आईआरएसबाट २९ मिलियनको ट्याक्स फाइल होल्ड, म्यानुअल प्रकृयाका कारण रिफण्डमा ढिलाई


प्रकाशित मिति : बैशाख १२, २०७८ आईतबार

आईआरएसले २९ मिलियनको करदाताको ट्याक्स फाइल म्यानुअल तरिकाबाट प्रकृयामा लैजानका लागि होल्डमा राखेको छ । जसका कारण कैयन करदाताको रिफण्डमा रकम प्राप्त हुनमा ढिलाई भइरहेको नेशनल ट्याक्सपेयर एड्भोकेटले जनाएको छ । रिफण्ड रकम प्राप्त हुनमा कैयन सातासम्म भएको ढिलाई कारण कैयन करदाताहरुले सामाजिक सञ्जालहरुमा आक्रोश व्यक्त गरेका छन् ।

सामान्यतया आईआरएसले रिफण्ड रकम तीनसाताभित्र पठाउने गर्छ । यो बर्ष नियमका आएका कैयन परिवर्तनहरु लगायतका कैयन समस्याका कारण आईआरएसले ट्याक्स फाइल प्रकृयामा लैजान र रिफण्ड रकम जारी गर्नमा उल्लेख्य ढिलाई गरेको छ । सन् २०१९ को कागजी ट्याक्स फाइल प्रकृयामा लैजानका लागि पनि आईआरएसको ठूलो साधनश्रोत खर्च भइरहेको छ ।

आईआरएसले हालै जारी गरेको सुचनामा पनि केही व्यक्तिलाई रिफण्ड रकम प्राप्त गर्न अपेक्षा गरिएभन्दा लामोसमय लाग्नसक्ने जनाएको छ । रिकभरी रिबेट क्रेडिट सच्याउने, बेरोजगारी विमा रकमको १० हजार २ सयको ट्याक्स मिनाहा गर्ने लगायतका प्रकृयाका कारण पनि रिफण्ड रकम प्राप्त हुनमा ढिलाई भएको हो । यो सबै आईआरएसका कामदारले हातैले म्यानुअल्ली गर्नुपर्ने भएकाले समय लागेको जनाइएको छ । कतिपयले यसका लागि डेढमहिनासम्म लागेको गुनासो गरेका छन् ।

आईआरएसलाई जसका कारण विद्युतीय रुपमा फाइल गरेका र डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्ट दिएकाहरुका सन्दर्भमा पनि रिफण्ड रकम जारी गर्न २१ दिनभन्दा बढी समय लाग्ने गरेको छ । कागजीरुपमा फाइल गरेका र रिफण्ड रकम चेकमार्फत अनुरोध गरेकाहरुका लागि अझै लामो समय लाग्ने जनाइएको छ । पहिलोपटक नयाँ क्रेडिटहरुका लागि योग्य हुने कतिपयले पहिले फाइल गरेको ट्याक्समा परिमार्जन फाइल गर्नुपर्ने भएकाले समेत आईआरएसमाथि बोझ थपिएको छ ।

यसैसाता सार्वजनिक विवरण अनुशार सन् २०२० का लागि आईआरएसमा ९१ मिलियनले ट्याक्स फाइल गरेकोमा आईआरएसले ६८ मिलियनलाई रिफण्ड रकम जारी गरिसकेको छ । आईआरएसले तेश्रो चरणको राहत चेक पनि पठाउने क्रम जारी रहेकाले साधनश्रोत त्यसमा पनि खर्च भइरहेको छ । आईआरएसले अहिलेसम्म १६१ मिलियनलाई तेश्रो चरणको राहत चेक पठाइसकेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com