परिवारबाट अलग गराएर देशनिकाला गरिएकाहरुलाई आजदेखि अमेरिका प्रवेशको अनुमति


प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार

ट्रम्प प्रशासनको पालमा छोराछोरीहरुबाट अलग गराएर देशनिकाला गरिएका कैयन बुबाआमाहरुलाई अब अमेरिका आउन अनुमति दिइने भएको छ । बाइडेन प्रशासनले यो सातादेखि विगतमा विछोडिएका परिवारहरुका लागि पुनर्मिलन कार्यक्रम सुरुवात गरेको हो । ट्रम्प प्रशासनको नीति अनुरुप विछोडिएका परिवारको पुनर्मिलनका लागि कार्यक्रम सुरुवात गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले घोषणा गरेको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकास र परिवार पुनर्मिलन टास्क फोर्सका तर्फबाट गरिएको घोषणामा मेक्सिको र अमेरिकाको सिमाक्षेत्रमा अन्यायपूर्ण तरिकाले अलगथलग बनाइएका परिवारलाई पुनर्मिलनका लागि काम सुरु गरिएको उल्लेख छ । परिवार पुनर्मिलन टास्कफोर्सले बुबाआमाबाट बालबालिकाहरुलाई अलग गराउने पूर्व प्रशासनको निर्दयी कदमबाट उत्पन्न समस्या सम्बोधन गर्न दिनरात कायम गरेको मेयरकासले बताएका छन् ।

आज यसको सुरुवातमात्र रहेको र परिवारको पहिलो समुहलाई आज पुनर्मिलन गराइने मेयरकासले जानकारी दिएका छन् । अरु परिवारहरुलाई पनि क्रमश पुनर्मिलन गराइदै जाने उनको भनाई छ ।

गत फरबरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेशमार्फत परिवारको पुनर्मिलन गराउने टास्कफोर्सको गठन गरेका थिए । तर अहिलेसम्म कुनै पनि परिवार पुनर्मिलन गराइएको थिएन । बाइडेन प्रशासनका एकसयदिनमा कुनै पनि परिवारको पुनर्मिलन नगराइएको भन्दै आलोचना समेत भएको थियो ।

तर त्योयता टास्क फोर्सले विछोडिएका परिवारको पहिचान र प्रमाणिकरणमा समय लगाएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको भनाई छ । टास्क फोर्सले आगामी जुन २ मा सबै कामको प्रगति विवरण समेत सार्वजनिक गर्ने जनाइएको छ ।

परिवारको पुनर्मिलनका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले परोल अनुरोधहरु स्वीकार गर्ने प्रकृयाको स्थापना गरेको जनाएको छ । अनुरोधहरु प्रकृयामा लैजानका लागि र अमेरिका प्रवेशको अनुरोध गरेका परिवारहरुलाई स्वीकार गर्न तयारी अवस्थामा रहेको जनाइएको छ ।

त्यस्तै नोक्सान पुगेका परिवारलाई सहयोगका लागि डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले काम गरिरहेको पनि जनाइएको छ । विछोडिएका परिवारको अमेरिका प्रवेशका लागि ट्राभल डकुमेन्टको अनुरोधलाई प्रकृयामा लैजानका लागि अमेरिकी विदेशमन्त्रालयले व्यवस्थीत प्रणालीको विकाश गरेको जनाएको छ । डिपार्टमेन्ट अफ जस्टिसले पनि बसोबास सम्बन्धित छलफलका प्रयासमा टास्क फोर्सलाई सघाउने भएको छ ।

यी प्रयासका बाबजुत टास्क फोर्सले पुनर्मिलन गराइएका परिवारको दीर्घकालिन कानूनी स्थायीत्वका लागि विकल्पहरुको खोजी गरिरहेको समेत जनाइएको छ । यस्तो प्रकारको निर्दयी र अनावश्यक विछोड भविश्यमा हुन नदिनसमेत काम गर्ने जनाइएको छ ।

अमेरिकामा झण्डै एकहजारको हाराहारीमा परिवारहरु अलग बनाइएको तथ्यांक रहेको छ । ट्रम्प प्रशासनले शुन्य शहनशीलताको नीति अनुशार कारवाही अगाडि बढाउँदा सन् २०१८ को वशन्तमा झण्डै २८ सय आप्रवासी परिवारहरु अलगअलग भएका थिए । यो नीति आउनु अगाडि नै झण्डै १५ सय परिवारहरु विछोडिएका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com