कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजानेगरी अध्यागमन सुधारका लागि पूर्व राष्ट्रपति बुशको आव्हान


प्रकाशित मिति : बैशाख ५, २०७८ आईतबार

पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुशले अमेरिकामा रहेका कागजपत्रविहिनलाई क्रमिक रुपमा वैध आवासीय अवस्था हुँदै नागरिकता प्रदान गर्ने बिल पारित गर्नका लागि संसदसमक्ष आव्हान गरेका छन् । तर उनले सम्पूर्णरुपमा क्षमादान प्रदान गर्नु भने आधारभूत रुपमा गलत हुने समेत बताएका छन् ।

सन् २००७ मा बुशले गर्न खोजेको अध्यागमन सुधारमा रिपब्लिकन पार्टीबाटै विरोधका सामना गर्नुपरेको थियो । उनले आप्रवासीप्रतिको कठोर रवैयालाई एकातिर राखेर अध्यागमन सुधारका क्षेत्रमा काम गर्न संसद समक्ष आव्हान गरेका छन् । राष्ट्रपति जो बाइडेनले अध्यागमन सुधारको एजेण्डालाई प्राथमिकताका साथ अगाडि बढाएको सन्दर्भमा बुशको यो भनाई आएको हो ।

शुक्रबारमात्र बुशले वासिंटन पोष्टमा लेखेको एउटा लेखमा पनि अध्यागमन सुधारका लागि दुईदलीय सहमतिका लागि आव्हान गरेका थिए । लगत्तै आज सीबीएससँग कुराकानी गर्दै बुशले आप्रवासीहरुप्रति सम्मानजनक व्यवहार गर्न आव्हान गरेका हुन् ।

बुशले आफ्नो कार्यकालमा अध्यागमन सुधारका क्षेत्रमा उल्लेख्य काम गर्न नसकेकोमा पछुतो समेत व्यक्त गरे । उनले कागजपत्रविहिन आप्रवासीहरुलाई नागरिकताको बाटोमा लैजान रिपब्लिकनहरुसँग छलफल गरिरहेको समेत बताएका छन् ।

पृष्ठभूमी परीक्षण उत्तिर्ण गरेका र कर तिरेका कागजपत्रविहिनहरुलाई नागरिकताको बाटोमा लैजान रिपब्लिकनलाई सहमत गराउन प्रयास गरेको बुशले बताएपनि रिपब्लिकनहरु भने अध्यागमन सुधारका पक्षमा देखिएका छै्रनन् । संसदको सिनेटबाट अध्यागमनबारेका कुनैपनि नीतिगत बिल पारित गर्न कम्तीमा ६० फिलिबस्टर भोटका लागि कम्तीमा १० जना रिपब्लिकन सिनेटरहरुको समर्थन आवश्यक छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com