कोरोनाको उपचार र भ्याक्सिनका क्रममा कामदारलाई तलबी विदा दिने व्यवसायलाई ट्याक्स क्रेडिट


प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार

कोरोनाको उपचार र कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने क्रममा कामदारलाई तलबी विदा दिने व्यवसायलाई ट्याक्स क्रेडिट दिइने अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन् । कामदारहरुलाई उपचारका क्रममा र भ्याक्सिन लगाउने बेला तलबी विदा दिने साना र मध्यम व्यवसायहरुको उक्त खर्चका लागि ट्याक्स क्रेडिट दिइने जनाइएको छ ।

त्यस्तै बाइडेनले व्यवसाय र रोजगारदाताहरुलाई सही सुचना बाँडेर भ्याक्सिन लगाउनका लागि सबैलाई प्रेरित गर्न आव्हान गरेका छन् । भ्याक्सिन लगाएकाहरुलाई विभिन्न उत्पादनहरुमा छुट लगायतका प्याकेजहरु ल्याउन समेत बाइडेनले व्यवसायहरुलाई अनुरोध गरेका छन् ।

हरेक कामदारले भ्याक्सिन लगाउने बेलामा तलबी विदा पाउनुपर्ने बाइडेनले बताए । ह्वाइट हाउसमा दिइएको मन्तब्यमा बाइडेनले कामदारलाई भ्याक्सिन लगाउने असहज वातावरणका लागि कुनै बहानाबाजी नगर्न समेत व्यवसायहरुलाई आग्रह गरेका छन् ।

व्यवसायहरुलाई दिइएको यो ट्याक्स क्रेडिट १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेजकै हिस्सा हो । ट्याक्स क्रेडिटले ५ सय भन्दा कम कर्मचारी रहेका गैर नाफामुलक संस्था र व्यवसायका लागि दैनिक ५११ डलरसम्मको तलबी विदाको रकम समेट्नेछ । एउटा कामदारका लागि १० दिनसम्मको वा ८० घण्टासम्मको तलबी विदाका लागि ट्याक्स क्रेडिट दिइनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com