अमेरिकी विदेशमन्त्रालय: ‘डिभी २०२१ कालागि छुट्याइएको सबै भिसा संख्या प्रयोग नहुने देखिन्छ’


प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज एक सुचना जारी गरेर डिभी २०२१ का लागि छुट्याइएको वैधानिक भिसा संख्या सबै प्रयोग नहुने देखिएको जनाएको छ । भिसा जारी गर्ने प्राथमिकतामा डाइभर्सिटी भिसालाई अन्तिम प्राथमिकतामा राख्दै अमेरिकी विदेशमन्त्रालयले सन् २०२१ का कम डिभी विजेताले भिसा पाउने अवस्था रहेको जनाएको हो ।

विदेश मन्त्रालयले भनेको छ – ‘हामी स्वीकार गर्दछौं कि डाइभर्सिटी भिसा लगायतका केही कार्यक्रमहरु आर्थिक बर्ष आधारमा संचालन हुने कानूनी प्रावधान रहेको छ । विदेश मन्त्रालयले डाइभर्सिटी भिसा कार्यक्रमलाई महत्व दिन्छ । र कोरोना महामारीका कारण कार्यसंचालनमा उत्पन्न गम्भिर अवरोध र ब्याकलगका बाबजुत अन्य प्राथमिकता अनुरुप सम्भव भएजति धेरै डाइभर्सिटी भिसाका आवेदनहरु प्रकृयामा लैजान हरतरहले प्रयास गरिरहेको छ ।’

‘यद्यपी कोरोना महामारीका कारण जारी गरिने भिसा संख्या कम प्राथमिकतामा रहेका श्रेणीमा पर्ने भएकाले डाइभर्सिटी भिसा कार्यक्रम लगायतका कार्यक्रमहरुमा आर्थिक सन् २०२१ का लागि तय भएका वैधानिक भिसा संख्या प्रयोग नहुनेजस्तो देखिएको छ ।’ –  अमेरिकी विदेशमन्त्रालयले भनेको छ ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउनमा ढिलो भएको थियो । तर अहिले बाइडेन प्रशासनले रोक हटाउँदा पनि भिसा प्राथमिकतमा नपरेर जारी नहुँदा उनीहरुमा अन्यौल छाएको छ ।

हरेक बर्ष ५५ हजारसम्म डायभर्सिटी भिसा जारी गर्न सकिने प्रावधान रहको छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ ।सन् २०२१ का डिभी विजेताहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्ने नियम रहेको छ । सेप्टेम्बरभित्र भिसा नपाएकाहरुले त्यसपछि भिसा पाउन नसक्ने कानूनी प्रावधान रहेको छ ।

अमेरिकी विदेश मन्त्रालयले आजै एक सुचना जारी गरेर अमेरिकी दूतावास र कन्सुलेटहरुले दिने आप्रवासी भिसा प्राथमिकताबारे घोषणा गरेको थियो । दूतावास र कन्सुलेटहरुले आप्रवासी भिसामा रहेको ब्याकलगलाई सम्बोधन गर्न ४ वटा टियरमा भिसा जारी गरिरहेको जनाएकोमा डिभीलाई चौथो अर्थात् अन्तिम प्राथमिकतामा राखिएको छ ।

डिभी २०२१: ६ लाख ८८ हजार नेपाली सहभागी, ३८०१ विजेता

पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए ।
प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए ।

उनीहरुले सन् २०१९ को अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए । ४ लाख २१ हजार ७ सय ६५ जना आवेदकहरुमध्ये डिभी लोटरीका लागि भने जम्मा ३८०१ जना नेपालीहरु छनौट भएका थिए ।

पासपोर्ट अनिवार्य गरिएका कारण सन् २०२० को डिभी लोटरीका लागि आवेदन दिने नेपालीहरुको संख्याको तुलनामा २०२१ को डिभी लोटरीका लागि आवेदन दिने नेपालीहरुको संख्या भने कम भएको छ । सन् २०२० को डिभी लोटरीमा १० लाख २६ हजार ४२३ नेपालीहरु सहभागीहरु रहेका थिए । जसमध्ये प्राथमिक आवेदकहरु ६ लाख ३७ हजार ६ सय ९६ जना र उनीहरुका परिवारका सदस्यहरु ३ लाख ८८ हजार ७ सय २७ रहेका थिए ।

सन् २०१९ का लागि डिभी लोटरी कार्यक्रममा सहभागी नेपालीहरुको संख्या १० लाख ९२ हजार ३५ जना रहेका थिए । जसमध्ये प्राथमिक आवेदकहरु ६ लाख ८४ हजार १ सय ८० जना रहेका थिए भने उनीहरुका परिवारका सदस्यहरु ४ लाख ७ हजार ८ सय ५५ जना रहेका थिए ।

