निश्चित विद्यार्थी भिसा वाहकले अब अनलाइनबाटै वर्क परमिट आवेदन दिनसक्ने


प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार

वैकल्पिक व्यवहारिक तालिम ओपीटी खोजीरहेको एफ वान भिसामा रहेका विद्यार्थीहरुले अब अनलाइनबाटै वर्क परमिट आवेदन दिनसक्ने भएका छन् । युएससीआईएसले आज यसबारे घोषणा गर्दै निश्चित अन्तर्राष्ट्रिय विद्यार्थीहरुले वर्क परमिट आवेदन आई ७६५ अनलाइनबाटै भर्न सकिने स्पष्ट पारेको हो ।

आफ्नो पढाईको मुख्य क्षेत्रमा ओपीटी खोजिरहेका विद्यार्थी भिसा वाहकले सिधै अनलाइनबाट वर्क परमिटका लागि आवेदन दिनसक्नेछन् । तर उनीहरुको प्रि कम्प्लेसन, पोष्ट कम्प्लेसन वा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका क्षेत्रमा २४ महिना थपका लागि दिएको आवेदन हुनुपर्नेछ ।

अनलाइनबाट फर्म भर्दा आवेदकले विद्युतीय रुपमा नै उक्त फर्म सब्मिट गर्नसक्ने भएका छन् । उनीहरुले आफ्नो केसको स्टाटस पनि अनलाइनबाट नै हेर्न सक्नेछन् भने युएससीआईएसका सबै सुचना अनलाइनबाट नै पाउने भएकाले हराउने जोखिम हुँदैन । अहिलेसम्म ओपीटी खोजीरहेको एफ वान भिसामा रहेका विद्यार्थीहरुले वर्क परमिटको फर्म कागजीरुपमा भरेर हुलाकबाटमात्र पठाउन सक्ने व्यवस्था रहेको थियो ।

योग्य विद्यार्थी भिसा वाहकले अनलाइनबाट फर्म भर्न सुरुमा युएससीआईएसमा अनलाइन एकाउन्ट बनाउन जरुरी हुन्छ । अनलाइनबाट वर्क परमिटको आवेदन दिने विकल्प ओपीटीका लागि वर्क परमिट आवेदन दिने विद्यार्थी भिसा वाहकलाईमात्र उपलब्ध छ । अरुले भने कागजी रुपमा नै भरेर हुलाकबाट पठाउनुपर्नेछ ।

यदि अप्रिल १५ वा त्यसपछि प्रि कम्प्लेसन, पोष्ट कम्प्लेसन वा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका क्षेत्रमा २४ महिना थपका लागि दिएको ओपीटी आवेदनका सन्दर्भमा बाहेक अन्यले अनलाइनबाट वर्क परमिटका लागि आवेदन दिएको खण्डमा भने आवेदन शुल्क लिएर आवेदन भने अस्वीकार गर्ने युएससीआईएसले स्पष्ट पारेको छ ।

युएससीआईएसले अन्य श्रेणीका वर्क परमिटका लागि समेत अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था निकट भविश्यमा गर्नका लागि काम गरिरहेको जनाएको छ । युएससीआईएसमा अहिले अमेरिकी नागरिकता आवेदन लगायत विभिन्न ११ वटा फर्महरु अनलाइनमार्फत भर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com