आगामी मे सम्म बाइडेनले चालु आर्थिक बर्षका लागि शरणार्थी संख्या बढाउने


प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार

 

अमेरिकी राष्ट्रपति जो बाइडेनले चालु आर्थिक बर्षभरमा अमेरिकामा स्वीकार गरिने शरणार्थीहरुको संख्या बढाउने भएका छन् । आगामी मे १५ सम्म बाइडेनले यो संख्या बढाउने शुक्रबार अबेर ह्वाइटहाउसले जनाएको छ ।

शुक्रबार दिउसोमात्र बाइडेनले कार्यकारी आदेशमार्फत चालु आर्थिक बर्षका लागि शरणार्थी स्वीकार गरिने संख्या ट्रम्प प्रशासनले नै तोके अनुशार १५ हजारमा नै छाडेका थिए । जुन ऐतिहासिक रुपमा नै कम संख्या हो । यो संख्या बाइडेनले नबढाएपछि बाइडेनले राजनीतिक विरोध सामना गर्न सुरु गरेका थिए ।

शुक्रबार दिउसो जारी गरिएको प्रारम्भिक आदेशमा बाइडेनले कस्ता खालका शरणार्थीहरु १५ हजारको सिमाभित्र पर्ने भन्ने सन्दर्भमा ट्रम्प प्रशासनबाट लागु गरिएको प्रतिबन्धहरु खारेज गरेका थिए । तर सेप्टेम्बर ३० सम्म स्वीकार गर्ने शरणार्थी संख्यामा भने कुनै फेरबदल गरेका थिएनन् ।

गत फेबु्रअरीमा बाइडेनले आगामी आर्थिक बर्षका लागि शरणार्थी संख्या बढाएर १ लाख २५ हजार बनाउने प्रतिवद्धता जनाएका थिए । तर चालु आर्थिक बर्षका लागि ट्रम्पले नै संख्याको सिमितता तय गरेकोमा बाइडेनमा त्यसमा कुनै परिवर्तन नगरी आज कार्यकारी आदेश जारी गरेकोमा डेमोक्रेटिक पार्टीकै धेरैजना आश्चर्यचकित भएका थिए ।

सांसद अलेक्जेण्ड्रिया ओकासियो कोर्टेजले शरणार्थीको संख्या नबढाउनु अस्वीकार्य भएको बताएकी थिइन् । बाइडेनले आप्रवासीहरुलाई स्वागत गर्ने प्रतिबद्धता जनाएको र मतदाताहरुले त्यही प्रतिज्ञाका आधारमा मतदान गरेको उनले बताइन् । कार्यकारी आदेश लगत्तै भएका आलोचनापछि ह्वाइटहाउसले मे १५ सम्म शरणार्थीको संख्या बढाउने बताएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com