुरक्षित राख्न नसकेका कारण कसरी डिभी परेको थाहा पाउने अन्यौलमा रहेका छन् ।

डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो । कन्फर्मेशन नम्बर, थर र जन्मबर्ष हालेर डिभी परे नपरेको चेक गर्न सकिन्छ । तर कन्फर्मेशन नम्बर हराइहाले पनि चिन्ता गर्नु नपर्ने भएको छ ।

कन्फर्मेशन नम्बर हराएको खण्डमा यो फर्म भर्नुपर्नेछ ।

डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा  नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्नसकिने सुविधा अमेरिकी सरकारले दिएको छ । तर तपाईले डिभी भर्ने बेला जुन इमेल ठेगाना प्रयोग गर्नुभएको थियो त्यही इमेल ठेगाना उल्लेख गर्नुपर्छ । हराएको कन्फर्मेशन नम्बर प्राप्त गर्न सकिने सुविधा अहिले नै उपलब्ध भइसकेको छ ।

हराएको कन्मफर्मेशन नम्बर प्राप्त गर्नका लागि यहाँ क्लीक गरेर आफ्नो विवरणहरु पेश गर्नुहोला ।

तपाईसँग पहिले नै कन्फर्मेशन नम्बर छ वा माथि उल्लेखित विधिबाट इमेलमा कन्फर्मेशन नम्बर प्राप्त गर्नुभयो भने अब तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला । 

यदि तपाई डिभीका लागि छनौट हुनुभएन भने तपाई छनौट नहुनुभएको सुचना स्क्रीनमा देख्न सक्नुहुनेछ । यदि तपाई छनौट हुनुभएको खण्डमा त्यसपछिको प्रकृयासहितको पत्र स्क्रीनमा देख्न सक्नुहुनेछ ।

यदि तपाई छनौट हुनुभएन भने यो सुचना देख्नुहुनेछ ।

अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष सन् २०२२ का लागि ५०,००० डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ ।

चिठ्ठा पर्ने आवेदकहरू (“विजेताहरू”) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ ।  भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov/ मा गई “एन्ट्रेन्ट स्टेटस चेक” (Entrant Status Check) मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी हाल्नुहोस्। तपाईँंले आफू डिभी–२०२२  का लागि छनोट भए नभएको पत्ता लगाउन र आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट मिति चेक गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्नु पर्दछ ।

अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो । एन्ट्रेन्ट स्टेटस चेक ई– डिभीको वेबसाइटमा मे ८  देखि  सन् सेप्टेम्बर ३०, २०२२ सम्म उपलब्ध हुनेछ ।

सन् २०२२ का डिभी विजेताहरुले आगामी अक्टोबर १ बाट भिसा पाउन सुरु गर्नेछन् । योग्यताका मापदण्ड पुगेका छनोट भएकाहरू तथा उनीहरूका योग्य पारिवारिक सदस्यहरूको आवेदनउपरको सम्पूर्ण कार्यवाही र डिभी भिसा जारी २०२२ सेप्टेम्बर ३० भित्र गरिसक्नुपर्दछ । सो मिति पछि डिभी जारी गर्न मिल्ने छैन न त कुनै पनि परिवारिक सदस्यले सो मिति पश्चात्अमेरिका गइसकेका प्रमुख आवेदकसँग बसोबास गर्न जानका लागि डिभी प्राप्त गर्न सक्नेछ ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ । उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउनमा ढिलो भएको थियो । तर अहिले बाइडेन प्रशासनले रोक हटाउँदा पनि भिसा जारी गर्न प्राथमिकता नदिनुले अन्यौल बढेको छ ।

सन् २०२१ का डिभी विजेताहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्ने नियम रहेको छ । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com