आइसले अब अदालत वा परिसरबाट आप्रवासीहरुलाई पक्राउ नगर्ने


प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार

अमेरिकाको अध्यागमन कार्यान्वयन निकाय इमिग्रशेन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिन आप्रवासीहरुलाई अदालत वा अदालत परिसरबाट पक्राउ नगर्ने भएको छ । ट्रम्प प्रशासनको अध्यागमन कार्यान्वयन नीतिलाई उल्टाउँदै बाइडेन प्रशासनले आप्रवासीहरुलाई अदालतबाट पक्राउ गर्ने आइसको शक्तिमा कटौती गरेको हो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले मंगलबार गरेको घोषणा अनुशार अब संघीय एजेन्टहरुले अधिकांश अध्यागमनका नियम उल्लंघनको अभियोगमा कुनै पनि व्यक्तिलाई अदालतभित्र वा परिसरबाट पक्राउ गर्न नपाउने भएका छन् । जनसुरक्षाबारे जोखिम भएको अवस्थामा भने आइसले आप्रवासीहरुलाई अदालत वा अदालत परिसरबाट पनि पक्राउ गर्नसक्नेछ ।

सन् २०१८ मा औपचारिकता दिइएको ट्रम्पकालिन नीतिमा आइसलाई संघीय, राज्य वा स्थानीय अदालतहरुमा प्रवेश गरेर व्यक्तिलाई पक्राउ गर्नसक्ने अधिकार दिइएको थियो । अध्यागमनबाहेकका अन्य कारणले अदालतमा गएकाहरुलाई पनि आइसले पक्राउ गर्दै आएको थियो । कुनै मुद्दामा साक्षीबस्न, दुब्र्यबहारबाट संरक्षणका लागि अदालत गएको अवस्थामा वा अन्य विषयमा न्यायका लागि अदालतमा गएकाहरु समेत आइसको फन्दामा पर्दै आएका थिए ।

मंगलबार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले दिएको आदेश इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस र युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीको हकमा लागु हुनेछ । ४ वटा अवस्थामा भने आईस वा सीबीपीले अदालत वा अदालत परिसरबाट पनि पक्राउ गर्नसक्नेछ । राष्ट्रिय सुरक्षाको मामलामा संलग्न रहेको भएमा, कुनै व्यक्तिका लागि तत्कालै मृत्यु, हिंशा वा भौतिक क्षतिको खतरा भएमा, जन सुरक्षामा जोखिम रहेको पाइएमा, अपराधको मुद्दामा प्रमाण नष्ट हुने तात्कालिक खतरा रहेको खण्डमा भने अदालतभित्र वा अदालत परिसरबाट पक्राउ गर्नमा कुनै रोक नलगाइने जनाईको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com