गैर आप्रवासी भिसामा अमेरिका आउने नेपालीको संख्या आधाले कम, २०२० मा १६,६९८ अमेरिका प्रवेश


प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार

कोरोना महामारीका कारण आर्थिक बर्ष सन् २०२० मा भिजिटर लगायतका गैरआप्रवासी भिसामा अमेरिका आउने नेपालीहरुको संख्या आधाभन्दा धेरैले कम भएको छ । महामारी सुरुभएको गत बर्षको मार्चदेखि यो संख्यामा उल्लेख्य गिरावट आएको हो ।

आर्थिक बर्ष सन् २०१९ मा ३९ हजार ६ सय ९० जना नेपाली गैरआप्रवासी भिसामा अमेरिका प्रवेश गरेका थिए । तर आर्थिक बर्ष सन् २०२० मा १६ हजार ६ सय ९८ जना नेपालीहरु गैरआप्रवासी भिसामा अमेरिका प्रवेश गरेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ ।

यो संख्या एयरपोर्ट वा सिमाक्षेत्रमा आइसकेपछि आई ९४ जारी भएको आधारमा निकालिएको हो । आर्थिक बर्ष सन् २०२० मै भिसा लिएकाहरुको संख्या भने होइन । सन् २०२० वा त्योभन्दा अगाडिका बर्षहरुमा भिसा लिएका र आर्थिक बर्ष सन् २०२० मा अमेरिका प्रवेश गरेकाहरुको संख्याका आधारमा यो तथ्यांक निकालिएको हो ।

आर्थिक बर्ष २०२० को पहिलो तीनमहिनामा ९ हजार ४ सय ७१ नेपालीहरु गैरआप्रवासी भिसामा अमेरिका आएका थिए । त्यसपछि दोश्रो तीनमहिना जनवरीदेखि मार्चसम्म पनि ७ हजार ८९ जना नेपालीहरु गैरआप्रवासी भिसामा अमेरिका आए । अप्रिलदेखि जुनसम्म जम्मा १३८ जना नेपालीहरु गैरआप्रवासी भिसामा अमेरिका प्रवेश गरेको देखिन्छ । जुलाईदेखि सेप्टेम्बरसम्म प्रवेश गरेका नेपालीहरुको विवरण भने सार्वजनिक गरिएको छैन ।

आर्थिक बर्ष सन् २०१९ मा गैरआप्रवासी भिसामा अमेरिका प्रवेश गरेकाहरुमध्ये २९ हजार ५ सय ५८ जना बीन बीटु भिजिटर भिसामा प्रवेश गरेका थिए । त्यस्तै ६ हजार ६ सय १० जना विद्यार्थी र एक्सचेन्ज भिजिटरका रुपमा प्रवेश गरेका थिए । अस्थायी कामदार र उनीहरुका परिवारहरु १४ सय ९९ जना थिए भने कुटनीतिज्ञ र अन्य प्रतिनिधिहरु ११ सय २६ जना थिए ।

७ हजार नेपालीका भिजिटर भिसा अस्वीकृत, भिसा पाउनेपनि झण्डै ७ हजार

आर्थिक बर्ष २०२० मा आवेदकमध्ये झण्डै ५१ दशमलव ९ प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको छ । विगत तीनवर्षको अवधिमा सन् २०२० मा अमेरिकाको भिजिटर भिसा स्वीकृत हुने नेपालीहरुको प्रतिशत दर सबैभन्दा उच्च हो ।

आर्थिक बर्ष २०२० मा झण्डै १५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार ७ सय ५१ जनाको भिजिटर भिसा स्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जसमा बी वानमात्र पाउनेहरु १३ जना, बी टु मात्र पाउनेहरु १ जना र बीवान बीटु भिसा पाउनेहरु ७ हजार ७ सय ३७ जना रहेका छन् ।

आवेदकमध्ये झण्डै ७ हजार २ सय नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको तथ्यांकले देखाएको छ । २०२० मा कुल आवेदकहरुमध्ये ४८ दशमलव १ प्रतिशतको भिजिटर भिसा अस्वीकृत भएको थियो ।

नेपालीको भिजिटर भिसा अस्वीकृत दर आर्थिक बर्ष सन् २०१९ मा ५० दशमलव ७ प्रतिशत र २०१८ मा ५१ दशमलव ५ प्रतिशत रहेको थियो । आर्थिक बर्ष २०१७ मा भने अस्वीकृत दर ४६ दशमलव ४ प्रतिशतमात्र थियो ।

आर्थिक बर्ष २०१९ को तुलनामा भिसा पाउने प्रतिशत दर बढेपनि संख्या भने घटेको छ । २०१९ मा १७ हजार १ सय १४ नेपालीहरुलाई अमेरिकाको भिजिटिर भिसा प्राप्त गरेकोमा २०२० मा यो संख्या ६० प्रतिशतभन्दा धेरैले घटेको छ ।

आर्थिक बर्ष २०१८ मा भने नेपालीहरुको भिजिटर भिसा अस्वीकृत दर सन् २०१२ पछिकै सबैभन्दा धेरै रहेको थियो । सन् २०११ मा भने त्योभन्दा पनि धेरै कुल आवेदकमध्ये ५९ दशमलव ९ प्रतिशत नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको थियो । सन् २००६ देखि सन् २०११ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुभन्दा नपाउनेहरुकै प्रतिशतदर उच्च थियो ।

तर सन् २०१२ देखि २०१७ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुको प्रतिशत नपाउनेहरुको तुलनामा बढी थियो । सन् २०१४ मा त कुल भिजिटर भिसाका नेपाली आवेदकहरुमध्ये ६१ दशमलव ८ प्रतिशतले भिसा पाएका थिए । कुल आवेदकमध्ये जम्मा ३८ दशमलव २ प्रतिशत नेपाली आवेदकको भिजिटर भिसा अस्वीकृत भएको थियो ।

आर्थिक बर्ष सन् २०२० मामात्र नेपालीहरुको भिजिटर भिसाको आवेदनबापत अमेरिकालाई झण्डै साढे २ मिलियन अमेरिकी डलर अर्थात् झण्डै २७ करोड नेपाली रुपैयाँ प्राप्त भएको छ । कोरोनाको महामारीका कारण आर्थिक बर्ष २०२० मा विगतका बर्षहरुको तुलनामा भने कम नेपालीहरुलेमात्र अमेरिकाको भिजिटर भिसा पाउन सफल भएका छन् ।

समाचारमा उल्लेख भएको संख्या र प्रतिशत अमेरिकी दूतावास काठमाडौंको मात्र होइन, नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएका विश्वका कुनै पनि देशमा रहेका अमेरिकी दूतावास वा कन्सुलेटको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com