२०१३ देखि २०१८ सम्म डिभी भर्ने नेपालीहरु

आर्थिक बर्ष २०१८ को डिभी लोटरीमा ११ लाख ८७ हजार ३ सय ५० जना नेपालीहरु सहभागी भएका थिए । जसमा ७ लाख २८ हजार ७ सय १८ नेपाली प्राथमिक आवेदक र उनीहरुका आफन्तहरु ४ लाख ५८ हजार ६ सय ३२ रहेका थिए । २०१७ को डिभी लोटरीमा ११ लाख ३६ हजार ६ सय २२ जना नेपालीहरु सहभागी भए । जसमा प्राथमिक आवेदक ६ लाख ९२ हजार १ सय ३७ र आफन्तहरु ४ लाख ४४ हजार ४ सय ८५ रहेका थिए ।

सन् २०१६ को डिभी कार्यक्रममा १० लाख ९० हजार ८ सय ८० नेपालीहरुले डिभी कार्यक्रममा सहभागिता जनाए । जसमा प्राथमिक आवेदक ६ लाख ६४ हजार ८ सय ५४ र आफन्तहरु ४ लाख २६ हजार २६ जना रहेका थिए ।

त्यस्तै आर्थिक बर्ष सन् २०१५ को डिभी लोटरी कार्यक्रमका लागि ५ लाख ४५ हजार ८ सय २५ जना नेपालीहरुले डिभी लोटरीको फर्म भरेका थिए । उनीहरुका नजिकका आफन्तहरु ३ लाख ४७ हजार १ सय ३६ जना समेत जोड्दा सन् २०१५ को डिभी कार्यक्रममा सहभागी हुने नेपालीहरु ८ लाख ९२ हजार ९ सय ६१ जना रहेका थिए ।

त्यसैगरी सन् २०१४ को डिभी कार्यक्रमका लागि आवेदक र उनीहरुका आफन्तहरुसहित ६ लाख १३ हजार ३ सय ८५ जना नेपालीहरु कार्यक्रममा सहभागी भएका थिए भने सन् २०१३ को डिभी कार्यक्रममा आवेदक र उनीहरुका आफन्तहरुसहित ४ लाख ९६ हजार ४ सय १० जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भएका थिए ।

सन् २००७ देखि २०१२ सम्म डिभी भर्ने नेपालीहरु

सन् २०१२ को डिभी लोटरीमा ३ लाख ९७ हजार ३६ नेपालीहरु सहभागी भएका थिए, जसमध्ये प्राथमिक आवेदक २ लाख ३८ हजार ६ सय ७८ जना रहेका थिए भने परिवारका सदस्यहरु १ लाख ५८ हजार ३५८ जना रहेका थिए ।

त्यस्तै सन् २०११ को डिभी लोटरीमा ३ लाख २२ हजार ७ सय ५८ जना नेपालीहरु सहभागी भएका थिए । जसमध्ये १ लाख ९४ हजार ३ सय ७३ प्राथमिक आवेदकहरु र उनीहरुका परिवारका सदस्यहरु १ लाख २८ हजार ३ सय ८५ जना रहेका थिए ।

सन् २०१० को डिभी लोटरीमा ३ लाख ५६ हजार २ सय १६ नेपालीहरु सहभागी भएका थिए । जसमध्ये २ लाख ११ हजार ४ सय २१ प्राथमिक आवेदकहरु र १ लाख ४४ हजार ७ सय ९५ जना परिवारका सदस्यहरु रहेका थिए ।

त्यस्तै सन् २००९ मा २ लाख ९८ हजार १ सय ४१ जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भए । जसमध्ये १ लाख ७० हजार ७ सय १६ प्राथमिक आवेदकहरु र १ लाख २७ हजार ४ सय २५ परिवारका सदस्यहरु रहेका थिए ।

सन् २००८ मा ३ लाख ८९ हजार ९ सय ८९ आवेदकहरु सहभागी थिए । जसमध्ये २ लाख २२ हजार ४ सय ७७ प्राथमिक आवेदकहरु र १ लाख ६७ हजार ५ सय १२ परिवारका सदस्यहरु रहेका थिए ।

सन् २००७ मा ३ लाख २७ हजार ३ सय ३० जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भए । जसमध्ये १ लाख ८९ हजार ४ सय ८४ प्राथमिक आवेदकहरु र १ लाख ३७ हजार ८ सय ४६ परिवारका सदस्यहरु रहेका थिए ।

डिभी लोटरीको इतिहासमा नेपालबाट एककरोडभन्दा धेरै सहभागीका आवेदन परिसकेका छन् । बारम्बार आवेदन दिनेहरुको संख्या समेत यसमा जोडिएको छ । उदाहरणका लागि २०२१ को डिभी कार्यक्रममा सहभागी ६ लाख ८८ हजार ५ सय २ मध्ये कैयनले सन् २०२० को डिभी कार्यक्रममा पनि सहभागिता जनाएका थिए ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com