सयौं नक्कली एसाइलम आवेदन फाइल गरिदिने नक्कली वकिललाई २० बर्ष जेल


प्रकाशित मिति : चैत्र ३१, २०७७ मंगलबार

सयौं एसाइलम आवेदन फाइल गरिदिने नक्कली अध्यागमन वकिललाई २० बर्ष ८ महिनाको जेल सजाय सुनाइएको छ । फ्लोरिडा निवासी ५६ बर्षका एल्भिस रेयसले जालसाजी गरेको पुष्टी भएपछि उक्त सजाय सुनाइएको हो ।

उनले सयौं नक्कली एसाइलमका आवेदनहरु फाइल गरिदिएको र आफू लाइसेन्स प्राप्त कानून व्यवसायी नभएपनि लाइसेन्सप्राप्त अधयागमन वकिलका रुपमा आफूलाई प्रस्तुत गर्दै काम गरेको अदालती कागजातमा जनाइएको छ । उनले गत डिसेम्बर १५ मा अदालतसमक्ष आफ्नो गल्ती स्वीकार गरेका थिए ।

इएचआर मिनिस्टर्स इन्क नामको कम्पनी खोलेर उनले जालसाजीपूर्ण काम गर्दै आएका थिए । फ्लोरिडामा ड्राइभर लाइसेन्स र वर्क परमिट खोजिरहेका स्पानिस बोल्ने देशहरुका कागजपत्रविहिनलाई उनले आफ्ना ग्राहक बनाउँदै आएका थिए ।

उनले ग्राहकहरुलाई गलत कानूनी र अध्यागमन सल्लाहहरु दिने गरेको जनाइएको छ । ग्राहकहरुले उनलाई युएससीआईएस समक्ष प्रतिनिधित्वका लागि समेत रकम तिरेको खुलासा भएको छ । उनले एसाइलमका नक्कली कथा बनाइदिने र फाइल गरिदिने गरेको तथा त्यसबापत मोटो रकम लिने गरेको खुलासा भएको हो ।

उनले कुल २२५ आवेदन फाइल गरेको र त्यसवापत ४ लाख डलर भन्दा बढी रकम लिएको जनाइएको छ । उनले सो रकम यात्रा, लक्जरी किनमेल, स्पा, गहना र गर्लफ्रेण्डका लागि खर्च गरेको जनाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com