२६ लाख आप्रवासी भिसा आवेदन ब्याकलग, बाइडेन प्रशासनका लागि चुनौति


प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पकालिन कैयन नीतिहरु उल्टाएपनि आप्रवासी भिसामा रहेको चर्को ब्याकलग बाइडेनका लागि चुनौति बनेको छ । विगतका कैयन आप्रवासन विरोधी नीति र प्रतिबन्धहरुका कारण ब्याकलग थपिदै गएको थियो । अहिले झण्डै २६ लाख आप्रवासी भिसाको ब्याकलग रहेको छ ।

उक्त ब्याकलगमा सबै कागजपत्रको प्रकृया पूरा गरेर अन्तरवार्ताका लागि तयार रहेका झण्डै ५ लाख रहेको अमेरिकी विदेशमन्त्रालयको हालैको अदालती कागजातमा जनाइएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु हुने बेलाको ४ बर्ष अगाडिको अवस्थासँग तुलना गर्दा केही आप्रवासी भिसा श्रेणीमा ५० गुणासम्म र केहीमा सयगुणासम्म ब्याकलग बढेको छ ।

केही ब्याकलगहरु कोरोनाको महामारीका कारण भिसामा लगाइएको रोकका कारण थपिएको छ । तर केही ब्याकलग महामारी अगाडिकै ट्रम्पकालिन नीतिका कारण बढेको विश्लेषण गरिएको छ । बाइडेन प्रशासनले ट्रम्पकालिन सबै नीतिहरु उल्टाइसकेको छैन । केही नीतिहरुको पुनरावलोकन गरिरहेको छ ।

पृष्ठभूमि परीक्षणमा गरिएको कडाई लगाएका केही नयाँ मापदण्डका कारण ब्याकलग बढेको छ । त्यस्तै केही श्रेणीका आप्रवासी भिसामा अन्तरवार्ता अनिवार्य गरिएका कारण पनि ब्याकलग बढेको हो ।

गत बिहिबार बाइडेन प्रशासनले युरोप लगायतका केही देशबाट लगाइएको कोरोना सम्बन्धित भिसा रोकमा मंगेतर भिसा र परिवारमा आधारित केही भिसामा छुटको व्यवस्था गरेको छ । बाइडेन प्रशासनले मुस्मिल बाहुल्यदेशमाथिको भिसा प्रतिबन्ध हटाएका छन् भने फर्ममा खाली ठाउ राखेका कारण एसाइलमको आवेदन अस्वीकार गर्ने नीति पनि हटाएका छन् । तर त्यसको तत्काल प्रभाव देखिन भने केहीसमय लाग्ने अपेक्षा गरिएको छ ।

महामारी सुरु हुनु अगाडि गत बर्षको जनवरीमा अमेरिकी दूतावास र कन्सुलेटहरुमा २२ हजार ८ सय ५६ जनाको परिवारमा आधारित आप्रवासी भिसाका लागि अन्तरवार्ता तय गरिएको थियो । तर सन् २०२१ को जनवरीमा जम्मा २६२ जनाको परिवारमा आधारित आप्रवासी भिसाका लागि अन्तरवार्ता तय गरिएको थियो । जुन झण्डै ९९ प्रतिशतले गिरावट हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com