सिमाक्षेत्रमा एसाइलम खोज्दा मेक्सिको फिर्ता पठाइएकामा नेपाली समेत


प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार

सिमाक्षेत्रमा एसाइलम खोज्दा अदालती प्रकृयासम्मका लागि मेक्सिको फिर्ता पठाइएका कागजपत्रविहिनमा नेपाली समेत भएको खुलासा भएको छ । यसअगाडि ट्रम्प प्रशासनको एमपीपी कार्यक्रम अन्तरगत अदालती प्रकृयासम्म प्रतिक्षा गर्नका लागि मेक्सिको फिर्ता पठाइएकाहरुमा नेपालीहरु रहेको जानकारी प्राप्त भएको थिएन ।

अदालती प्रकृयासम्म प्रतिक्षा गर्न मेक्सिको फिर्ता पठाइएका जनवरीको अन्त्यसम्म पेन्डिङ रहेका २९ हजार ४ सय २३ केसमा अधिकांश स्पानिस भाषा बोल्नेहरु रहेका छन् । स्पानिस भाषा बोल्नेहरु २८ हजार ५ सय ६६ रहेका छन् भने पोर्चुगिज भाषा बोल्ने ४९८ जना रहेका छन् । जसमा नेपाली भाषा बोल्ने पनि रहेको भन्दै त्यसलाई दुर्लभ भाषाका रुपमा सुचिकृत गरिएको छ ।

जनवरीको अन्त्यसम्म पेन्डिङ रहेका एमपीपी केसमा नेपाली भाषा बोल्ने व्यक्ति भने एकजनामात्रै रहेको तथ्यांकमा देखिएको छ । १६ जनाले बोलेको भाषा भने अज्ञात भाषाका रुपमा सुचितकृत गरिएको छ । मेक्सिको फिर्ता पठाइएकाहरुमा ४० भाषा बोल्ने आप्रवासीहरु रहेको तथ्यांकमा देखिएको छ ।

स्पानिस बाहेकका भाषाका सन्दर्भमा सिमाक्षेत्रमा भाषा अनुवादकको समस्या समेत आएको थियो । कतिपयले भाषाका रुपमा स्पानिस भाषा छनौट गरेपनि सिमाक्षेत्रमा अनुवाद संकट उत्पन्न भएको रिपोर्ट अमेरिकन संचारमाध्यमहरु प्रकाशित भएका थिए । बाइडेन प्रशासनले एमपीपी कार्यक्रम अन्तरगत अदालती प्रकृयासम्म मेक्सिको पठाउने गरी नयाँ व्यक्तिको दर्ता रोकेको छ ।

अदालती प्रकृयासम्मका लागि मेक्सिकोमा नै फिर्ता पठाइएका आप्रवासीहरुलाई अदालती प्रकृयासम्म पनि अमेरिकाभित्रै आएर प्रतिक्षा गर्नका लागि बाइडेन प्रशासनले फरबरीको तेश्रो सातादेखि प्रकृया सुरु गरेको थियो ।

अमेरिकी सरकार र अन्तर्राष्ट्रिय पार्टनरहरुले अदालती प्रकृयासम्म प्रतिक्षा गर्न मेक्सिकोमा फिर्ता पठाइएकाहरुको भर्चुअल दर्ता सुरु गरेको थियो । प्रतिक्षा गरिरहेकाहरुलाई स्वीकृत भएर अप्वाइन्टमेन्टको सुचना नपाएसम्म पोर्ट अफ इन्ट्रीतिर नआउन भनिएको छ ।

सीबीपी वान एप्लीकेशनमार्फत प्रमाणित भएकाहरु र नेगेटिभ कोरोना परीक्षण भएकाहरुलाई अन्तर्राष्ट्रिय संघसंस्थाहरुले मेक्सिको अमेरिका सिमाक्षेत्रको पोर्ट अफ इन्ट्रीमा पठाउने गरेका छन् । त्यसपछि उनीहरुलाई सुरक्षित र प्रभावकारी तरिकाले प्रकृयामा लगिएको छ ।

सीबीपीले सबै आवेदकको जाँचबुझ गर्नुका साथै आवश्यकता अनुशार विद्युतीय आवेदन फर्म डाउनलोड गर्न सिकाउने गरेको छ । आइस र सीबीपीको प्रकृया पूरा भएपछि सहयोगी संघ संस्थाहरुले उनीहरुका लागि यात्राको प्रबन्ध गर्दै आएका छन् ।

अमेरिकी सरकारको विदेश मन्त्रालय र होमल्याण्ड सेक्युरिटीले संघीय, राज्य र स्थानीय स्वास्थ्य मापदण्डहरुको पूर्ण पालनाका लागि मेक्सिकोको सरकार, अन्तर्राष्ट्रिय संघसंस्था र सीडीसीसँग समन्वय गरिरहेको जनाएको छ ।

एमपीपी कार्यक्रम अन्तरगत मेक्सिको फिर्ता नपठाइएका, अमेरिकी अध्यागमन अदालतमा मुद्दा नरहेका र अमेरिकाबाहिर रहेकाहरुका सन्दर्भमा यो प्रकृया लागु हुँदैन । उनीहरुले भने थप जानकारीका लागि प्रतिक्षा गर्नुपर्ने जनाइएको छ । एमपीपी अन्तरगत दर्ता भएका र अमेरिकामा आइसकेकाहरुका सन्दर्भमा पनि आगामी दिनमा फरक निर्देशिका जारी गरिने भएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com